शिक्षा, पण्डितबाट शुरु भएको हो । यहाँ पण्डित जात हैन । सत्कर्म हो । नियम हो । अनुशासन हो । समय हो । त्यो पण्डितमा तेज थियो । गुरुत्वाकर्षण थियो । डर थिएन । भर थियो । निराशा थिएन । भरोषा थियो । अविश्वास थिएन । विश्वास थियो । पण्डितलाई शिक्षा दिन छुट्टै भवन चाहिँदैनथ्यो । उसको आँगन नै काफी थियो । त्यो एउटा युग थियो । जो शिक्षकको थियो । गुरुको थियो । खासमा त्यति बेलाको पण्डितको थियो । घडि थिएन । तर पण्डितले घामको छाँया हेरेर सयम भनिदिन्थे । समाजमा कसैलाई ज्वरो आए कुन बोटको जरा वा पात खाने पण्डितलाई थाहा हुन्थ्यो । पण्डितसँग ति कुराहरु उपलव्ध हुन्थे । पण्डित यिनै कुरामा घोत्लिएर समय बिताउँथे । उनलाई शिक्षा दिक्षा दिने कोहि थिएन । आफै अन्वेषक थिए । खोजमै समय विताउँथे । शिक्षाका प्यासा थिए ।
दिक्षा धर्मसँग जोडिएको थियो । आचरणसँग जोडिएको थियो । सद्भावसँग जोडिएको थियो । शिक्षा दिक्षाको मुल मर्म सत्कर्मी मानव समाज निर्माण थियो ।
बुद्धले कतै तालिम लिएका थिएनन् । तालिम दिन न उनलाई वातानुकुलित कोठा चाहियो, न कम्प्युटर, न मल्टिमिडिया । उनी सहिमा गुरु थिए । खासमा पण्डित थिए । आचरणयुक्त । त्याग युक्त । त्याग नभै त कसरी पण्डित भईन्छ र ! उनलाई दिक्षा दिन पिपलको रुखनै काफी थियो । अन्तरमनलाई परिवर्तन गर्ने व्यवहारले हो । डिग्रीले होईन । डिग्री त खासमा कागज न हो ! त्यसमा सही आचरण छैन भने त खोस्टो नै हो । वुद्धले त्यही प्रमाणित गरिदिए । आज उनी यस्ता पण्डित भए जसको दर्शन संसारको आदर्श बन्यो । धर्म बन्यो । उनि त पण्डित पो बने । उनी यस्ता पण्डित भए जो अजम्बरी भए । हिरा ज्वहारातले भरीपूर्ण धनी त कति होलान्, कसले चिन्छ र ! उनी एक्लै हिँडेका थिए, तर बलिया थिए, अजम्बरी छन् ।
समयसँगै पण्डित बिस्तारै साधना बिमुख हुन थाल्यो । केही कुरा भन्न पण्डितलाई पुस्तक चाहिने भयो । आफ्नो तिक्ष्णता प्रयोगको सट्टा किताबका उद्दरण घोक्ने भयो । आचरण परिवर्तन हुन थाल्यो । पण्डित विस्तारै साँसारिक मनुवा हुन थाल्यो । उसको आहार, व्यवहार परिवर्तन हुन थाल्यो । घामको छाँया हेरेर समय बताउने पण्डितलाई पात्रो, घडि चाहिने भयो । अब पण्डित पण्डित रहेन । गुरुमा खस्यो ।
पकाएको खाने भन्दा काँचो खाने बलिया छन् । मांश खाने भन्दा शाकाहारी बलिया छन् । तिक्ष्ण बुद्धिका छन् । यसको अर्थ हो जति तिमी प्राकृतिक हुन्छौ, त्यति बलियो हुन्छौ । मानव तामसी हुँदै गए पछि उसको शक्ति क्षीण हुँदै गएको हो । बनावटी दाना खाएको मोटो खसी भन्दा कहिल्यै दाना नदेखेको हिँउ र जडिबुटिका जरा चपाएर हुर्केको च्याङ्ग्रो बलियो हुन्छ । आजका मनुवाले भेटेसम्म च्याङ्ग्रो खोज्न थालेका छन् । प्राकृतिक शक्ति कतै पाईहालिन्छ कि भन्दै ।
