Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

२ सय ७४ विद्यालयमा इएमआइएस सफ्टवेयर लागू

मंगलबार, २२ मंसिर २०७२

काठमाडौँ, २२ मङ्सिर । विद्यार्थी छली र अनियमितता रोक्न जिल्ला शिक्षा कार्यालय इलामले जिल्लाका २७४ वटा विद्यालयमा एजुकेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (इएमआइएस) सफ्टवेयर लागू गरेको छ । 

विद्यालयले फर्जी विद्यार्थीको लगत भरेर फ्लास वान र टू बुझाउने गरेकाले यसलाई रोक्नसमेत उक्त प्रणाली लागू गरेको हो । विद्यालयमा हुने विभिन्न किसिमका अनियमितता रोक्न सफ्टवेयर तथा फ्लास वान र फ्लास टु भर्नका लागि सफ्टवेयर लागू गरिएको हो । 

प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक तथा उच्चमाध्यमिक गरेर सबै विद्यालयमा सफ्टवेयरको प्रयोग गरेर तथ्याङ्क चुस्त र दुरूस्त बनाउन लागिएको हो ।  सफ्टवेयरमा फ्लास वान र फ्लास टू, शिक्षक विवरण, भौतिक र विषयगत तथा विद्यालयमा हुने सम्पूर्ण गतिविधि समावेश गरिन्छ । “सफ्टवेयरमा एउटा विवरण पनि छुटाउन हुँदैन, विवरण हाल्न छुट्दासमेत सफ्टवेयरले काम नगर्न सक्छ”, जिल्ला शिक्षा कार्यालय इलामका सफ्टवेयर सहजकर्ता कुमार निरौलाले भने । 

सबै विद्यालयमा सफ्टवेयर लागू गर्नुपर्छ भन्ने जिशिकाको अभियानअन्तर्गत सफ्टवेयर लागू गरिएको हो ।   उक्त सफ्टवेयर लागू नगर्ने विद्यालय सूचना प्रविधि र शैक्षिक विकासमा पछि पर्ने जिशिकाले जनाएको छ । 

विद्यालयमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउने अभियानअन्तर्गत सफ्टवेयर प्रणाली लागू गरिएको जिल्ला शिक्षा अधिकारी रामप्रसाद पाण्डेले बताए ।   सफ्टवेयरमा जिशिकाबाट अनुगमन गर्न गएको विवरणसमेत समावेश गर्न सकिन्छ । सफ्टवेयरमा विद्यार्थीको सम्पूर्ण विवरण, विद्यालयको भौतिक तथा आर्थिक विवरण, शिक्षकको व्यक्तिगत विवरण प्रविष्टि गरिएको सहजकर्ता निरौलाले बताए । 

उक्त प्रणालीबाट जिल्लाका विभिन्न क्षेत्रमा रहेका विद्यालयलाई जिशिकाबाटै अनुगमन र नियन्त्रण गर्न सकिने सहजकर्ता निरौलाको भनाइ छ ।  जिल्लाका सबै स्रोतकेन्द्रमार्फत विद्यालयमा लागू भइसकेकाले विद्यालय नजाने र नपढाउने शिक्षकलाई कार्यालयबाटै अनुगमन गर्न सकिने भएकाले उक्त प्रणाली प्रभावकारी हुने जिशिअ पाण्डेको भनाइ छ । 

(रासस) 

 

प्रतिक्रिया