काठमाडौं १७ मंसिर / लमजुङ रामबजारकी नानीमाया गुरुङले नेपाली बिषयमा विद्यार्थी विद्यावारिधि (पीएचडी) गरिन् । त्रिभुवन विश्वविद्यालयको बुधबार भएको ४१ औ दिक्षान्त कार्यक्रममा उनी पनि दिक्षित भइन् । उनीसंग अब पीएचडीको शैक्षिक प्रमाणपत्र छ । तर, उनी अझै गाउको निजी विद्यालयमा शिक्षिका छिन् । 'प्राविधिक बिषय अध्ययन गरेको भए स्नातक सकाउने बित्तिकै राम्रै जागिर पाइन्थ्यो होला,'उनले भनिन,'साधारणतर्फ पढदा सर्टिफिकट मात्रै छ ।' उनले दुई वर्षअघि पोखराको पृथ्वी नारायण क्याम्पसबाट शिक्षा सकांयबाट स्नातकोत्तर सकाएकी थिइन ।
पाटनकी सोमना बज्राचार्यले पनि एमबीए सकाइन् । बुधबार दीक्षित पनि भइन तर, रोजगारीको खोजीमा छिन् । 'जागिर पाउन सहज छैन,'उनले भनिन,'डिग्री पाउन सहज भएपनि जागिर पाउन गाह्रो छ ।' बज्रचार्यको भनाईलाई सुनसरी इनरुवाका सन्दिप राईको मेहनतले पुष्टि गर्छ । केही दिनअघि लोकसेवाले लिएको शाखा अधिकृतको परीक्षामा उनी पनि सहभागि थिए । ४ सय ६५ पदका लागि २१ हजार भन्दा बढी प्रतिष्पर्धी थिए । 'यसले कति बेरोजगार छ भन्ने चित्रण गर्छ,'त्रिचन्द्रबाट एमबीएस सकाएका उनले भने,'अहिलेको पढाई परीक्षा केन्दि्रत भयो । अब सिपमुलक शिक्षामा जोड दिनु पर्छ ।'
नानीमाया र सोमनाको जस्तै पीडा त्रिविबाट यसवर्ष दीक्षित हुन योग्य ६१ हजार सात सय १६ विद्यार्थी मध्ये धेरैको छ । शिक्षा मन्त्रालयका अनुसार उच्च शिक्षा अध्ययन गर्नेमा ९३ प्रतिशत साधारण शिक्षा अध्ययन गर्छन भने सात प्रतिशत मात्रै प्राविधिक शिक्षा अध्ययन गर्छन ।
सरकारले साधारण शिक्षामा बढी लगानी गर्दै आएको छ । रोजगारमुखी शिक्षाको लागि लगानी न्यून छ । सरकारले हालै जारी गरेको उच्च शिक्षा नीतिमा प्राविधिक शिक्षालाई जोड भने दिएको छ ।
गणित केन्द्रीय विभागबाट स्नातकोत्तर गरेका सनतकुमार आचार्य यसवर्षकै उत्कृष्ठ भए । उनले गणितमा ९४.९५ प्रतिशत ल्याए । चान्सलर पदक, रामप्रसाद मानन्धर स्वर्ण पदक र त्रिवि प्राध्यापक संघ स्वर्ण पदक पाएका उनले अहिलेको शिक्षा सैद्धान्तिक मात्रै भएकोले बेरोजगार बढेको टिप्पणी गर्छन । 'सैद्धान्तिकबाट अब व्यवाहरिक र प्राविधिक शिक्षाको खाचो छ,'रसुवा लहरेपावाका उनले भने,'राज्यको लगानी पनि यतै केन्द्रीत गर्नुपर्छ ।'
शिक्षा संकायमा विद्यावारिधीबाट दीक्षित डिल्ली रिमालले सुरुमा साधारण शिक्षालाई प्राथमिकता दिएपनि अब प्राविधि र व्यवसायिक शिक्षालाई जोड दिनु पर्ने बताए । 'साधारण शिक्षा खराब होइन । यसलाई अनुसन्धान र प्रविधिमा आधारित बनाउर्नुर्ुपर्छ,'शिक्षा विभागका महानिर्देशक समेत रहेका उनले भने,'साधारणबाट प्राविधिक तर्फ मोडिनु पर्छ ।'
अर्थशास्त्र बिषयमा स्नातककोत्तरमा गोल्डमेडलिष्ट हुमनाथ तिमिल्सिनाको सोचाई अरुको भन्दा फरक छ । पढाई पुरा गरेपछि आफैले रोजगारी सृजना गर्नु पर्ने तर्क गर्छन । 'त्रिविले बेरोजगार उत्पादन गर्यो भन्दै टिप्पणी गर्छन । यस्तो होइन, उसले त हामीलाई बाटो देखाएको छ,'उनले भने,'काम गर्ने इच्छा हुनुपर्छ । रोजगारी आफै सृजना हुन्छ ।'