हामी पण्डितबाट गुरुमा झर्दै थियौँ । पण्डित भन्दा गुरु कम प्राकृतिक हुन थाल्यो । प्रकृतिबाट बिमुख हुन थाल्यो । अरुको भर पर्न थाल्यो । अरुको भर पर्नेले आफुलाई पुरै विश्वास गर्न सक्दैन । त्यसका लागि अरुको सहारा लिन्छ । गुरु साहरा लिनपर्ने ठाँउमा पुग्यो । तै पनि आचरणबाट बिमुख नभईसकेकाले गुरुमा अझै केहि दम थियो । स्वाध्यायनमा विश्वास गथ्र्यो । नियमितता र अनुशासन थियो । उ नेता थियो । तर उसको पार्टी थिएन । उसको पार्टी नै उ आफँै थियो । उसको निर्देशक थिएन । आफँै निर्देशक थियो । उसको निरीक्षक थिएन । उ आफै निरीक्षक थियो । उ अरुको डर मान्दैनथ्यो । बरु आफ्नै डर मान्थ्यो । आफ्नै भर मान्थ्यो । समय पालक थियो । त्यसैले उसलाई तालिम केन्द्र चाहिदैँनथ्यो । रातोदिन आफैँमा घोत्लिन्थ्यो । आचरणका लागि । नयाँ सोँचका लागि । सद्व्यवहारका लागि । त्यसैले शत बाँकी थियो । त्यसैले चेलाहरु थिए । आचरणयुक्त । समय गुरुकै दिशानिर्देशमा चल्थ्यो । राजनितिज्ञका लागि गुरु चाहिन्थ्यो । दरवारका लागि चाहिन्थ्यो । घरवारका लागि गुरु चाहिन्थ्यो । गुरु आदरणीय थियो ।
जोन हार्भर्ड चर्चका पादरी थिए । गुरु थिए । खासमा चर्चका पण्डित थिए । असल हुन विश्वबिद्यालयको डिग्री चाँहिदैन । उनिसँग डिग्री थिएन । थियो त सत्कर्म । सत्कर्ममा रमाउनेहरु नै खासमा समाजका अगुवा हुन् । उनले विश्वविख्यात हार्भर्डको जग हाले । महापुरुषले गर्ने नै सत्कर्मको जग बसाउने हो । त्यो उनले वसाले । ती पण्डित आज अजर, अमर छन् । आज पनि हार्भर्ड कम्प्लेक्समा मुर्ति बनेर । आफुले बनाउन चाहेको दुनिँया नियाली रहेका छन् । उनी एक्लै थिए । तर बलिया थिए । छन् ।
समयसँगै गुरु बाहिरी प्रभावमा आउन थाल्यो । उसको आचरणमा परिवर्तन आउन थाल्यो । उसको आहार व्यवहारमा परिवर्तन आउन थाल्यो । उ अव प्रकृतिबाट टाढा हुन थाल्यो । अनुशासनको मान्यता परिवर्तन भयो । उसलाई आफँैमा विश्वास कम हुन थाल्यो । गुरुको ध्यान शिक्षा दिक्षामा भन्दा बाहिरी कुरामा बढि हुनथाल्यो । आफैको गुरु अरुको सहारा खोज्ने भयो । समयको भुमरीमा गुरु यस्तरी फस्यो कि गुरु अव गुरु रहेन । तेज हरायो । मणि हरायो । गुरुको कस्तुरी हरायो । आश्रम भए पुग्ने गुरुलाई शिक्षालय नै चाहिने भयो । स्कुलमा किताव पुग्न दुई दिन ढिलो भए गुरु अलपत्र पर्ने भयो ! ठुलो समाचार हुने भयो ! अब उसलाई निर्देशक चाहिने भयो । निरीक्षक चाहिने भयो । प्रशिक्षक चाहिने भयो । अब गुरु, गुरु रहेन । शिक्षक भयो ।
शिक्षा दिक्षाका पण्डितहरुको कुरा गर्दा हामी जति पछाडि फर्कँदै जान्छौ त्यति शुद्धता पाँउछौँ । शिक्षा जस्तोसुकै ठाँउमा दिन सकिन्छ । त्यो शिक्षा जसले आचरण परिवर्तनमा भुमिका खेल्यो, खासमा त्यही सही शिक्षा हो । त्यो थाहा पाउँछौ । जति त्याग्यो त्यति बल प्राप्त हुन्छ । त्यो थाहा पाउछौँ । यस्ता उदाहरण धेरै छन् । आज यहाँ सबै कुरा भएर पनि केहि नभएको जस्तो छ हाम्रो शिक्षक !
