Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

इसीडीलाई विद्यालय तहमा समेटिने शिक्षामन्त्रीको प्रतिबद्धता

‘प्रारम्भिक शिक्षा तथा बाल विकास आधारभूत शिक्षाकै अभिन्न अङ्ग हो भन्ने धारणाका साथ नै हामीले संशोधन राखेका थियौँ । तसर्थ, सो विधेयकमा इसीडीलाई आधारभूत विद्यालय तहमै समेट्ने गरी परिमार्जन गरिनेछ ।’

आइतबार, १३ जेठ २०८१

काठमाडौँ– शिक्षामन्त्री सुमना श्रेष्ठले प्रारम्भिक शिक्षा तथा बाल विकास (इसीडी) सुधार गर्न प्रतिबद्धता जनाएको भन्दै नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँले प्रदर्शन स्थगित गरेका छन् । 

जेठ २ देखि स्ट्याण्डिङ फर इसीडी अभियान सुरु गरेका चापागाईँले उठाएको माग प्रति सरकारले चासो दिएको र आगामी दिनमा बन्ने कानुनमा समेट्ने प्रतिबद्धता जनाएकोले कार्यक्रम स्थगित गरेको बताए । गुणस्तरीय शिक्षाको आधारमा, इसीडी शिक्षामा सुधार भन्ने नाराका साथ उभिएर सरकारको ध्यानाकर्षण गराउँदा ५ वटा माग शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सम्बोधन गरेको चापागाईँले बताए । 

इसीडीलाई विद्यालयको आधारभूत तहमै समेट्ने गरी शिक्षा विधेयकमा परिमार्जन गरिने मन्त्रीले प्रतिबद्धता जनाएको चापागाईँले बताए । ‘इसीडी आधारभूत शिक्षाकै अभिन्न अंग हो भन्ने धारणा सहित शिक्षा विधेयकमा इसीडीलाई आधारभूत विद्यालय तहमै समेट्ने गरी परिमार्जन गरिनेछ भन्ने प्रतिबद्धता जाहेर भएको छ,उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मन्त्री श्रेष्ठले चापागाईँको माग सम्बोधन गर्न संसदीय समितिमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयकमा इसीडी आधारभूत शिक्षाकै अभिन्न अंग बनाउने गरी परिमार्जन गरिने गरिने प्रतिबद्धता जनाएकी छन् । ‘यो विधेयक अहिले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको छ। सो ऐन सक्दो छिटो अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो तर संसदीय क्षेत्राधिकारमा रहेको ऐनमा मन्त्रालयले हस्तक्षेप गर्न मिल्दैन,’मन्त्री श्रेष्ठले लेखेकी छिन,‘हामीले बारम्बार सो ऐनलाई यथाशीघ्र अगाडी बढाइदिनु हुन पहल गर्दै आएका छौँ । प्रारम्भिक शिक्षा तथा बाल विकास आधारभूत शिक्षाकै अभिन्न अङ्ग हो भन्ने धारणाका साथ नै हामीले संशोधन राखेका थियौँ । तसर्थ, सो विधेयकमा इसीडीलाई आधारभूत विद्यालय तहमै समेट्ने गरी परिमार्जन गरिनेछ ।’    

सरकारले सञ्चालन गरेको इसीडी एक वर्षको र निजीको चार वर्षको कार्यक्रमलाई सम्बोधन सरकारको नीति तथा कार्यक्रममा इसीडी शिक्षा प्रणाली सुधार गर्ने भएको, निजी र सामुदायिक दुबैमा समान बनाउन सरकारले प्रतिबद्धता जनाएको चापागाईँले बताए । 

त्यस्तै इसीडी शिक्षकको तालिम र तलब बृद्धिको माग पुरा गर्न सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने, इसीडी शिक्षकलाई केन्द्रित गरेर गहन प्रशिक्षण सम्बन्धी नयाँ कार्यक्रम ल्याउने सरकारले प्रतिबद्धता जनाएको चापागाईँले जानकारी दिए । त्यस्तै इसीडी शिक्षकलाई सम्बोधन गर्न नीति तथा कार्यक्रममा ‘बुट क्याम्प मोडल’मा आवश्यक जनशक्तिको गुणस्तर वृद्धि गर्ने नीति लिएको मन्त्रीले प्रतिबद्धता जनाएको समाजवादी विद्यार्थी युनियनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इसीडीको पूर्वाधार र शैक्षिक सामाग्रीको माग पुरा गर्न सरकारले एक पालिका एक स्मार्ट विद्यालय बनाउने नीति तथा कार्यक्रमले सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ । युनियनका अध्यक्ष चापागाईँले उठाएको दिवा खाजाको रकम बढाउनु पर्ने मागको सम्बोधन आगामी बजेट भाषणमा समेटिने प्रतिबद्धता जनाएको विज्ञप्तिमा छ । मन्त्री श्रेष्ठले कर्णालीमा यसपालि कम्तीमा २५ रुपैयाँ दिवा खाजाको बजेट पु¥याइने प्रतिबद्धता जनाएको चापागाईँले बताए । 

प्रतिक्रिया