Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

स्वीसले बनाए नुवाकोटमा आधुनिक विद्यालय

आइतबार, २० मंसिर २०७२

काठमाडौँ, २० मङ्सिर । नुवाकोटको तारुका–४ स्थित आरुबोटेमा स्वीट्जरल्याण्डका नागरिकले आधुनिक सुविधासम्पन्न विद्यालय निर्माण गरेका छन् ।   स्वीस नागरिकको १३ जना समूहले आफ्नै लगानी र श्रमदानबाट तारुका–४ आरुबोटेमा बिपी स्मृति प्राथमिक विद्यालय निर्माण गरेका हुन् । 

कुल रु ८० लाखको लागतमा स्वीस प्रविधिबाट निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक पाँचकोठे विद्यालय र तीनकोठे कार्यालयको पक्की भवनमा आधुनिक फर्निचरलगायतका सबै सेवा सुविधा छन् । वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त उक्त विद्यालय निर्माण गर्न वरिष्ठ पर्यटन व्यवसायी मोहन लम्साल र नुवाकोट–रसुवा पर्यटन विकास समितिका महासचिव शिव अधिकारीले सक्रियता देखाएका थिए । 

स्वीस नागरिक बर्नहाड बुल्हरले पर्यटन व्यवसायी लम्सालको आग्रहबमोजिम १३ जनाको समूह बनाई यहाँ आएर विद्यालय निर्माण गरेका थिए ।  यो समूहले तारुकाको वडा नं ५ र ७ मा थप एक÷एक विद्यालय निर्माण गर्ने र तारुका–४ मा छ कोठे अस्पताल र खानेपानी आयोजना बनाउने जनाएको छ । 

विसं २०५१ स्थापना भएको उक्त विद्यालय पुनःनिर्माण भएसँगै स्थानीयले गुणस्तरीय र सुलभ शिक्षा पाउने स्थानीयको विश्वास छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बराल मगरले सुविधायुक्त विद्यालय निर्माण भएपछि बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।  

विद्यालयको उद्घाटन गर्दै व्यवसायी लम्सालले विद्यालय जस्तो पवित्र क्षेत्रमा समाजसेवा गर्न पाउँदा खुसी लागेको भन्दै अन्य गाउँमा पनि विद्यालय निर्माण गरी शिक्षाको ज्योति फैलाउन लागिपर्ने बताए । 

(रासस) 

 

प्रतिक्रिया