Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

किन ढिलो भयो एसएलसीको रुटिन ?

शुक्रबार, १८ मंसिर २०७२

भक्तपुर – ढिलोमा मंसिर दोश्रो हप्ताभित्र एसएलसी परीक्षाको रुटिन सार्वजनिक भइसक्नेमा यो बर्ष अहिले सम्म समय तालिका सार्वजनिक हुन सकेको छैन । किन ढिलाई भयो त ? तराई आन्दोलन र भारतको नाकाबन्दीका कारण परेको असर  झट्ट देखाउने बहाना भए पनि खासमा सहसचिवहरुको सरुवाले तालिका सार्वजनिक गर्न अलमल भएको परीक्षा नियन्त्रण कार्यालय श्रोतले दावी गरेको छ ।

परीक्षा नियन्त्रक विष्णु बहादुर द्धारेका ठाउँमा शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालको सरुवा भएको छ । 'सरुवा भएर जाने भएपछि परीक्षाको जस अपजस नयाँ आउने नियन्त्रककै भागमा परोस् भन्ने चाहनाले पनि असर गरेका छ', उक्त श्रोतले दावी गर्यो, 'निजि विद्यालय सञ्चालकहरुले एसएलसी परीक्षा चैत अन्तिम साता सार्न माग गरेको अवस्था तथा तराईका विद्यालयमा आवश्यक पठनपाठन नभएपछि परीक्षा मिति सार्वजनिक गर्दा थप विवाद हुने आशँकाले प्रभाव पारेको हो ।' तर नियन्त्रक द्धारेले सरुवा भन्दा पनि देशको अवस्थाले केही प्रभाव पारेको बताउँदै सम्भवतः आउँदो हप्ताभित्र समय तालिका सार्वजनिक हुन सक्ने बताए ।

गत वर्ष मंसिर दोश्रो साता समय तालिका सार्वजनिक भर्एसकेको थियो तर यो बर्ष पनिकाको बोर्र्ड बैठक समेत बस्न सकेको छैन । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कुनै बहानामा शैक्षिक सत्र नसर्ने बताईसकेका छन् । तर, तराई मधेसमा जारी आन्दोलनले विद्यालयमा पठनपाठन नभएर पाठ्यक्रम नसकिएको चर्चा चलिरहेका बेला तालिका सार्वजनिक गर्न पनि ढिलाई हुँदा अन्योल भने बढेको छ ।

गएको बर्ष झण्डै साढे ५ लाख विद्यार्थी परीक्षामा सहभागी भएकामा यो वर्ष त्यो संख्या बढेर पुग नपुग ६ लाख सम्म हुन सक्ने अनुमान गरिएको छ । सबै विद्यार्थीको विवरण आई नसकेकाले एकिन संख्या अहिल्यै भन्न नसकिने द्धारेको भनाई छ । माघ महिनासम्म परीक्षामा सहभागी हुने विद्यार्थीको विवरण आउने गर्छ । यस बर्षबाट ग्रेडिङ प्रणाली अनुसार परीक्षा हुने छ ।

के हुन्छ प्रश्नपत्र छाप्ने काम ?

यसैबीच भारतको नाकाबन्दीका कारण आवश्यक कागजको अभाव भएर पाठ्यपुस्तक छपाईमा समस्या पर्न सक्ने भएपनि एसएलसीको प्रश्नपत्र छपाईमा प्रभाव नपर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।  कागजै नभएर 'एसएलसीको प्रश्नपत्र छपाई काम रोकिदैन्’ मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलले भनिन्, ‘कागज नभए विमानबाट ल्याएर भए पनि प्रश्नपत्र छाप्नेले (जनक शिक्षा सामग्री केन्द्रले) छाप्छ, नभए अर्कोले जिम्मेवारी लिन्छ ।’

कागज अभावले अहिले धेरैजसो पाठ्यपुस्तक छपाई हुन नसकेको केन्द्रका एक कर्मचारीले बताए । आगामी शैक्षिक सत्रका लागी पाठ्यपुस्तक छाप्ने काम शुरु गर्ने भनिए पनि कागजकै अभावले अहिले पर्याप्त रुपमा किताब छाप्न समस्या भएको छ । त्यसमा आगामी बर्षका लागी गरिने कामहरु अहिले सम्भवै नभएको उनको भनाई थियो ।

त्यसो त परीक्षाको तालिका नै सार्वजनिक नभएकाले प्रश्नपत्र छपाईको काममा हतारिनु नपर्ने देखिन्छ । सामान्यतया परीक्षाको तालिका सार्वजनिक भएपछि प्रश्नपत्र छपाईको काम शुरु हुने गर्छ ।
परीक्षामा सहभागी हुने विद्यार्थीको विवरण अनुसार बल्ल प्रश्नपत्र छपाई शुरु हुने गर्छ ।

प्रकाशित मिति २०७२ मंसिर १८ गते

प्रतिक्रिया