Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

त्रिविका दिक्षित विद्यार्थी : नीजिमा अब्बल 

विहीबार, १७ मंसिर २०७२

काठमाडौँ, १७ मंसिर । रसुवाका सनतकुमार आचार्य कहिल्यै निजी शिक्षालय पुगेनन्। एसएलसी रसुवाकै सरकारी स्कुल नीलकण्ठ उच्च माविबाट उत्तीर्ण गरे, प्लस टु त्यहीँबाट सके।  स्नातक राजधानीको रत्नराज्य क्याम्पसमा पढे। त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरबाट स्नातकोत्तर सक्दा उनको हातमा पर्‍यो तीनवटा पदक।

गणितका विद्यार्थी आचार्यले स्नातकोत्तरमा ९४।९५ प्रतिशत अंक ल्याई विशिष्ट श्रेणीमा प्रथम हुँदै चान्सलर पदक प्राप्त गरेका हुन्। उनले सम्पूर्ण स्नातकोत्तर तहमा प्रथम स्थान हासिल गरी रामप्रसाद माननन्धर स्वर्ण पदक (गोल्ड मेडल) र त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक पनि पाएका छन्। आचार्यले बुधबार त्रिभुवन विश्वविद्यालयको ४१ औं दीक्षान्त समारोहमा ती पदक हात गरेका हुन्।

‘पढ्न सक्ने विद्यार्थीका लागि सरकारी शिक्षा नै उत्तम हो,’ पदक प्राप्त गरेपछि आचार्यले भने, ‘निरन्तर कक्षामा उपस्थित हुने र बुझेर अध्ययन गर्ने विद्यार्थीका लागि सरकारी शिक्षाले नै अब्बल बनाउँछ।’ उनले घरमा परिवारले पढाइका लागि अनुकूल वातावरण बनाइदिए अझ राम्रो हुने बताएका छन् ।  

पेसाले शिक्षक उनले सरकारी शिक्षाप्रति नकारात्मक धारणा हुनेहरूका लागि आफू गतिलो उदाहरण बन्न सकेको गर्व महसुस भएको बताए। ‘मेरो पढाइको पहिलो र अन्तिम खुट्किलो सरकारी शिक्षा नै हो,’ सनतले  भने।

२१ औं दीक्षान्त समारोहमा सरकारी स्कुल, कलेज पढेरै स्वर्णपदक पाउने आचार्यजस्तै अन्य थुप्रै विद्यार्थी छन्।   त्रिविका अनुसार यसपालि स्वर्णपदक जित्नेमध्ये आधाभन्दा बढी सरकारी स्कुल पढेर आएकाहरू नै छन्।

सरकारी स्कुलबाटै एसएलसी पास गरेका रुपन्देहीका हुमनाथ तिमल्सिना अर्का गोल्ड मेडलिस्ट हुन्। उनले पनि बुधबार तीनवटा पदक पाए।  अर्थशास्त्र केन्द्रीय विभाग, त्रिवि क्याम्पस, कीर्तिपुरबाट एमएमा ७६।१ प्रतिशत अंक प्राप्त गरी विशिष्ट श्रेणीमा सर्वप्रथम भई उनले तारापद चौधरी पदक प्राप्त गरे। 

अर्थशास्त्र विषयमा सर्वप्रथम भई उनले खगेन्द्रमानसिंह प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि प्राप्त गरे। ‘अभिभावकको दबाबभन्दा पनि रुचिअनुसार विषय छनोट गरी अध्ययन गर्दा सफल भइन्छ,’ उनले भने, ‘मैले बुबाको दबाबमा सिए तीन वर्ष अध्ययन गरेँ, तर बीचैमा छाडँे। आफ्नो रुचिको अर्थशास्त्र पढेर मेडल थापेँ।’

उनले सरकारी स्कुल–कलेजमा अध्ययन गर्ने विद्यार्थीमा आफंै अध्ययन गर्ने बानी हुने र सिर्जनात्मक हुने बताए। ‘तर, त्रिवि शिक्षामा सैद्धान्तिक बढी भएकाले उत्पादित जनशक्ति गोल्ड मेडलिस्ट भए पनि विश्वबजारमा प्रतिस्पर्धा गर्न मुस्किल छ,’ उनले भने।

पाल्पाको शारदा माविबाट एसएलसी र त्रिभुवन बहुमुखी क्याम्पसबाट आइएस्सी र बिएस्सी पास गरेका कमलप्रसाद पाण्डेले पनि त्रिवि क्याम्पस, कीर्तिपुरबाट एमस्सी रसायनशास्त्र विषयमा ७९।३ प्रतिशत अंक प्राप्त गरी सर्वप्रथम हुँदै अर्मत पदक र पिएम सिंह पदक प्राप्त गरेका छन्।

 

(आजको नागरिक दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया