Edukhabar
सोमबार, १० मंसिर २०८१
खबर/फिचर

काठमाडौँ विश्वविद्यालयबाट दीक्षित हुनेमा छात्र भन्दा छात्रा बढी

केयुको २९ औ दीक्षान्त समारोहमा दीक्षित हुने विद्यार्थीमध्ये छात्र ६ सय ४६ अथार्त ४६ दशमलव ०३ प्रतिशत र छात्रा ९ सय ९२ अथार्त ५३ दशमलव ९७ प्रतिशत छन् ।

बुधबार, २७ मंसिर २०८०

धुलिखेल–काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहमा बुधवार एक हजार आठ सय विद्यार्थी दीक्षित भएका छन् । 

स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज, साइन्सका १ हजार ८३८ विद्यार्थी दीक्षित भएका हुन् । दीक्षित हुनेमा १ सय १३ विदेशी विद्यार्थी छन् । दीक्षित हुने विद्यार्थीमध्ये पुरुष ६ सय ४६ अथार्त ४६ दशमलव ०३ प्रतिशत, महिला ९ सय ९२ अथार्त ५३ दशमलव ९७ प्रतिशत छन् । 

साइन्स विधाका पिएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३ सय १४ जना, पीएचडीका ५२ जना र स्नातक तहका १ हजार ४ सय १६ जना दीक्षित भएका हुन् । दीक्षान्त समारोहमा स्कुल अफ आर्ट्सका २ सय ९ जना, एजुकेसनका २ सय २५ जना, इन्जिनियरिङका ३९ जना, कानुनका  ३९ जना, म्यानेजमेन्टका ४ सय ४८ जना, मेडिकल साइन्सेजका ७ सय ७७ जना र साइन्सका १०१ जना रहेका छन् । 

स्कुल अफ इन्जिनियरिङ अन्तर्गत मास्टर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स तर्फ १ जना र स्कुल अफ मेडिकल साइन्स अन्तर्गत मास्टर अफ साइन्स इन मिडवाइफ्री नर्सिङमा ८ र स्कुल अफ एजुकेसन तर्फ मास्टर इन हाई हर एजुकेसन मा ९ जनाले पहिलो पटक उपाधि हासिल गरेका छन् ।

विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले केयुले विदेशी विद्यार्थीलाई आकर्षित गरेर नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण भएको बताए । नेपालमा अवसर नभएको भन्दै विदेशमा गएकाले हण्डर खाइरहेको उनले बताए । ‘नेपालमा केही पनि अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन्,’ दीक्षित हुनेलाई शुभकामना दिँदै उनले भने,‘उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् । तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशको हितमा पनि काम गर्न सकिन्छ ।’

 

 

 

प्रतिक्रिया