Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

शिक्षक कर्मचारी राजनीतिक दलको सदस्य भएमा पद जाने गरी शिक्षा ऐन संशोधन

विना सूचना ९० दिन भन्दा बढि समय अनुपस्थित भएमा पद जाने व्यवस्थालाई १५ दिनमा झारियो

विहीबार, ३२ साउन २०८०

काठमाडौ - शिक्षक वा विद्यालय कर्मचारी राजनीतिक दलको सदस्य भएमा स्वतः पद जाने भएको छ । काठमाडौ महानगरपालिकाले २०७५ सालमा जारी गरेको शिक्षा ऐनको पहिलो संशोधन गर्दै थप कडाईको प्रावधान राखेको हो । संशोधित ऐन अनुसार विना सूचना १५ दिन भन्दा बढि समय अनुपस्थित शिक्षक कर्मचारीको पद जाने गरी ऐनमा संशोधन गरिएको छ । यस अघि उक्त प्रावधानमा ९० दिन उल्लेख थियो । नगरसभाको १३ औं अधिवेशनबाट स्विकृत विधेयक गत साउन ११ प्रमाणिकरण गरी स्थानीय राजपत्रमा प्रकाशन गरिएको छ । 

पदबाट हटाईने सम्बन्धमा मूल ऐनको दफा ४१ मा भएको व्यवस्थामा तीन वटा खण्ड थप गरिएको छ । जहाँ शिक्षक वा कर्मचारी राजनीतिक दलको सदस्य भएका पदबाट हटाईने सहित सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीले कार्यालय समयमा अन्यत्र अध्यापन वा कामकाज गरेमा वा अन्यत्र कुनै व्यावसायिक क्रियाकलाप गरेमा र आवासीय अनुमतिपत्र लिएमा वा लिनका लागि प्रक्रिया शुरु गरेमा भन्ने खण्ड थप गरिएको हो । 

यस अघि पदबाट हटाइने व्यवस्थाका लागि विभिन्न ६ अवस्था ऐनमा निर्धारण थियो । तोकिएबमोजिमका पदीय दायित्व पूरा नगरेमा, विना सूचना लगातार नब्बे दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा, विद्यालयमा मादक पदार्थ सेवन गरी आएको कुरा प्रमाणित भएमा, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय पाएमा, सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीले संस्थागत विद्यालयमा सञ्चालक भए वा संस्थागत विद्यालयमा अध्यापन गरेमा र विद्यार्थीलाई शारीरिक, मानसिक यातना दिने वा यौनजन्य दुव्र्यवहार गरेमा पद जाने व्यवस्था ऐनमा छ । 

प्रतिक्रिया