Edukhabar
विहीबार, १३ मंसिर २०८१
खबर/फिचर

त्रिविका साढे सात हजार विद्यार्थी दिक्षित

बुधबार, १६ मंसिर २०७२

काठमाडौ - त्रिभुवन विश्वविद्यालयको विभिन्न संकायमा अध्ययन गरेका साढे सात हजार विद्यार्थी दिक्षित भएका छन् । त्रिविको ४१ औ दीक्षान्त समोरोहमा ६० आगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुका ६१ हजार सात सय १६ विद्यार्थी मध्ये सात हजार तीन सय ४२ विद्यार्थी बुधबार दिक्षित भएका हुन् ।

कार्याक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिविलाई अन्तराष्ट्रिय स्तरको उत्कृष्ट केन्द्रका रुपमा विकसित गर्नुपर्ने बताइन् । ‘यसका लागि कस्ता कानुनी परिवर्तन आवश्यक पर्ने हो, त्यसको खाका यथासिघ्र तयार हुने अपेक्षा गरेकी छु’ उनले भनिन, ‘यस समस्याको समाधानको अपेक्षा सरकारबाट मात्र गर्नुको सट्टा विश्वविद्यालय व्यवस्थापनले पनि यथष्ट प्रयत्न गर्न आवश्यक छ ।’

त्रिविका केही सङ्कायमा अझै प्रभावकारी रुपमा शैक्षिक कार्यतालिका लागू हुन नसक्दा विद्यार्थीले तोकिएको समयमा आफ्नो अध्ययन पूरा गर्न नपाएको भन्दै उनले गुनासो गरिन । ‘भौतिक साधनको हालत नाजुक छ । पठन पाठन र व्यवस्थापनका लागि सूचना प्रविधि लगायतका अन्य आधुनिक प्रविधि यथोचित रुपमा प्रयोग गर्न सकिएको छैन’ उनले भनिन, ‘सबै प्राध्यापकहरु आफ्नो विधामा निपुण हुने अवसर प्राप्त हुन सकेको छैन । यस्ता समस्या त्रिविको प्रमुख चुनौती हो ।’ त्रिविको समस्या आन्तरिक रुपमा समाधान गर्न नसक्ने व्यवस्थापन पक्षले यथासीघ्र कदम चाल्नु पर्ने उनले बताइन ।

युवाको ठूलो जमात वैदेशिक रोजगारीमा रहनु विकासको चुनौतीका रुपमा रहेको उनले औल्याइन । स्वरोजगारीका लागि आवश्यक ज्ञान, प्रविधि, सीप समेत उच्च शिक्षाको पाठ्यक्रममा समावेश गर्ने बारे ध्यानाकर्षण गराइन ।

कार्यक्रममा प्रधानमन्त्री तथा कुलपति समेत रहेका केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाको माध्यमबाट सक्षम जनशक्ति तयार गर्नुपर्नेमा जोड दिए । नयाँ संविधानले शिक्षा र रोजगारीलाई मौलिक हकको रुपमा सुनिश्चित गरी शिक्षा र रोजगारी बीचको अन्योन्याश्रित सम्बन्धलाई संविधानमा लिपिबद्ध गरिएको प्रधानमन्त्रीको दावी थियो ।

न्यून आय भएकालाई अध्ययनको मौका दिने त्रिविलाई बहुविश्वविद्यालयको स्थापना पछि पनि आफ्नो उक्त परम्परालाई निरन्तरता दिँदै आएकामा उनले प्रशंसा गरे । ‘राज्यले सबैलाई शिक्षा प्राप्तिको आवश्यक वातावरण सिर्जना गरिदिन्छ । आर्थिक हैसियत भएकाहरुको मात्रै उच्च शिक्षामा पहुँच हुने विद्यमान असमान विश्व व्यवस्थामा ती समाजमा आय नभएका अधिकांशलाई विश्वविद्यालय शिक्षाको अवसर प्राप्त छ,’ प्रधानमन्त्री ओलीले भने ।

‘आफू को हुँ भन्ने नबिर्सौँ र आफ्नो कर्तव्य सम्झौँ’ भन्ने आग्रह गर्दै उनले डिग्री हासिल गरेका विद्यार्थीलाई प्रतिस्पर्धी विश्व समाजमा अब्बल प्रमाणित गर्न पनि सुझाव दिए ।

विश्वविद्यालय राजनीतिको चपेटामा  : शिक्षामन्त्री

शिक्षा मन्त्री तथा विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले शिक्षण संस्था राजनीतिकरणको चपेटामा परेको बताए ।  यसबाट विश्वविद्यालय पनि त्यसबाट अछुतो नरहेको उनले स्वीकारे ।
‘विश्वविद्यालयमा अराजकता र अस्तव्यस्तता सिर्जना पनि भएका छन् । यसले गर्दा शिक्षण संस्थालाई राजनीतिबाट अलि टाढा राखेर चल्नु अनिवार्य भइसकेको छ, तर सकिएको छैन,’ उनले भने ।
विद्यालय र विश्वविद्यालय देशको सक्षम जनशक्ति उत्पादन गर्ने थलो भएपनि विगतका दिनबाट राजनीति गर्ने अखडा भएको प्रति उनको संकेत थियो । यस्ता गतिविधि रोक्नु पर्नेमा शिक्षामन्त्री पोखरेलले आफुले प्रयास गरिरहेको पनि दावी गरे ।

‘विद्यार्थीले पढे पनि हुने नपढे पनि हुने, शिक्षकले पढाए पनि हुने नपढाए पनि हुने तर परीक्षामा उत्तीर्ण हुनै पर्ने आग्रह देखा पर्नु पनि पक्कै पनि दुःखद् हो र यसले इमान्दार शिक्षक र प्रतिभावान् विद्यार्थीको अपमान र अवमूल्यन भएको छ यो अस्वीकार्य कुरा हो’ उनले भने ।

त्रिविलाई राष्ट्रिय विश्वविद्यालय बनाइने

दिक्षान्त समारोहमा उपकुलपति डा. तीर्थराज खनियाले त्रिविलाई राष्ट्रिय विश्वविद्यालय र कीर्तिपुरलाई केन्द्रीय क्याम्पसको रुप प्रदान गर्नु पर्नेमा जोड दिए । यसका लागी मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भएको तथा शिक्षा मन्त्रालयको निर्देशनमा सो सम्बन्धी ऐन, नियम र प्रारुप पेस गरिसकेको जानकारी गराएका थिए ।

उनले सुधारको प्रक्रियामा त्रिविका सबै तहका कार्यक्रमलाई क्रमशः सेमेष्टर प्रणालीमा रुपान्तरण गरी उच्च शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय प्रणाली र मापदण्ड अनुरुप बनाउँदै लगिने बताए । 
उच्च शिक्षामा देखिएको भूमण्डलीकरण तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धी वातावरण सिर्जना भएको स्थितिमा गुणस्तर कायम गर्न विश्वविद्यालय अब सह सम्बन्धमा आबद्ध हुन आवश्यक भएको उनले बताए ।

फोटो : सुमन गिरीको फेसबुकबाट

प्रकाशित मिति २०७२ मंसिर १६ गते

प्रतिक्रिया