Edukhabar
आइतबार, २३ भदौ २०८१
गतिविधि

तीन महिनासम्म त्रिविको उपकुलपति छनौट गर्न नसकेपछि भुसालको म्याद दोस्रो पटक थप

भुसालको दोस्रो कार्यकाल वैशाख १५ सम्म थपिएपछि उपकुलपति नियुक्तिको प्रक्रिया पनि लम्बिएको छ ।

मंगलबार, १६ माघ २०८०

काठमाडौँ–त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकाल सकिएको तीन महिनासम्म पनि नयाँ उपकुलपति छनौट गर्न सकेको छैन । उपकुलपतिको खुला विज्ञापन भएपछि छनौट प्रक्रिया रोकेर रेक्टर प्रा. शिवलाल भुसालको दोस्रो पटक थप तीन महिनाको लागि उपकुलपति म्याद थप गरिएको हो । 

कात्तिक १६ मा तत्कालीन उपकुलपति प्रा. धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ माघमा भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएको थियो । उनको तीन महिनाको कार्यकाल मंगलबार सकिने भएपछि  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भुसाललाई थप तीन महिनाको लागि नियुक्ति गरेको हो । उनलाई बढीमा तीन महिनाको लागि म्याद थप गरेसँगै नयाँ उपकुलपति छनौटको प्रक्रिया पनि लम्बिने निश्चित भएको छ ।

मन्त्रिपरिषद्को कार्यालयले भुसाललाई शिक्षाध्यक्षको हैसियतमा पत्र पठाएको छ । उपकुलपति पद रिक्त भएपछि पदपूर्तिको प्रक्रिया रहेकोले तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी तोकिएको पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ,‘पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाको लागि तपाईँलाई सम्माननीय प्रधानमन्त्री एवं कुलपतिज्यूबाट उपकुलपतिको जिम्मेवारी तोकिएको व्यवहोरा माघ १६ को निर्णयअनुसार अनुरोध छ ।’ 

शिक्षामन्त्रीको संयोजकत्वमा त्रिविको उपकुलपति छनौट प्रक्रिया भइरहेको छ । उपकुलपतिको खुला विज्ञापन भएकोमा ४३ जनाले आवेदन दिएका छन् । भुसालले पनि उपकुलपतिमा आवेदन दिएका छन् । 

 

प्रतिक्रिया