Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

पोखरा विश्वविद्यालयको सुधारमा जोड 

शनिबार, १९ मंसिर २०७२

काठमाडौँ, १९ मंसिर । पोखरा विश्वविद्यालय सभाका सभाषदहरुले समयसापेक्षरुपमा शैक्षिक गुणस्तरीयता अभिवृद्धि गर्दै विश्वविद्यालयको समग्र सुधार गर्नुपर्नेमा जोड दिएका छन् । 

यही मंसिर २७ गते हुने विश्वविद्यालयको १६ औँ साधारणसभाको बैठकमा प्रस्तुत हुने प्रस्तावमा एजेण्डाको साझा अवधारणा बनाउने सन्दर्भमा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा सभाषदहरुले आन्तरिक र बाह्यरुपमा विश्विद्यालयलाई मजुबत बनाउनुपर्ने बताएका हुन् । 

विश्वविद्यालयलाई लेखनाथ ढुंगेपाटनको घेरामा मात्र सिमित गर्न नहुने भन्दै अन्तरक्रियामा विश्वविद्यालयले आंगिक कलेजको विस्तारमा जोड दिनुपर्ने र परीक्षा प्रणालीमा व्यापक सुधार गर्दै एकेडेमिक क्यालेण्डर अनुसार समयमै परीक्षा लिनुपर्ने आवश्यकता औल्याइएको थियो । 

विश्वविद्यालयभित्र बन्द हड्तालको राजनीति अन्त्य गरिनुपर्ने जरुरी छ । विश्वविद्यालय सभाका सभाषद एवं ला ग्राण्डी इन्टरनेश्नल कलेजका संस्थापक देवराज चालिसेले प्रध्यापकहरुको पेशागत हकहितलाई सुनिश्चित गरेर अगाडी बढ्नुपर्ने बताए । 

त्रिभुवन शान्ति उच्च माविका प्रधानाध्यापक मित्रलाल सापकोटाले विश्वविद्यालयका समस्याको न्युनिकरणमा स्थानीय सभाषद र नागरिक समाजसंग हातेमालो गर्नुपर्नेमा जोड दिए । 

(आजको हिमालय टाइम्समा प्रकाशित समाचार)

प्रतिक्रिया