Edukhabar
मंगलबार, २० कार्तिक २०८१
खबर/फिचर

त्रिविको उपकुलपति बन्न अनुसन्धानलाई कम महत्व दिदा तजबिजको नम्बर निर्णायक

त्रिविको उपकुलपति बन्न मध्यपश्चिम र सदुरपश्चिमको तुलनामा अनुसन्धानमा कम अंक भए पनि हुने व्यवस्था गरिएको छ ।

शुक्रबार, २६ माघ २०८०

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियामा अनुसन्धानलाई कम प्राथमिकता दिएकै कारण मुल्याङकनकर्ताले दिने तजबिजको नम्बरकै आधारमा नयाँ उपकुलपति चयन हुने भएको छ । उपकुलपति छनोट गर्न एक सय अंकभार मध्ये  बिजनेश प्लान र सोचपत्र प्रस्तुतीमा २० अंक र अन्तरवार्तामा १५ अंक छुट्याइएको छ । उक्त नम्बर शिक्षामन्त्री संयोजक रहेको छनोट समितिले दिने छ ।

university

त्रिविको उपकुलपति छनोट गर्न गठित समितिले बिहीबार अबेर सार्वजनिक गरेको १४ जनाको सर्टलिष्टको सूचनामा अन्तरवार्ता र प्रस्तुतीको मिति समेत तय गरिएको छ । अब सोही ३५ अंकमा जसले बढी ल्याउन सक्छ यस मध्ये ३ जनाको नाम उपकुलपतिको लागि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्रीलाई सिफारिस हुनेछ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिले बनाएको कार्यविधिमा अनुसन्धानलाई कम प्राथमिकता दिएर सोचपत्र, बिजनेश योजना, प्रस्तुतीलाई बढी अंकभार दिईएको छ । यसले मुल्याङकनकर्ताले तजबिजले नम्बर दिने र योग्य भन्दा पनि चर्चामा भएका व्यक्तिले प्राथमिकता पाउन सक्ने सम्भावना हुन्छ । 

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट समितिले भने केही सुधार गरेको छ । दुबै समितिमा शिक्षामन्त्री नै संयोजक छन् । पूर्वाञ्चलमा भने त्रिविको भन्दा अनुन्धानलाई अलि बढी प्राथमिकता दिइएको छ । त्रिविमा ६ अंक मात्रै अनुसन्धानलाई दिएको भए पनि पूर्वाञ्चलमा १६ अंकभार अनुुसन्धानलाई दिईएको छ । पूर्वाञ्चलमा पनि प्रस्तुती र अन्तरवार्तामा मुल्याङकनकर्ताको तजबिज चल्ने गरी बढी अंकभार राखिएको छ । पुस्तक प्रकाशन गरेबापत अंक दिने त्रिविको कार्यविधिमा मात्रै उल्लेख छ । 

विश्वविद्यालय अनुदान आयोगले संयोजन गरेर मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोटको कार्यविधि बनेको छ । जुन कार्यविधि त्रिवि र पूर्वाञ्चलको भन्दा बढी ‘एकाडेमिक’ छ । अनुसन्धानमा पोख्तले स्वतः बढी नम्बर पाउने यी दुई विश्वविद्यालयको कार्यविधिमा उल्लेख छ । अनुसन्धानमा अन्तराष्ट्रिय रुपमा परिचित छ भने अझ बढी नम्बर पाउने कार्यविधि बनाइएको छ । 

‘अन्तरवार्ता, प्रस्तुती नम्बर छोड्नु भनेको मुल्याङकन कर्ताबाट स्वविवेकले दिने नम्बर हो । मुल्याङकन गर्ने टिममा यदि कसैको चिरपरिचित मान्छे रहेछ भने उसले पेस गरेको योजना जस्तो सुकै भए पनि मुल्याङकन कर्तासंगको सम्बन्धको कारणले नम्बर बढी दिन सक्छ,’ त्रिविले निकालेको सर्टलिष्टमा परेका एक सदस्यले भने,‘तर, अनुसन्धानको लागि नम्बर बढी राख्दा सबैले स्पष्ट देखिन्छ । पारदर्शी पनि हुन्छ । मध्यपश्चिम र सुदुरपश्चिमको कार्यविधि त्रिवि र पूर्वाञ्चलको भन्दा व्यवहारिक छ ।’ 

त्रिविको उपकुलपति छनौटको कार्यविधिमा सोचपत्र, बिजनेश प्लान र त्यसकै प्रस्तुतीलाई बढी अंकभार दिइएको छ ।

विश्वविद्यालय सुधार गर्न सोचपत्र र बिजनेश प्लान आवश्यक पर्ने भए पनि उपकुलपतिसंग अुनसन्धानको ज्ञान अझ बढी चाहिने ती सदस्यले बताए । विश्वविद्यालय भनेको प्राज्ञिक क्षेत्र भएकोले अनुसन्धानलाई बढी प्राथमिकता दिने गरी मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिको कार्यविधि बनेको छनोट समितिले जनाएको छ । 

‘सोचपत्र र कार्ययोजना मात्रै ध्यान दिँदा अनुसन्धान गौण हुन सक्छ,’ ती सदस्यले भने । 

मध्यपश्चिम र सुदुरपश्चिमको उपकुलपति छनोट कार्यविधिमा अनुसन्धान र विश्वविद्यालयको सोचपत्र, बिजनेश योजनालाई छुट्याएको अंकभारमा उत्तिकै महत्व दिएको छ । त्रिवि र पूर्वाञ्चलमा विश्वविद्यालयको उपकुलपति छनोट गर्न चार वर्षीय योजना र सोचपत्रलाई प्राथमिकता दिएको छ भने मध्यपश्चिम र सुदरपश्चिममा अनुसन्धान र योजनालाई उत्तकै महत्व दिएको छ । 

सरकारले सार्वजनिक गरेको उच्च शिक्षा विधेयकको मस्यौदामा त्रिभुवन विश्वविद्यालयलाई प्राज्ञिक उत्कृष्टताको आधारमा स्वतः केन्द्रीय विश्वविद्यालय हुने उल्लेख छ । तर, नेतृत्व चयनमा भने अुनसन्धानलाई कम प्राथमिकता दिइएको छ । यसले विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउन खोजिएको हो कि, राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुसन्धानमा कम ‘एक्सपोजर’ भएको नेतृत्व चयन गर्न खोजिएको हो ? भन्ने ढुलमुले नीति देखिन्छ । 

प्रतिक्रिया