Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

शिक्षक सरुवामा व्यवस्थापन समितिको अधिकार कटौती नगर्न हारगुहार

ज्ञापन पत्र बुझ्दै शिक्षा मन्त्री श्रेष्ठले, व्यवस्थापन समितिका पदाधिकारीहरुले सरुवामा आर्थिक चलखेल गरेको सुनेकोले उक्त मापदण्ड बनाउन लागेको तर्क गरेकी छन् । सरुवा पारदर्शी बनाउने मनसायबाट मापदण्ड बनाउन लागेको बताउँदै उनले यसका कानूनी पाटोहरुका बारेमा छलफल जारी रहेको बताईन् ।

शुक्रबार, ११ जेठ २०८१

काठमाडौं - विद्यालय व्यवस्थापन समितिको अधिकार कटौती गर्ने गरी शिक्षा मन्त्रालयले शिक्षक सरुवा मापदण्ड बनाउन लागेको खबर सार्वजनिक भएसँगै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले आपत्ति जनाएका छन् । शिक्षा नियमावलीको अनुसुची १७ हटाएर मापदण्ड बनाउन लागेको खबर, एडुखबरले सार्वजनिक गरेसँगै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले शुक्रबार शिक्षा मन्त्री सुमना श्रेष्ठ र शिक्षा सचिव डा. दिपक काफ्लेलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । 

पढ्नुहोस् उक्त खबर : शिक्षक सरुवामा व्यवस्थापन समितिको सहमती आवश्यक नपर्ने व्यवस्थाको तयारी

ज्ञापन पत्र बुझाउन महासंघका पदाधिकारी र तुलनात्मक रुपमा राम्रो अभ्यास गरेका केही विद्यालयका पदाधिकारी मन्त्रालय पुगेका थिए । उनीहरुले मन्त्री श्रेष्ठलाई बुझाएको ज्ञापन पत्रमा अभिभावकको आधिकारिक प्रतिनिधि विद्यालय व्यवस्थापन समितिलाई सक्षम र जिम्मेवार बनाउनुको सट्टामा शिक्षक सरुवामा व्यवस्थापन समितिको सहमति नचाहिने मापदण्ड तयारीमा शिक्षा मन्त्रालय लागेको समाचार बाहिर आएकोमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ । 

‘आफ्ना छोराछोरी पठनपाठन गरेको विद्यालयमा कस्तो शिक्षकले पढाउनु हुन्छ ? के विषय पढाउनु हुन्छ ? र कसरी पढाउनु हुन्छ भन्ने बारेमा अभिभावकको गम्भिर चासो रहेको छ, सुक्ष्म रुपमा केलाईरहेको हुन्छ' ज्ञापन पत्रमा भनिएको छ,‘कुन शिक्षकले कसरी पढाईरहेको छ भन्ने प्रत्येक दिनको कक्षा कोठामा हुने क्रियाकलापहरु आफ्ना विद्यार्थी मार्फत अभिभावकले नियालिरहेको हुन्छ त्यसैले कस्तो शिक्षक राख्ने ? कस्तो शिक्षक नराख्ने भन्ने विषय जो बालबालिकाको शिक्षा र भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले यसमा अभिभावकको सहभागिता हुनु प्राकृतिक न्यायको विषय हो ।’  

शिक्षा मन्त्रीबाट अभिभावकको अधिकार कुण्ठित गर्ने काम र समुदायलाई विद्यालयबाट टाढा राख्ने काम नगरिदिन महासंघले आग्रह गरेको छ । ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले, व्यवस्थापन समितिका पदाधिकारीहरुले सरुवामा आर्थिक चलखेल गरेको सुनेकोले उक्त मापदण्ड बनाउन लागेको तर्क गरेकी छन् । सरुवा पारदर्शी बनाउने मनसायबाट मापदण्ड बनाउन लागेको बताउँदै उनले यसका कानूनी पाटोहरुका बारेमा छलफल जारी रहेको बताएको भेटमा सहभागी व्यवस्थापन समितिका एक पदाधिकारीले जानकारी दिए । ज्ञापन पत्र बुझ्दै सचिव काफ्लेले सामुदायिक विद्यालय सुधारका लागि आफू सँधै सकारात्मक रहेको बताउँदै मापदण्ड परिवर्तन गरिएको भनिएको फाईल आफूकहाँ नआएको दावी गरेका भेटमा सहभागी ती पदाधिकारीले बताए । 

मन्त्रीलाई बुझाईएको ज्ञापन पत्रमा सरकार र शिक्षक महासंघ बिच भएको सम्झौता अनुसार शिक्षकको सरुवामा अनिवार्य रुपमा विद्यालय व्यवस्थापन समितिको सहमती हुनुपर्ने विषय पनि समेटिएको छ । 

शिक्षक सरुवामा व्यवस्थापन समितिका पदाधिकारीले आर्थिक चलखेल गरेको गुनासो आएपछि मन्त्रीले समितिको सिफारिस आवश्यक नपर्ने गरी मापदण्ड ल्याउने तयारी गरेकी छन् । व्यवस्थापन समितिमा पालिकाका वडा अध्यक्ष, पालिका अध्यक्ष र दाताको नाममा दलका पदाधिकारीले हालिमुहाली गरिरहेको भन्दै उनीहरुको अधिकार कटौती गर्न खोजिएको उनको तर्क छ । 

व्यवस्थापन समितिकै पहलमा सफल भएका विद्यालयका पदाधिकारीले भने सरकारले ल्याउन लागेको मापदण्डको बिरोध गरेका छन् । 

‘हामीले विद्यालय कसरी राम्रो बनाएका छौँ भन्ने शायद मन्त्रीज्यू र मन्त्रालयलाई थाहा नहुन सक्छ’ काठमाडौंको उत्कृष्ट सामुदायिक विद्यालय सिद्धि गणेश माविका अध्यक्ष राजकुमार थापाले भने,‘विद्यालयमा कस्तो शिक्षक चाहिन्छ ? भन्ने हामीलाई अधिकार नदिने हो भने सामुदायिक विद्यालय थप तहस नहस हुने पक्का छ ।’ 

पालिकाको सिफारिसको भरमा मात्रै शिक्षक नियुक्ति गर्दा पालिका प्रमुख जुन दलको छ उसलाई मात्रै सरुवा ल्याउने र लैजाने खतरा हुने भएकोले व्यवस्थापन समितिको अधिकार कटौती गर्न नहुने उनको तर्क छ । 

महासंघका सचिव मञ्जु नेपाल भण्डारीले हस्ताक्षर गरेको उक्त ज्ञापन पत्रमा निःशुल्क शिक्षा सुनिश्चितताको लागि विद्यालयमा खपत हुने विद्युतको महशुल निःशुल्क वा छुट हुने प्रबन्ध गर्न पनि माग गरिएको छ ।  सामुदायिक स्तरबाट स्वयंसेवी रुपमा सञ्चालन भएको विद्यालय सुधार अभियान हामी सुधार्छौँ हाम्रो विद्यालय राष्ट्रिय अभियानलाई सरकारको बजेट तथा कार्यक्रममा समावेश गर्नु पर्ने माग पनि ज्ञापन पत्रमा समेटिएको छ । त्यस्तै निःशुल्क शिक्षा बालबालिकाको मौलिक हक कार्यन्वयन गर्न विद्यालय सञ्चालनमा लाग्ने सबै खर्च वास्तविकताको आधारमा सरकारले सोध भर्ना गर्नु पर्ने पनि ज्ञापन पत्रमा उल्लेख छ । 

प्रतिक्रिया