Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

१० सामुदायिक विद्यालयलाई पुस्तक

मंगलबार, २२ मंसिर २०७२

काठमाडौं २२ मंसिर / पुस्तकालय परिचारिका सङ्गठन नेपाल (नासल) को आयोजना एवम् एसिया फाउन्डेसन नेपालको सहयोगमा बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक अध्ययन केन्द्र, भरतपोखरी कास्किले १० वटा सामुदायिक विद्यालयलाई रु सात लाख ७० हजार बराबरका पुस्तक हस्तान्तरण गरेको छ । कास्की दक्षिण भेगका शान्ति उदय उच्च मावि, बरपाण्डेथुम, कालिका मावि आँपुभञ्ज्याङ, चण्डी मावि बरमाझथरलगायतका विद्यालयका प्रधानाध्यापकलाई कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी गगनसिंह थापा, नासलकी अध्यक्ष शारदा सिवाकोटीलगायतले केन्द्रका तर्फबाट सोमबार पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा सहायक जिशिअ थापाले पुस्तकालयमा पुस्तक राखेरमात्रै नभई त्यसको सदुपयोगका लागि विद्यार्थीमा पठन संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो ।

नासलकी अध्यक्ष सिवाकोटीले समयको मागसँगै विद्यार्थीको शैक्षिक गुणस्तर पनि बढ्नु अपरिहार्य भएको भन्दै हस्तान्तरण गरिएका पुस्तकको सही सदुपयोग हुने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

केन्द्रका अध्यक्ष केशवराज लम्साल, उपाध्यक्ष चेतबहादुर महत र केन्द्रका पूर्व प्रमुख कमलप्रसाद आचार्यले विद्यार्थीले पुस्तकालयको अधिकतम उपयोग गरी फाइदा लिन सक्नु पर्ने बताउनुभएको थियो ।

लेखनाथ नगरपालिका वडा नं १८ मा क्रियाशील राजनीतिक दलका सभापति एवम् अध्यक्षमध्येबाट नेपाली काँग्रेसका गुरुप्रसाद पौडेल, नेकपा ९एमाले०का गुरुप्रसाद क्रान्तिकारी, समाजसेवी मनोहर शर्मा, नागरिक वडा मञ्चका संयोजक सदन महत, केन्द्रका सचिव यज्ञप्रसाद आचार्य, बरपाण्डेथुम स्रोत केन्द्रका प्रधानाध्यापक टेकनारायण गिरीलगायतले पुस्तकालयका लागि प्राप्त पुस्तकको सही सदुपयोगमा जोड दिनुभएको थियो ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया