Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

आयोग उत्तिर्ण शिक्षकको व्यवस्थापनमा नयाँ आधार

सोमबार, २१ मंसिर २०७२

भक्तपुर - शिक्षक सेवा आयोग उत्तिर्ण माध्यमिक तहका उम्मेद्वारलाई पदस्थापन गर्दा महिला र अस्थायी शिक्षकलाई ध्यान दिने ब्यवस्था थप गर्दै शिक्षा विभागले नयाँ आधार तय गरेको छ । आयोग उत्तिर्ण शिक्षकले आफ्नो पदस्थापनमा पायक पार्न शिक्षक संघ संगठन मार्फत मन्त्रालयमा दवाव दिएपछि नयाँ आधार तय गरिएको हो । प्रावि र निमाविमा कार्यरत तर यस पटकको आयोगमा माविमा नाम निकालेका महिला शिक्षकहरुले सोही विद्यालयमै पदस्थापन गर्न माग गर्दै गत मंसिर ७ गते शिक्षा मन्त्रीलाई ज्ञापनपत्र नै बुझाएका थिए ।

शिक्षकहरुद्धारा कार्यरत विद्यालयमै पदस्थापन गर्न माग

यसका अलावा उनीहरुले आआफ्ना संगठन मार्फत समेत दवाव दिएपछि मन्त्री स्तरीय निर्णयबाट नयाँ आधार तय गरिएको श्रोतले जनाएको छ । यस अघि गत कात्तिक १७ गते विभागले सात बुँदे आधार तय गरी क्षेत्रीय शिक्षा निर्देशनालय तथा जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गरेको थियो ।

'महिला उम्मेद्वारले योग्यता क्रमको आधारमा निजले माग गरेको विद्यालयमा पदस्थापना गर्ने' ब्यवस्था गरी उक्त आधारको बुँदा नम्बर ५ मा थप आधार तय गरिएको हो । यस अघि उक्त बुँदामा शुद्ध रिक्त दरबन्दीमा अस्थायी करारमा नियुक्ति भई कार्यरत रहेको विद्यालय नै माग गरेमा विषय र खरबन्दी भएसम्म सोही विद्यालयमा गर्ने, अपाङ्गता भएका उम्मेद्वारहरुलाई योग्यताक्रमको आधारमा माग गरेको विद्यालयमा र बाँकीको हकमा शिक्षक सेवा आयोगबाट प्रकाशित योग्यताक्रम बमोजिम उम्मेद्वारहरुले माग माग गरेका आधारमा पदस्थापन गर्ने मात्रै उल्लेख थियो ।

यसैगरी अस्थायी शिक्षकलाई विस्थापन नगर्ने गरी आठौं बुँदा थप गरिएको छ । अस्थायी शिक्षक कार्यरत विद्यालयमा उनीहरुलाई सकेसम्म कम विस्थापन गर्ने गरी नयाँ पदस्थापन गर्न परिपत्र गरिएको छ ।

माविका स्थायी शिक्षकको पदस्थापन गर्दा अस्थायी शिक्षक कम विस्थापित हुने गरी कार्यविधि तयार गर्न विभागले निर्देशन दिएको छ । अस्थायी भएकै कारण विस्थापित हुन सक्ने शिक्षकलाई अस्थायी दरबन्दी तथा राहत अनुदान कोटामा नियुक्तिको जेष्ठताका आधारमा जिल्ला शिक्षा समितिको निर्णय गराएर ब्यवस्थापन गर्न भनिएको छ ।

विस्थापित हुन सक्ने अस्थायी शिक्षकले स्वेच्छाले आफू तल्लो तह वा राहतमा काम गर्न चाहेको खण्डमा पदस्थापनको निर्णय भएको मिति सम्म रिक्त रहेका दरबन्दी तथा राहत अनुदान कोटामा ब्यवस्थापन गर्न सकिने ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति २०७२ मंसिर २१ गते

प्रतिक्रिया