Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

अभिभावकको सहयोगमा विद्यालय सञ्चालन

मंगलबार, २२ मंसिर २०७२

काठमाडौँ, २२ मङ्सिर । सरकारले शिक्षामा निःशुल्क नीति ल्याए पनि दाङको तुलसीपुर नगरपालिकाको विकट वडामा रहेको प्रावि प्रताप कोट अम्बासलाई निमाविसम्मको पढाइ सञ्चालन गर्नका लागि अभिभावकले वार्षिक रु ८०० सम्म आर्थिक सहयोग गरेर विद्यालय सञ्चालन गरेका छन् । 

भौगोलिक विकटताका कारण त्यहाँका बालबालिका प्राविको पढाइपछि निमाविको अध्ययन गर्न जान नसक्ने भएपछि आफूहरुले बाध्य भएर प्रतिअभिभावकबाट वार्षिक रु ८०० सङ्कलन गरेर आफ्नै वडामा रहेको प्रतापकोटमा विगत सात वर्षदेखि निमावि सञ्चालन गर्दै आएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । 

निमावि सम्मको पढाइ सञ्चालनका लागि पटक पटक जिल्ला शिक्षा कार्यालयमा शिक्षक दरबन्दी र राहत शिक्षकको माग गर्दै गयौँ तर कुनै सुनुवाइ नभएपछि अभिभावकको आर्थिक सहयोगमा २०६६ सालदेखि निमावि कक्षा सुरु गरेको शिक्षाप्रेमी एवम् अभिभावक यज्ञबहादुर घर्तीले बताए । 

भौगोलिक विकटताका कारण निमावि स्कुलमा अध्ययन गर्न विद्यार्थीले तीन घन्टा पैदल हिँडेर जानुपर्ने बाध्यताका कारण धेरै विद्यार्थीले प्रावि कक्षासम्म पढेर पढाइ बीचमा नै छाड्ने गरेको हुँदा अभिभावकबाट आर्थिक सङ्कलन गरेर भए पनि निमाविको पढाइलाई निरन्तरता दिइरहेका छाँै घर्तीले भने ।  

सरकारी निकायको कुनै सहयोग नभए पनि अभिभावकबाट सङ्कलन भएको पैसाबाट न्यून तलबमा चारजना निजी स्रोतका शिक्षक राखेर पढाइ सुरु गरेको सो विद्यालयमा तीनजना स्थायी, एकजना राहत शिक्षकको मात्र दरबन्दी रहेको छ । अहिले त्यस विद्यालयमा ३१० जना विद्यार्थी अध्ययनरत छन् । 

विद्यालयको भौतिक विकासका लागि आवश्यक बजेट र शिक्षक दरबन्दी पदपूर्तिका लागि पटक पटक जिल्ला शिक्षा कार्यालय दाङ र दाङमा क्रियाशील राजनीतिक दलका प्रमुखसँग अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि विद्यालय सञ्चालनमा थप समस्यामा परेको सो विद्यालयले जनाएको छ । 

(रासस) 

 

प्रतिक्रिया