Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

सफल हुदैं बालेनका योजना : विद्यालयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी संख्या ७८ प्रतिशतले वृद्धि

काठमाडौं महानगरपालिकाले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समयसापेक्ष र व्यावहारिक भएको पुष्टि गरेको मेयर बालेन शाह बताउँछन् ।

आइतबार, १४ साउन २०८०
फाईल तस्वीर

काठमाडौं । काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये यस वर्ष ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८प्रतिशतले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९ सय ४३ छात्रछात्रामध्ये ८५ (२.१६प्रतिशत) जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए । यस वर्ष भने ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकोमा १५० (३.८३प्रतिशत) छात्रछात्राले ‘ए प्लस’ ग्रेड ल्याउन सफल भएका छन् । 
 
यो तथ्याङ्कबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या वृद्धि हुदैं गएको देख्न सकिनछ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरू नियमित हुन थालेका छन् । यसबारे काठमाडौं महानगरपालिकाले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समयसापेक्ष र व्यावहारिक भएको पुष्टि गरेको मेयर बालेन शाह बताउँछन् । गएको वर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४प्रतिशत) जना थियो । यस वर्ष ४८६ (१२.४२प्रतिशत) पुगेको छ । यो ५१ प्रतिशत वृद्धिदर हो । गएको वर्ष ६९७ (१७.६८प्रतिशत) जनाले ‘बी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए । यस वर्ष ८०४ (२०.५५प्रतिशत) जनाले ‘बी प्लस’ ग्रेड ल्याएका छन् । यो १६ प्रतिशत वृद्धि हो । गएको वर्ष ‘बी’ ल्याउने विद्यार्थीको संख्या ९६६ (२४.५०प्रतिशत) थियो । यस वर्ष ९७४ (२४.९०प्रतिशत) पुगेको छ । गएको वर्ष १००४ (२५.४६ प्रतिशत) को ‘सी प्लस’ ग्रेड आएको थियो । यस वर्ष ‘सी प्लस’ ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४प्रतिशत) पुगेको छ । यसको घट्दो प्रतिशत (–८ प्रतिशत) हो । यससँगै ‘सी’ ग्रेड ल्याउने विद्यार्थीको संख्या (–२९ प्रतिशत)ले घटेको छ । गएको वर्ष यस ग्रेडमा ६२० जना (१५.७२प्रतिशत) उत्तीर्ण थिए । यस वर्ष ४३५ (११.१२प्रतिशत) मा घटेको छ ।  महानगरभित्रका सामुदायिक विद्यालयमा यस वर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्याङ्कले देखाएको छ । 

शैक्षिक नतिजा सुधारबारे मेयर बालेन्द्र शाह भन्छन्, ‘गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन गर्यौ । गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन गर्यौ । उहाँहरूको संलग्नताले छात्रछात्राको शैक्षिक विकास कक्षा कोठाभित्र मात्र होइन । बाहिर समग्र रूपमा वृद्धि भएको छ ।’ 

उनी अगाडि भन्छन्, ‘९० जना शिक्षकलाई १० घन्टे आइसीटी इन एजुकेसन तालिम प्रदान गर्यौ । शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो । प्रविधिमैत्री सीप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाइ पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासका लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन् ।’ 

महानगरपालिकाले विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापमा जोड दिएपछि विद्यार्थीहरू पढाइमा थप रुचि राख्न थालेको र अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थालेको उनले बताए । प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाइ हब बनाएर शिक्षकहरूको सिकाइ अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन हुनुको नतिजा कक्षाकोठा र परीक्षा फलमा बिम्बित भएको उनले बताए । 

प्रतिक्रिया