काठमाडौं - पछिल्लो दुई साता सञ्चार माध्यममा प्रकाशित प्रसारित शिक्षाको समाचारमा विद्यालय शिक्षाका विषयले प्राथमिकता पाए । पछिल्ला दुई सातामा विद्यार्थी केन्द्रित समाचार बढी छन् । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले निजी विद्यालयले लिने शुल्क, वितरण गर्नु पर्ने १० प्रतिशत छात्रवृति कार्यान्वयनको लागि स्थानीय तहलाई दिएको निर्देशन, उपकुलपति विहीन तीन विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालयमा रजिष्ट्रार र रेक्टर छनोट प्रक्रिया सुरु जस्ता समाचार प्राथमिकतामा परे ।
प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा प्रविधि समितिको सभापतिमा अम्मरबहादुर थापा चुुनिए पछि विद्यालय शिक्षा विधेयकको दफावार छलफल पनि गत साताबाट सुरु भएको छ । दैलेखबाट निर्वाचित नेकपा एकिकृत समाजवादीका सांसद थापा समितिको सभापतिमा चुनिएका हुन् । समितिका निवर्तमान सभापति भानुभक्त जोशी पूनर्गठित मन्त्रीमण्डलमा मन्त्रि नियुक्त भएपछि समितिमा सभापतिको पद रिक्त थियो । सभापति विहिन हुँदा समितिमा विधेयक र शिक्षा सम्बन्धी छलफल रोकिएको थियो । नयाँ सभापतिले विधेयकमा संशोधन हाल्ने सांसदहरुसंग छलफल गरेर प्रक्रिया अघि बढाएको समाचारमा उल्लेख छ । यस अघि समितिले सरोकारवालासंगको सुझाव संकलन गरेको थियो ।नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले एक कार्यक्रममा अभिव्यक्त गरेको ‘शिक्षा ऐन तीन तहको सरकारको अन्तरद्वन्द्वको चेपुवामा परेको’ बिचारलाई पनि समाचार बनाइएको छ ।
कक्षा १० को अन्तिममा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई) का लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको समाचार पनि सार्वजनिक भएको छ । यही साता अर्थात् चैत १५ गतेदेखि सुरु भई २७ गते सम्पन्न हुने परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुने समाचारमा जनाइएको छ । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र रहेको समाचारमा उल्लेख छ ।
चितवनको इच्छाकामना गाउँपालिका (गापा)को राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङबाट २२ जना चेपाङ विद्यार्थीले यस वर्षको एसईई दिने समाचार छ । यस मध्ये २० जना छात्रा छन् । त्यस्तै सिराहामा एसईईको परीक्षाकेन्द्र विद्यालयबाट बिस किलोमिटर टाढा अपायक पर्ने विद्यालयमा तोकिएपछि विद्यार्थीले विरोध गरेको अर्को समाचार छ ।
आगामी आर्थिक वर्षका लागि संघीय शिक्षा बजेटको सिलिङ ५६ अर्ब ८२ करोड रुपैयाँ तोकिएको छ । यो गत वर्षको भन्दा ५२ करोड रुपैयाँले बढी भए पनि शिक्षाको न्यूनतम दायित्व पूरा गर्न थप २३ अर्ब ७७ करोड रुपैयाँ अपुग हुने शिक्षा मन्त्रालयले जनाएको समाचार छ ।
पूर्वाञ्चलको उपकुलपति छनौटका संयोजक रहेका मन्त्री र योजना आयोगको सदस्य परिवर्तन भएपछि प्रक्रिया रोकिएको र अन्य दुई विश्वविद्यालयको उपकुलपति छनौट विधिको प्राध्यापकहरुले बिरोध जनाएपछि छनौट प्रकृया रोकिएको समाचारमा उल्लेख छ । तीनैवटा विश्वविद्यालय फागुन १९ देखि उपकुलपतिको पद रिक्त छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा रजिष्ट्रार र रेक्टर पदपूर्तिका लागि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले सूचना जारी गर्दै इच्छुक प्राध्यापकहरूले बायोडाटा बुझाउन अनुरोध गरी प्रक्रिया अगाडि बढाएको समाचार छ ।
त्रिवि केन्द्रीय विभाग र आंगिक क्याम्पसहरुमा विद्यार्थीको चरम अभाव भएको अनलाइन खबरमा समाचार छ । अंग्रेजी, राजनीति शास्त्र र इतिहासमा विद्यार्थी भर्ना संख्या ठिकै भए पनि कतिपय विषयमा एक जना पनि विद्यार्थी भर्ना नहुँदा पढाइ नै बन्द गर्नु परेको समाचारमा उल्लेख छ । सामान्यतः सेमेष्टर प्रणालीमा १० जना भन्दा कम विद्यार्थी भर्ना नगर्ने नीति त्रिविले लिएको छ । १० जनाभन्दा कम विद्यार्थी भएका विभागलाई आंशिक शिक्षक राख्न नपाउने व्यवस्था छ । त्रिचन्द्र क्याम्पसको इञ्जिनियरिङ जुलोजीमा स्नातकोत्तरमा भर्ना शून्य भएको समाचार छ ।
त्यस्तै चिकित्सा शिक्षा आयोगले पीसीएल र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थामा सञ्चालन गर्ने बाटो खुला गरेको अर्को समाचार छ ।
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको स्नातक दोस्रो वर्षको परीक्षा तालिका विवादित भएको छ । कार्यालयले ३० गतेसम्म मात्र भएको चैत महिनामा बीबीएसको ‘माइक्रोइकोनोमिक्स फर बिजनेस’ विषयको परीक्षा चैत ३१ गते हुने परीक्षा तालिका निकाले पछि विवादित भएको समाचार आएको छ । यसको विरोध भएपछि कार्यालयले त्रुटी सच्याएर नयाँ सूचना जारी गरेको पनि समाचार छ ।
त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा खाली गर्न ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयलाई बारम्बार ताकेता गर्दै आएको समाचार छ ।
नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालसँग ‘भिजन पेपर’ माग गरेको समाचार छ ।
गुल्मीको मुसिकोट नगरपालिका (नपा), तनहुँको आँबुखैरेनी गापा, गुल्मीको छत्रकोट गापा, सिन्धुलीको कमलामाई नपाले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई समुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने निर्णय गरेका समाचार आएका छन् ।
विभिन्न पालिकाहरुले यस्तै प्रकारका निर्णय गरेका समाचारहरु यस अघि पनि आएका थिए । तर ती निर्णय कार्यान्वयन भए नभएको समाचार भने आउने गरेका छैनन् । यसले जनप्रतिनिधिले लोकरिझ्याईंको लागि यस्ता निर्णय गर्ने तर लागू गर्न नपर्ने अवस्था बनेको छ । अर्कोतर्फ सामुदायिक विद्यालयले अभिभावकबाट गुमाएको विश्वास नफर्काइ निर्णयको भरमा सामुदायिक विद्यालयमा आफ्ना नानीबाबु पठाउन को राजी होलान् र ? त्यसैले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका कार्यक्रम र सरकारी सेवा सुविधा लिनेका निकटतमलाई सामुदायिक विद्यालयमा पठाउनु पर्ने कुरा निर्णय, घोषणा गरेर हैन कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण हो । सञ्चार माध्यमले पनि निर्णय र घोषणा गरिएका कुरा कति कार्यान्वयन भए भन्ने कुराको निगरानी र समाचार बनाउँदा मात्र निर्णय गर्नेहरुलाई दबाब पुग्न सक्छ ।
खानेपानी, सरसफाइ एवं पर्यावरणीय स्वच्छताका दश सूचक पूरा गरेका काभ्रेपलाञ्चोकको चौँरीदेउराली गापाका पाँच सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ विद्यालय घोषणा गरेको समाचार छ । गापाका ३३ सामुदायिक विद्यालयमा सञ्चालित ‘भविष्यको लागि आधार’ परियोजना अन्तर्गत सूचक पूरा गर्ने ती विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गरिएको समाचारमा उल्लेख छ ।
बैतडीको पञ्चेश्वर गापामा गडदेव आधारभूत विद्यालयको नवनिर्मित विद्यालय भवनको कक्षाकोठामा भवन निर्माण समितिका अध्यक्ष केशवसिंह घटालले लगाएको ताला डेढ वर्ष पछि खुलेको समाचार छ । कक्षा कोठाको अभावमा खुलाचौरमा पठनपाठन गर्दै आएका विद्यार्थी बिरामी पर्न थालेपछि प्रहरीको सहयोगमा ताला खोलिएको हो । विद्यालयको ३६ लाख रुपियाँ लागतको चारकोठे भवनमा ७९ लाख रुपियाँ खर्च भएको भन्दै घटालले ताला लगाएको समाचारमा उल्लेख छ ।
असारदेखि तलब नपाएपछि विरोधमा रहेका रौतहटको फतुवा विजयपुर नगरपालिकाका शिक्षक/कर्मचारीले विद्यार्थीको वार्षिक परीक्षा लिन अस्वीकार गरेको अर्को समाचार छ ।
पालिका शिक्षक द्वन्द्वमा सामुदायिक विद्यालयमा पठनपाठन रोकिने, विद्यालय बन्द हुने आदि हुँदै आएको छ । हुँदा हुँदा पालिकाको विवादले वार्षिक परीक्षा पनि नहुने अवस्था आउनु दुःख लाग्दो कुरा हो । हजारौँ विद्यार्थीको पठनपाठनमा समस्या आउँदा पनि सरकारका सम्बन्धीत निकाय तथा सबै तहका राजनीतिक नेतृत्वले चासो नदिँदा यो समस्या दोहोरिने र निरन्तर रहने अवस्था कायम छ ।
त्यस्तै सर्लाहीको हरिपुर्वा नगरपालिकाभित्रका १६ वटै सामुदायिक विद्यालयमा नियमित पढाई सुरु भएको अर्को समाचार छ । नगर सभा हुन नसकेर गत साउन देखि तलब नपाएपछि शिक्षकले फागुन ६ गतेदेखि विद्यालय बन्द गरेर नगरपालिका कार्यालयमा धर्ना सुरु गरेका थिए । फागुन ७ गते नगर सभा गरी बहुमतका आधारमा बजेट पारित भएपछि शिक्षकले आन्दोलन फिर्ता गरेको समाचारमा उल्लेख छ ।
चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन विद्यालयको छात्राबासमा १४ वर्षीया शालीन पोखरेल झुण्डिएको अवस्थामा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएका प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा तीनै जनालाई धरौटीमा छाडेको समाचार आएको छ ।
अछामको जनकल्याण माविमा प्राविधिक धारका विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै ताला लगाएको समाचार छ । सीटीईभीटीले अधिकतम दुई लाख ३० हजार रुपैयाँ शुल्क लिन पाउनेगरी तोकेकोमा विद्यालयले दुई लाख ५१ हजार दुई सय लिएको भन्दै सिभिल इन्जिनियरिङ र जियोमेट्रिक अध्ययनरत विद्यार्थीले तालाबन्दी गरेको समाचारमा उल्लेख छ ।
बाजुराको बडीमालिका नपाका सामुदायिक विद्यालयले दिवा खाजामा स्थानीय उत्पादन कोदो, मकै लगायतका अन्नका विभिन्न परिकार बनाएर खाजा खुवाउन थालेपछि सरकारले दिवा खाजाका लागि दिएको रकमले गाउँ कै उत्पादन खपत हुने अवस्था बनेको समाचारमा उल्लेख छ ।
इटहरी उपमहानगरपालिका (उमनपा)का सबै विद्यालयमा एउटै पोशाक लागू गर्ने निर्णय विवादमा परेको समाचार छ । नयाँ शैक्षिक सत्रबाट सामुदायिक र निजी विद्यालयमा एउटै पोशाक लागु गर्ने निर्णय गरेकोमा निजी विद्यालय सञ्चालकहरुले विरोध गर्दै यो निर्णय खारेजीको माग गरेर उच्च अदालत विराटनगर गए पनि अदालतबाट कार्यान्वयनमा रोक लगाउने आदेश नआएको समाचारमा उल्लेख छ । त्यसैगरी सो उमनपाले निजी विद्यालयमा कार्यरत शिक्षकहरूको शैक्षिक विवरण, नियुक्ति र पारिश्रमिक विवरण माग गरेको अर्को समाचार पनि छ । निजी स्कुलहरूले आफ्नो स्कुलमा कार्यरत शिक्षकहरूलाई नियुक्तिपत्र नदिएको र सरकारले तोकेको पारिश्रमिक समेत नदिएको गुनासो बढेको भन्दै उमनपाले पत्राचार गरेको समाचारमा उल्लेख छ ।
त्यस्तै सुनसरीको धरान उमनपाका मेयर हर्क सम्पाङ राईले त्यहाँको एक विद्यालयलाई पत्र लेख्दै शनिबार श्रमदान गर्न भनेको समाचार आएको छ । कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई श्रमदानमा सहभागी गराउन मेयर राईले पत्र पठाएको समाचारमा उल्लेख छ ।
पर्वतको महाशिला गापाले ११ र १२ मा गणित, विज्ञान र पीसीएल स्टाफ नर्स अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन स्वरुप वार्षिक ५० हजार अनुदान उपलब्ध गराउन थालेको समाचार छ । पालिकामा आवश्यक दक्ष जनशक्तिको अभाव भएपछि ती विषय पढन अनुदान दिन थालिएको समाचारमा उल्लेख छ ।
एक पाठक प्रतिक्रियामा जुन विद्यालयमा विद्यार्थी खुसी हुन सक्छन् ती मात्र नमुना विद्यालय बन्न सक्ने उल्लेख छ । विद्यार्थीको खुशी शिक्षकको खुशी, दक्षता र मायालु व्यवहारसँग सम्बन्धित हुने र विद्यार्थीको खुशीमा अभिभावकको खुशी पनि मिसिएको हुने पाठक पत्रमा उल्लेख छ ।
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामा संस्थापक रहेको ओबामा फाउन्डेसनले नेपालकी सनम डोका शेर्पालाई उदाहरणीय महिलाको सूचीमा राखेको अर्को समाचार छ । नेपालमा रहेको द स्मल वल्र्डकी निर्देशक रहेकी शेर्पाले सोलुखुम्बुको दुर्गम गाउँमा बालिका शिक्षाको क्षेत्रमा डेढ दशकदेखि काम गरेको भन्दै फाउण्डेसनले शेर्पालाई ‘शिक्षा च्याम्पियन नेपाल’ उपमा दिएको समाचारमा उल्लेख छ ।
यस्तै बाँकेको कोहलपुरका ग्रिनपिस मावि, गोरखा युनाइटेड पब्लिक बालज्योति स्कुलले रैथाने वनस्पतिको संरक्षण तथा प्रवर्धन गर्दै आएको समाचारमा उल्लेख छ । लोपोन्मुख वनस्पतिको संरक्षणले वातावरण र जैविक विविधतालाई टेवा पुर्याउने समाचारमा उल्लेख छ ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय पालिकामा सञ्चालित ‘शैक्षिक पूर्वाधार कार्यक्रमले सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकासमा सघाउ पुगेको समाचारमा उल्लेख छ । पूर्वाधार युक्त अपाङ्गमैत्री आवासीय विद्यालय सञ्चालन गर्ने सङ्घीय सरकारको नीति अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा बौद्धिक अपाङ्गता भएका बालबालिकाको अध्ययनमा सहयोग गर्न भवन निर्माण भइरहेको समाचारमा उल्लेख छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत वर्षदेखि देशभर वैशाख १ देखि नयाँ शैक्षिक सत्र सुरु हुने निर्णय गरे पनि हुम्लाका केही पालिकाले फागुन २ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गरेको समाचारमा उल्लेख छ ।
शिक्षा मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्रलाई शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै स्थानीय तहमा पाठ्यपुस्तक पुर्याउने वातारण बनाउन निर्देशन दिएको समाचार छ । यसै विषयलाई लिएर गोरखापत्रमा छापिएको सम्पादकीयमा समयमै पाठ्यपुस्तक विद्यार्थीका हातमा पुग्नुपर्ने सरकारको दृढ प्रतिबद्धता रहेको उल्लेख छ । त्यसै कारण छपाइको अवस्थाबारे सरकारले निरन्तर निगरानी गरिरहेको सम्पादकीयमा उल्लेख छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले निःशुल्क शिक्षा, शुल्क निर्धारण र छात्रवृत्ति वितरणको सम्बन्धमा स्थानीय तहहरूलाई १० बुँदे परिपत्र गरेको समाचार आएको छ ।
मकवानपुरको थाहा नपा फुर्केका ५१ वर्षिय सन्तबहादुर गुरुङ आधारभूत तह पूरा गर्न विद्यालय छाडेको ३७ वर्षपछि आधारभूत तहसम्मको पढाइ पूरा गर्न गाउँकै वसन्त आधारभूत विद्यालयमा पढाइ सुरु गरेको समाचारमा उल्लेख छ ।
