Edukhabar
सोमबार, १० मंसिर २०८१
खबर/फिचर

केयू र धुलिखेल अस्पताल छुट्टिने निश्चित

काठमाडौँ विश्वविद्यालयले अहिले नेपालमा अभ्यास गरिरहेका डाक्टरहरूमध्ये आधा डाक्टर उत्पादन गरिसकेको आधारमा विश्वविद्यालयले चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल खोल्न सक्ने कुरामा म विश्वस्त छु ।केयुले १ हजार शय्याको अस्पताल बनाएमा सरकारको सहयोग रहन्छ  : प्रधानमन्त्री

बुधबार, २७ मंसिर २०८०

धुलिखेल–प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ विश्वविद्यालय (केयू)ले चिकित्सा शिक्षा र अभ्यास गर्न एक हजार शय्याको आफ्नै शिक्षण अस्पताल निर्माणमा सरकारको साथ हुने बताएका छन् ।

विश्वविद्यालय र धुलिखेल अस्पताल आपसमा छुटिट्ने चर्चा चलिरहेको बेला विश्वविद्यालयका कुलपतिसमेत रहेका दाहालले अस्पताल खोल्न लागेकोमा खुसी व्यक्त गरेका हुन् । विश्वविद्यालय र धुलिखेल अस्पताल बिच लामो समयदेखि विवाद थियो । विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीले साथ दिएपछि अब छुट्टिने पक्का भएको हो । 

‘चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकोमा मलाई खुसी लागेको छ । काठमाडौँ विश्वविद्यालयले अहिले नेपालमा अभ्यास गरिरहेका डाक्टरहरूमध्ये आधा डाक्टर उत्पादन गरिसकेको आधारमा विश्वविद्यालयले चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल खोल्न सक्ने कुरामा म विश्वस्त छु,’२९ र्औ दीक्षान्त समारोहमा उनले भने,‘ स्थापनाको ३२ औँ वर्षपछि आफ्नै शिक्षण अस्पताल स्थापना गर्न विश्वविद्यालयले गरेको प्रयास सराहनीय छ । यो शुभ कार्यका लागि म अग्रिम शुभकामना दिन चाहन्छु  ।’ विश्वविद्यालयको कुलपति र प्रधानमन्त्रीको हैसियतले सक्दो सहयोग गर्ने उनले बताए । ‘जति सहयोग गर्न सकिन्छ, त्यो सहयोग गर्न म तत्पर छु,’उनले भने,‘ म नेपाल सरकारका सहकर्मीहरूलाई पनि यही मञ्चबाट काठमाडौँ विश्वविद्यालयलाई यसमा सहयोगका लागि निर्देशन दिन्छु ।’ केयुले चलाइरहेका बहु विधागत कार्यक्रमहरूले अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण पेस गरेको उनले बताए । 

काठमाडौँ विश्वविद्यालयमा मङ्सिरमा मात्रै दुई पटक गएका छन् । केयुमा जाँदा आफ्नै घर आएजस्तो महसुस हुने प्रधानमन्त्री दाहालले बताए । केयुले जलवायु परिवर्तन र वातावरणसम्बन्धी अध्ययन–अध्यापन गराएर प्राध्यापक र वैज्ञानिकहरूले यस क्षेत्रमा उल्लेखनीय योगदान दिएको  उनले बताए । विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको दाहालले बताए । 

 

प्रतिक्रिया