Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

अपाङ्गता विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

आइतबार, २० मंसिर २०७२

काठमाडौँ, २० मङ्सिर । अनाथ अपाङ्ग उद्धार समाज नेपालले विभिन्न प्रकृतिका अपाङ्गता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।  चौबीसौँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सांसद योगेन्द्र घिसिङले दृष्टिविहीन, शारीरिक अपाङ्ग, सुस्त श्रवण र बौद्धिक अपाङ्गलगायत ललितपुर जिल्लाका पाँच गाविसका २५ जना विद्यार्थीलाई उनीहरूको आवश्यकता अनुसारको शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । 

सुस्त श्रवण भएकाका लागि साङ्केतिक भाषाका पुस्तक, दृष्टिविहीनका लागि स्लेट स्टाएलस र ब्रेल पेपरलगायतका सामग्री वितरण गरिएको हो ।  सोही अवसरमा सांसद घिसिङले अपाङ्गताको क्षेत्रमा जे जति प्रयास र पहल भए त्यसको कारण केही मात्रामा भए पनि वर्तमान संविधानमा अपाङ्गता भएका व्यक्तिको अधिकार समावेश गर्न सफल भएको बताए ।  

अपाङ्गताको सवालमा नयाँ संविधानमा भएका सवाललाई जतिसक्दो चाँडो कानुन बनाएर कार्यान्वयन गर्नका लागि आफूले पहल गर्ने सांसद घिसिङले प्रतिबद्धतासमेत व्यक्त गरे ।   पूर्व सभासद् इन्द्रमाया गुरुङले अपाङ्गताको विषयमा पहिलो संविधानसभाबाट प्राप्त उपलब्धिलाई दोस्रो संविधानसभाले स्वामित्व ग्रहण गरेका कारण पनि अपाङ्गताका केही अधिकार नयाँ संविधानमा समेटिएको जिकिर गरे ।  

अपाङ्ग उत्थान सङ्घका अध्यक्ष बालकृष्ण गैरेले अपाङ्गताका क्षेत्रमा देखिएका समस्यालाई अपाङ्गता भएका व्यक्ति एक्लैले भन्दा पनि राज्यले नै समाधानका लागि पहल गर्नुपर्नेमा जोड दिए ।  सरकारले गरेको अपाङ्गताको परिभाषा र वर्गीकरणमा आधारित भएर गरिएको जनगणना–२०६८ अनुसार कुल जनसङ्ख्याको झन्डै दुई प्रतिशत मानिसमा अपाङ्गता छ ।

राष्ट्रिय अपाङ्ग कोषका सभापति नितेश गुप्ता र एविलिस फाउन्डेसनका नेपाल प्रतिनिधि वीरेन्द्रराज पोखरेलले भूकम्पपछिको पुनःनिर्माण अपाङ्गमैत्री हुनुपर्ने माग गरे । समाजका अध्यक्ष टेकनाथ न्यौपानेले नीति निर्माण र राज्यका हरेक संरचनामा अपाङ्गता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ भने ।  

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ ले अपाङ्गतालाई व्यक्तिगत वा शारीरिक अवस्था नभनेर विभिन्न प्रकारका भौतिक, दृष्टिकोणजन्य, सञ्चारसम्बन्धी र सामाजिक अवरोधको परिणाम हो भनी व्याख्या गरेको छ । 

विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदनअनुसार संसारमा कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले जनाएअनुसार अपाङ्गता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् । 

(रासस) 

 

प्रतिक्रिया