बेलायतमा स्नातकोत्तर तह पढ्न ठिक भएपनि स्नातक पढ्न आउनेलाई अत्यधिक जोखिम रहेको आलेख अनलाइन खबरमा जगन कार्कीले लेखेका छन् । त्यस्तै विद्यार्थी भिसाको लागि आवेदन दिएका विदेशीहरूको शैक्षिक तथा आर्थिक पक्ष केलाएर सक्षम व्यक्तिलाई मात्रै अष्ट्रेलिया सरकारले विद्यार्र्थी भिसा दिन थालेको अर्को समाचार छ । विदेशी विद्यार्र्थीले धमाधम विश्वविद्यालय परिवर्तन गर्न थालेपछि त्यहाँका विश्वविद्यालयमा पनि समस्या देखिन थालेको, विदेशी विद्यार्थी संख्या बढ्दा अष्ट्रेलियामा वासस्थान तथा रोजगारीको संकट पनि देखिन थालेको, अधिकांश विद्यार्थीले अध्ययन भिसालाई आप्रवासनको मार्गको रूपमा दुरुपयोग गरेको र यसले अष्ट्रेलियाका विश्वविद्यालयहरूको प्रतिष्ठामा आँच आउन सक्ने जोखिम देखिएपछि अष्ट्रेलियाले भिसा आवेदन दिएका विद्यार्थीको सक्षमता अध्ययन गरेर मात्रै भिसा दिइरहेको समाचार उल्लेख छ ।
त्यस्तै गोरखापत्रमा शैलेन्द्र गिरीको लेखमा नेपालको इञ्जिनियरिङ शिक्षाको वर्तमान अवस्था त्यति सन्तोषजनक नभएको र यसको भविष्य प्रशस्त सम्भावना र चुनौतीले भरिएको उल्लेख छ । नेपाली इञ्जिनियरले विश्वका इन्जिनियरसँंग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले विश्वविद्यालय तथा कलेजहरूले इन्जिनियरिङ शिक्षाको गुणस्तरमा अब विशेष ध्यान दिनु पर्ने लेखमा उल्लेख छ ।
रमेशप्रसाद गौतमले गोरखापत्रमा लेखेको लेखमा मानिसलाई योग्य मान्नका लागि पनि असल शिक्षाको खाँचो रहेको चर्चा गर्दै विद्यालयमा कार्यरत शिक्षक कर्तव्यनिष्ठ, पेसाको मर्यादा बुझेको हुनु पर्ने लेखका छन् । अस्थायी, करार, राहत, निजी, स्थायी जुनसुकै पदमा भए पनि (कालो बादलमा चाँदीको घेरा) झैँ शिक्षकले आफ्ना धर्म निर्वाह गर्नु पर्ने लेखमा उल्लेख छ ।
बसन्त आचार्यले प्राविधिक शिक्षालाई एकै खालको बनाउनका लागि पाठ्यव्रmम समायोजनमा ध्यान दिनुपर्ने लेख लेखेका छन् । एक खालको प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयले मोटो रकम प्राप्त गरिरहने अनि अर्को खाले शिक्षालयले कुनै पनि सहयोग प्राप्त नहुँदा गुणात्मक ढङ्गले प्राविधिक शिक्षाको विकास हुन नसकेको लेखमा उल्लेख छ ।
प्रा.डा. महेन्द्रप्रसाद शर्माको लेखमा अहिलेसम्म दिएको सैद्धान्तिक शिक्षा अधुरो भएको, विद्यार्थीलाई कुरा आउँछ, काम गर्न नआउने उल्लेख छ । नेपालका जनशक्ति छानीछानी विदेशीले लगेर केही व्यावहारिक ज्ञान दिएपछि आफ्नो मुलुकमा उपयोग गर्ने लेखमा उल्लेख छ ।
मधु राईको लेखमा शिक्षक तथा अभिभावकमा बालबालिकाको प्रारम्भिक शिक्षण सिकाइका आधारभूत सीपबारे ज्ञान नहुँदा सिक्ने सिकाउने प्रक्रिया जटिल बनिरहेको उल्लेख छ । यस्तै शिव मुखियाले लेखेको थ्री इडियट्स : नेपाली शिक्षाका तीन पटमूर्ख शिर्षकको लेखमा विद्यालय शिक्षाका पाठ, पठन विधि र प्रणालीका बारेमा हिन्दि फिल्म थ्री इडियट्सका विम्ब र सम्वाद प्रयोग गरी विश्लेषण गरिएको छ । उक्त लेखमा पढाई र व्यवहारको तालमेल नमिलेको वर्णन गरिएको छ ।
साता भरिका शैक्षिक विषयवस्तुको वर्गीकरण र संश्लेषण गरी तिनलाई सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट वस्तुपरक टिप्पणी गर्न यो कार्य गरिएको हो । नीति निर्माता एवं सरोकारवालाहरुलाई एकै स्थानमा साताभरीका शैक्षिक समाचारको सार उपलब्ध गराउनु पनि यसको उद्देश्य हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरले गरेको यो संयुक्त प्रयासमा दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र र दि हिमालयन टाईम्स, अनलाईन खबर, सेतोपाटी र रातोपाटी अनि हिमालय टिभि र नेपाल टेलिभिजनलाई समेटिएको छ । यस पटक फागुन २६ गते देखि चैत १० गते सम्मका दुई साताको विषयवस्तु समेटिएका छन् – सम्पादक ।
गत साताका सामग्री यहाँबाट पढ्नुहोस् : शिक्षामा गत साता
प्रतिक्रिया