Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

विद्यार्थी तर्साउने स्टिकर हटाउन कतिञ्जेल ताक्ने अर्काको मुख

सोमबार, २१ मंसिर २०७२

भक्तपुर - गत बैशाखको भूकम्पको धक्काले विद्यालयको भवन चर्केपछि बागीश्वरी उच्च माध्यामिक विद्यालयका विद्यार्थी र शिक्षक धेरै तनावमा थिए । प्राविधिक टोली आएर विद्यालयको ५ मध्ये दुई वटा भवनमा असुरक्षित लेखिएको रातो स्टिकर टाँसिदियो ।

चर्केको भवनमा विद्यार्थी पढाउने कुरै भएन ! प्रत्यक्ष भूकम्प भोगेका विद्यार्थी त्यहि रातो स्टिकर हेरेर उक्त भवनमा छिर्नै डराउँथे । विद्यार्थी मात्रै कहाँ हो र शिक्षकलाई पनि डरले छाडेको थिएन ।
समय सँगै भूकम्पको डर कम भयो, विद्यालयका अन्य भवनमा खाँद खुँद पारेर विद्यार्थीको पठन पाठन शुरु भयो ।

'कति विद्यार्थीका आफन्त गुमेका थिए, कतिका छिमेकी, त्यस्तो बेला विद्यार्थीलाई भूकम्प भुलाउन पाए हुन्थ्यो नी जस्तो लाग्थ्यो' विद्यालयका सहायक प्राचार्य ज्ञान सागर प्रजापति ती कहाली लाग्दा दिन सम्झदैं भन्छन्, 'तर के गर्नु विद्यालयमा टाँसिएको त्यो रातो स्टिकरले त्यो घाउ बल्झाईरहन्थ्यो ।'

मन भुलाएर विद्यार्थीलाई सामान्य अवस्थामा ल्याउन पाए हुन्थ्यो जस्तो लागेर मात्रै हुँदो रहेनछ । कतिञ्जेल यसरी घञ्च मञ्चमा पढाउने ? विद्यार्थीको त्रास मात्रै हैन शिक्षकहरुको चिन्ता पनि बढ्दो थियो । 
भत्केको विद्यालय कसरी बनाउने ? उनीहरुले केही मेसो पाउनै सकेनन् । 

सरकारले केही श्रोत देला र बनाउँला भन्ने आशा बोकेर केही समय विताए । त्यसपछि शुरु भयो, सरकारी निकाय धाउने क्रम । कतै बाट सहयोगको कुनै छेक छन्द मिलेन ।
विद्यालय हाम्रो विद्यार्थीको चिन्ता हेर्नु पर्ने हामीले अनी कति अरुको मुख ताकेर बस्ने ? प्रजापति भन्छन्, आजित भए पछि हामी आफैं कस्सियौं भवन पुननिर्माण गर्न ।
भूकम्पका कारण क्षती भएका विद्यालय मध्ये अधिकाँशले भवन बनाउन सरकार र दाताकै मुख ताकेर बसिरहँदा बागीश्वरीले भने आफ्नै प्रयासमा पुननिर्माण सम्पन्न गरेको छ । चर्केका २ मध्ये एउटा मुख्य भवन रेट्रोफिट गरेर सद्दे बनाएको छ ।

२ लाख ७७ हजार रुपैंया लागतमा शंखदेवी कन्ट्रक्सनले उक्त भवन पुननिर्माण सके पछि विद्यार्थी र शिक्षकलाई सँधै तर्साउने त्यो रातो स्टिकर हटाउन विद्यालय सफल भयो ।

सिमेण्ट ग्राउटिङ्, ईम्प्रोक्सि, कार्वन फाईवर जस्ता प्राविधिक प्रणाली प्रयोग गरेको प्रमाण सहित गत मंसिर १४ गते जिल्ला शिक्षा कार्यालयमा उक्त स्टिकर हटाउन निवेदन दिएको थियो । उक्त निवेदन पछि प्राविधिक परीक्षण गरेर जिल्ला शिक्षाले १६ गते स्टिकर हटाउन स्विकृति दिएको हो ।

अहिले उक्त भवनलाई कम्प्युटर, चित्रकला आदी अतिरिक्त कृयाकलाप सञ्चालनका लागि प्रयोग गरिएको छ । 'सम्भवतः हामी पहिलो विद्यालय भयौं जस्तो लाग्छ रातो स्टिकर हटाउने' प्रजापति भन्छन्, 'अरुको मुख ताक्दा कुन टुङ्गो नभएपछि हामी आफैंले आफ्नो आन्तरिक श्रोतबाट ब्यवस्थापन गर्ने गरी खर्च गर्यौं ।'

विद्यालयले सटर कबल भाडाबाट बार्षिक करिव ६ लाख रुपैंया भाडा उठाउँदै आएको छ । उच्च शिक्षाका कक्षा समेत सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीबाट उठाउने शुल्क पनि उसका गतिलो श्रोत हो । यहि श्रोतबाट खर्च गरेको उनले बताए ।
'भवन त अर्को पनि भत्केको छ, त्यसका लागि के गर्ने छलफलमा छौं' उनले आशा छाडेका छैनन्, 'अव त सरकारले कुनै श्रोत देला की ।'

सामुदायिक विद्यालयको स्तर खस्किरहेको बेला गतिलो ब्यवस्थापन र पठन पाठनका हिसावमा पनि बागीश्वरी विद्यालय गतिलो मानिन्छ ।

पढ्नुहोस् : शिक्षकले आफैंलाई पत्याउँदा

भूकम्पका कारण देशभरी १० हजार हाराहारी विद्यालय र ३२ हजार कक्षा कोठामा क्षती पुगेको शिक्षा मन्त्रालयले जनाएको छ । क्षती भएका मध्ये कति विद्यालयको भवन पुननिर्माण भयो भन्ने यकिन विवरण अद्यावधिक गरिरहेको मन्त्रालयका प्रवक्ता डा.हरी लम्सालले बताए ।

प्रकाशित मिति २०७२ मंसिर २१ गते

प्रतिक्रिया