बुद्धिजममा विद्यावारिधी गरेका गौतमबिर बज्रचार्यले राज्यले सक्षमता र योग्यता भन्दा पनि राजनीति निकटताको आधारमा पहिचान गर्ने गरेको गुनासो गरे । 'विश्वविद्यालयले उपाधि त दियो । राज्यले यसको सदुपयोग गर्न सक्नुपर्छ,'उनले भने ।
उनी पनि साधारण शिक्षालाई भन्दा पनि अवसर पाउने शिक्षाको खाचो देख्छन । एमएस्सी रसायनशास्त्रका उत्कृष्ठ कमलप्रसाद पाण्डेले प्राविधिक बिषय पढाएपनि प्रयोगशालामा आवश्यक उपकरण नहुने समस्या रहेको बताए । 'प्रयोगात्मक कार्य गर्न उपकरण हुदैन,'उनले भने । फिजिक्समा विद्यावारिधी गरेकी प्रा. निलम श्रेष्ठले प्रयोगात्मक गराउन उपकरण नहुदा सैद्धान्तिक ज्ञान मात्रै दिनु परेको बताइन । 'प्रयोगात्मक नगरी नम्बर दिनु परेको छ,'त्रिचन्द्र कलेजको फिजिक्स विभाग प्रमुख समेत रहेको उनले भनिन ।
व्यवस्थापन संकायमा विद्यावारिधी गरेका मनोज चौधरीले मुलुकमा कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने अध्ययन नहुनु दुर्भाग्य भएको बताए । धेरै विद्यार्थी स्नातककोत्तर गराएको सुची मात्रै बनाउनु भन्दा पनि राज्यलाई कुन क्षेत्रमा कस्तो जनशक्ति चाहिएको छ ? भन्ने अनुसन्धान हुनु पर्ने उनले बताए ।
दीक्षान्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वरोजगारीको लागि आवश्यक ज्ञान, प्रविधि र सीपसमेत उच्च शिक्षाको पाठ्यक्रममा जोड्नु पर्नेमा जोड दिइन । 'उच्च शिक्षाको पाठ्यक्रमलाई कसरी श्रम बजारको आवश्यकतासाग बढी तामेल मिलाई रोजगरीको अवसर बढाउन सकिन्छ भन्नेमा त्रिविको ध्यानाकर्षण हुनुपर्छ,' उनले भनिन् ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपालीहरु विश्वका अधिकांश मुलुकहरुमा आपmनो श्रम खर्चिरहेको बताए । 'मिहेनत र इमान्दारितामा अब्बल नेपालीलाई सीप र दक्षतामा समेत सर्वश्रेष्ठ तुल्याउन निःसन्देह विश्वविद्यालयको भूमिका हुन्छ,' त्रिविका कुलपतिसमेत रहेका ओलीले भने, 'यसर्थ, शिक्षित विद्यार्थीहरु पढ्न-लेख्न मात्रै जान्ने, अरु नजान्ने विडम्बनालाई चिर्दै सक्षम तथा सिपयुक्त जनशक्ति तयार गर्नु आज त्रिविको समेत चुनौति हो ।'
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले हुनेखानेलाई उच्च शिक्षा भन्ने अवस्थालाई चिर्दै आर्थिक रुपले विपन्न जेहन्दारलाई उच्चशिक्षा प्राप्त बिशेष व्यवस्था गर्ने दाबी गरे । उच्च शिक्षालय प्रवेशको अबसर प्रदान गर्न बिशेष छात्रबृत्ति, ऋण सहयोग, वित्तीय सहयोग वा विशेष कार्यक्रम मार्फत सम्बोधन गर्ने उनले बताए ।
त्रिविका उपकुलपति प्रा. तीर्थ खनियाले प्रविधिको अधितम प्रयोग गरी दुर शिक्षा र अनलाइन शिक्षा प्रदान गर्ने बताए । 'प्राविधिक शिक्षालाई उपत्यका बाहिर पनि बिस्तार गर्ने कार्यक्रम बन्नेछ,'उनले भने,'वैज्ञानिक क्षेत्रको अध्ययन अध्यापन र अनुसन्धान गर्न विज्ञान र प्रविधि केन्द्रको स्थापना भइसकेको छ ।'
कान्तिपुरमा मकर श्रेष्ठ र गणेश राईले लेखेका छन् ।
प्रतिक्रिया