किन ? यसको खोजी हो ।
हाम्रो शिक्षक तालिम प्राप्त छन् । स्वाध्यायनका धेरै स्रोत उसलाई उपलब्ध छन् । उसका कक्षा कोठामा शिष्य पनि छन् । तर ती शिष्यहरु गुरुका पछि छैनन् । साथ छैनन् । बाहिर निस्केपछि गुरु एक्लै हुन्छ । समाजले पनि गुरुलाई छड्के नजरले हेर्छ । सबै भएर पनि किन शिक्षक कमजोर छ ? किन विद्यार्थीले शिक्षकलाई विश्वास गर्दैन ? किन समाजले हिजो जस्तो गुरुको आदर गर्दैन ? किन शिष्यहरु भट्किएका छन् ?
“प्रजा मोटा भया दरवार बलियो हुन्छ ।” राजाका उक्ति हुन यी । आफु बलियो हुन आफ्नो शिष्य बलियो हुनुपर्छ । आजको शिष्य किन निर्बलियो छ ? केहि नहुने बेला बलियो थियो । सवै हुँदा किन निर्बलियो छ ?!
उत्तर खोज्दै जाँदा के भेटिन्छ भने हाम्रो विद्यालय, विश्वविद्यालयका गुरुले बलियो हुन खोजेनन् । बलियो शिष्य पनि खोजेनन् । सँगठन खोजे । सँगठनले द्रव्य खोज्यो । द्रव्यले साम, दाम, दण्ड, भेद खोज्यो । आज हाम्रो गुरुसँग दैलादैलामा सँगठन छन् । गुरु सर्वमान्य रहेन । कुनै सँगठनको भयो । सँगठनले दम्भ जन्मायो । दम्भले मै ठुलो बनायो । कसैले कमजोरी औँल्याउन नपाउने भयो । अब शिक्षक राजसी भयो । राजसीको ध्यान त्याग तपस्या र सत्कर्म तिर हुँदैन । शासन तिर हुन्छ । राजकाज तिर हुन्छ । हाम्रो शिक्षक शासन तिर लहसीन थाल्यो । उसको प्रथामिकता परिवर्तन भयो । सत्कर्म हैन । शासन उसको लक्ष्य हुन थाल्यो । अब उ पार्टी सदस्य बन्यो । जसको सदस्य छ उसैको वफादार हुन थाल्यो । उसले क्रमशः पण्डित बिर्सियो । गुरु धर्म बिर्सियो । शिक्षक बिर्सियो । पार्टीको डब्लुटि (धजयभि तष्mभच) बन्यो । पार्टिले पनि राज्य कोषको तलब खाएर हिड्ने सही कार्यकर्ता पायो । उसलाई पार्टीले खर्च दिनु परेन । उ शिक्षक लाईसेन्स प्रयोग गरेर तलब खान्छ । कर्म प्रति भन्दा पार्टी प्रति बफादार हुन्छ ।
उ बिसौँ बर्ष पार्टीमा लाग्यो । बन्द व्यापार गर्यो । उसको पार्टी सरकारमा पुग्यो । उसले बिसौँबर्ष पछि शिक्षकमा पुनर्वहाली पायो ! अब उसले शिक्षक भन्दा पार्टी कार्यकर्ता ठुलो भन्ने महशुस गर्यो । अब त यस्तो समय आयो, पार्टी नभै उ रहन नसक्ने भयो । शिक्षकका आफ्नै सँगठन छन् । त्यस भन्दा माथि आफ्नै पार्टि सँगठन छ । उसले देखेको छ । उसका सहयोद्धा मन्त्री छन् । साँसद छन् । अब उसको लक्ष्य साँसद, मन्त्री हुने हो । उ यति धेरै शक्तिको सदस्य छ, तर निर्बलियो छ । उसलाई शिष्यले चिन्दैन । पार्टीले मात्र चिन्छ । उ जुन धर्ममा लागेको थियो, त्यसको पण्डित अब रहेन । कसैको कार्यकर्ता भयो । आफ्नो जे थियो त्यो गुमायो । अब अर्काको भरमा पर्यो । अब शिक्षक कुनै झुण्डको भयो । लोकको भएन । आफ्नोपन गुमायो । कमजोर भयो ।
शिक्षक कमजोर हुनुमा क–कसको हात छ ?
पहिलो– शिक्षक आफ्नै । कसैले कसैलाई तबसम्म कमजोर बनाउन सक्दैन, जब सम्म उसको लक्ष्य निर्दिष्ट हुन्छ । आफैँमा स्पष्ट हुन्छ । कसैको बहकाउमा लाग्दैन । सदा आफ्नो लक्ष्यमा हिँड्छ । जुन दिन शिक्षक शिक्षकको लक्ष्य भन्दा पार्टीको लक्ष्यमा हिड्छ, उ आफैँले आफैँलाई कमजोर बनाउन शुरु गर्छ ।
दोस्रो– कर्मचारी । जो व्यवसायिक छैन । उसले पनि पार्टी हुदोँ काम गर्छ । आफ्नो विचार र पार्टी मिल्नेलाई नपढाए पनि सहयोग गर्छ । बढुवा गर्छ । पुरस्कृत गर्छ । बिसौँ बर्ष पार्टीमा लागेर पेन्सन हुने बेलामा शिक्षकमा फर्कन खोज्दा सहयोग गरिदिन्छ । यसको उल्टो नियमित काम गर्ने, उसलाई भेट्न नआउनेलाई उसले चिन्दैन । फलतः उसको नजिक हुने बढुवा हुन्छ । स्कुल नजिक हुने पछाडी पर्छ । शिक्षकलाई सहि बाटोमा हिँड्नबाट विमुख गराउँदै लैजानुमा कर्मचारी व्युरो दोस्रो जिम्मेदार हो । यसले सहि शिक्षकलाई कमजोर बनाएको छ ।
तेस्रो–सरकार । जो विना लक्ष्यको छ । आफ्नो पार्टी बाहेक कुनै पनि आदर्श उसमा बाँकी छैन । उसले शिक्षकलाई शिक्षा भन्दा बाहिरको जिम्मेदारीमा हिँडाउछ । शिक्षक भएर शिक्षकको काम नगरे पनि आफ्नो पार्टीको भए पछि पुरस्कृत गर्छ । सही शिक्षक त्यति बेला कमजोर हुन्छ । त्यतिबेला सही काम गर्नेको मनोबल गिर्छ । उसमा जाँगर मर्छ । त्यसपछि उ पनि क्रमशः यथास्थितिवादी हुँदै जान्छ । त्यसैले आज शिक्षक कमजोर छ ।
चामलमा विँया भएझैं असली शिक्षक नभएका होईनन् । ती असली चामलका विँया हुन् । दम्भको बोलवाला भएको बेला सत्य चुप रहन्छ । सही शिक्षक आज चुप छ । त्यसैले बल भएर पनि शिक्षक निर्बलियो छ । जहाँ शिक्षक निर्बलियो छ, त्यहाँको शिक्षा कसरी बलियो हुन्छ?
शिक्षक कहिले बलियो हुन्छ ?
जुन दिनदेखी शिक्षक अरु कहाँ जान छोड्छ त्यो दिनदेखी अरु शिक्षक कहाँ आउन थाल्छन् । जुन दिन देखी सबैले गुरु खोज्न थाल्छन्, त्यो दिन देखी गुरुको मान बढ्छ । जुन दिन देखी गुरुको मान बढ्छ, त्यो दिन देखी गुरु बलियो हुन थाल्छ । त्यो दिन देखी शिक्षाको गुणस्तर वृद्धिहुन सुरु हुन्छ । त्यो दिन देखी शिक्षा बलियो हुन थाल्छ । शिक्षा बलियो हुन त पहिला शिक्षक बलियो हुनुपर्छ ।
शिक्षा मन्त्रालयका पूर्व उपसचिव बस्याल पछिल्लो समय विभिन्न स्थानीय सरकारमा कार्यरत थिए ।
प्रतिक्रिया