Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

सांसदको दबाब पछि शिक्षा मन्त्रीले भने, ‘शिक्षकसंग सम्झौता भएको छ’

शिक्षा मन्त्रीले संसदीय समितिलाई झुक्याएको भन्दै सांसदहरुको आपत्ति

आइतबार, ०८ पुस २०८०

काठमाडौं - प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य विज्ञान तथा प्रविधि समितिका सांसदहरुले शिक्षक महासंघसंग भएको सम्झौता समितिमा पेश नभएसम्म विद्यालय शिक्षा विधेयकमाथिको छलफल अघि बढ्न नसक्ने बताए पछि शिक्षा मन्त्री अशोक कुमार राई सम्झौता सार्वजनिक गर्न तयार भएका छन् । 

पूर्व शिक्षा मन्त्री समेत रहेका माओवादी सांसद देवेन्द्र पौडेल, एमाले सांसद इश्वरी घर्तीले मन्त्रीले समितिलाई ढाँटेको भन्दै विरोध जनाएका थिए । माओवादी सांसद देवेन्द्र पौडेलले भने, ‘मन्त्रालयले शिक्षकसंग गरेको सम्झौतामा के छ ? यो हामीले थाहा पाउनु जरुरी छ ।’ 

एमाले सांसद घर्तीले मन्त्रीले शिक्षकसंग गरेको सम्झौता समितिले स्वीकार गरेपछि मात्रै अरु विषयमा छलफल हुन सक्ने बताएकी थिईन् । 

‘शिक्षकको समस्या, शिक्षक महासंघ र सरकार बीच भएका सम्झौता त्यसलाई कुन रुपमा लिने ? त्यसलाई विधेयकको अंग नबनाउने हो भने यो छलफल अघि बढ्न सक्दैन,’ घर्तीले भनिन,‘सम्झौतामा  के थियो ? औपचारिक रुपमा समितिमा आउनु पर्छ । समितिले स्वीकार गरेर विधेयकको अंगको रुपमा अघि बढाएर जानुपर्छ ।’ 

मन्त्रीले संसदलाई यसअघि ढाटे पनि सांसदहरुको दबाबपछि सम्झौता भएको स्वीकार गरे । सांसदहरुले उठाएको विषयको जवाफ दिने क्रममा मन्त्रीले सम्झौता भएको स्वीकार गरे ।
‘केही सम्झौता भएको छ । यसलाई हामी समितिमा पेश गर्नेछौ ।’

विधेयक माथि संसदीय समितिमा आईतबार बाट शुरु भएको छलफलको शुरुमै मन्त्री राईले विद्यालय शिक्षा विधेयकको बिरोध गर्ने शिक्षकसंग कुनै पनि सम्झौता नभएको बताएका थिए । 

पढ्नुहोस् त्यो खबर : संसदीय समितिमा शिक्षा मन्त्री भन्छन् - विधेयकको बिरोध गर्ने शिक्षकसंग कुनै पनि सम्झौता भएको छैन

प्रतिक्रिया