Edukhabar
शुक्रबार, २६ पुस २०८१
गतिविधि

महावीर पुनकी छोरीलाई कलेजले व्यवस्थापन कोटामा पढाउन नपाउने

मेरिट लिस्ट भन्दा बाहिर गएर कसैले पनि विद्यार्थी भर्ना गर्न नसक्ने आयोगले जनाएको छ ।

सोमबार, २५ मंसिर २०८०

काठमाडौ - काठमाडौ मेडिकल कलेज (केएमसी) ले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनकी  छोरीलाई मेरिट लिस्ट मिचेर निःशुल्क एमबिबिएस अध्ययन गराउने घोषणा गरे पनि नियम मिचेर पढाउन नपाउने चिकित्सा शिक्षा आयोगले जनाएको छ । 

केएमसीले मेरिट लिस्टको ६५१८ मा रहेकी पुनको छोरीलाई छात्रवृत्तिमा पढाउने भन्दै आयोगसँग अनुमति माग गरेको छ । आयोगले भने मेरिट लिस्ट बाहिर कोही पनि जान नसक्ने जनाएको छ ।

‘मेरिट लिस्ट भन्दा बाहिर गएर कसैले पनि विद्यार्थी भर्ना गर्न सक्दैन’ आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रीले भने । 

काठमाडौ मेडिकल कलेज पब्लिक लिमिटेडले आइतबार आयोगलाई पत्र लेखेर शैक्षिक सत्र २०८० मा एमबिबिएस विषयमा व्यवस्थापन कोटामा अध्ययन गर्न अवसर प्रदान गरिदिन हुन अनुरोध गरेको छ । व्यवस्थापन कोटा नै नभएको आयोगले जनाएको छ । सरकारले छनौट गरेको छात्रवृत्ति र विदेशी विद्यार्थीको बाहेक कुनै कोटा नभएको आयोगले जनाएको छ । 

आयोगले लिएको एकीकृत राष्ट्रिय परीक्षामा सामेल भई उत्तीर्ण भए पनि मेरिट लिस्टमा अगाडि हुनेले मात्रै भर्ना हुन पाउने कानुनी व्यवस्था छ । 

केमसीले पुनकी छोरीले चिकित्सा शिक्षा आयोगको नीति नियमको परिधिले गर्दा नेपाल भरीका मेडिकल कलेजमा एमबिबिएस. विषयमा भर्ना पाउन कठिन बनेकोले आफूले पढाउन चाहेको पत्र बाहिर आएको छ ।

कलेजले आयोगलाई लेखेको पत्रमा भनिएको छ,‘महावीर पुन जसले व्यक्तिगत वृत्ति विकासको सहजतालाई त्यागेर विदेशबाट नेपाल फर्की देशकै लागि केही गर्छु र देशका युवाहरूमा आधुनिक विज्ञानका आयामहरूको सृजनात्मक कार्यमा लगाउँछु भन्ने अठोट लिई निस्वार्थ लागि पर्नु भएको छ । उहाँको सम्मानमा केएमसी वा नोबेल मेडिकल कलेजमा व्यवस्थापन कोटा अन्तर्गत छात्रावास सहित अध्ययनमा पूर्ण छात्रवृत्ति दिने निर्णय भएकोले भर्नाका लागि आवश्यक अनुकूलता प्रदान गरिदिन हुन हार्दिक अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया