Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

दृष्टिविहीन विद्यार्थीले पूस्तक नपाएरै शैक्षिक सत्र विताए     

सोमबार, १४ मंसिर २०७२

काठमाडौँ, १४ मङ्सिर । यसवर्ष भैरव उमावि नराकोट जुम्लामा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको शैक्षिक सत्र पाठ्यपुस्तकबिना नै बितेको छ ।   बे्रल लिपिमा लेखिएको पाठ्यपुस्तकको अभावमा कक्षा ६ र कक्षा ८ का विद्यार्थी अन्य विद्यार्थीसँग सुनेको भरमा अध्ययन गर्न बाध्य भएका छन् ।  

सरकारद्वारा विशेष कक्षाको व्यवस्था गरिएपछि यो विद्यालयमा अहिले २२ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये आठजना नेदरल्यान्ड फण्डको सहयोगमा इकफन नामक संस्थाद्वारा बनाइएको छात्रावासमा र १४ जना ज्ञान नेपालद्वारा निर्मित छात्रावासमा बसिरहेका छन् ।  

समय समयमा पाठ्यक्रम परिवर्तन हुने र बे्रल लिपिको पाठ्यपुस्तक छपाइ धेरै महँगो भएकाले उपलब्ध गराउनमा समस्या भएको जिल्ला शिक्षा कार्यालय जुम्लाका विद्यालय निरीक्षक खडानन्द चौलागार्इंले बताए ।  

कक्षा ८ मा अध्ययनरत एलिसा रावतले आफ्नो पढाइमा विद्यालय तथा शिक्षा कार्यालयले बेवास्ता गर्दा पढ्ने अधिकारबाट वञ्चित भएको बताइन् । 

कक्षा ६ का रंग कामीले सरसँग किताबका लागि बारम्बार भने पनि त्यसको कुनै सुनुवाइ नभएको गुनासो गरे । दुवै विद्यार्थीको एउटै पीडा थियो – “दैवले संसार नै अँध्यारो बनाएको थियो झन त्यसमा गुरुहरुले जीवन नै अँध्यारो बनाइदिए ।” 

जिल्ला अनुगमन समितिका सदस्य अमरबहादुर बुढ्थापाको नेतृत्वमा गएको टोलीको प्रतिवेदनले ब्रेल लिपिको पाठ्यपुस्तकबिना शैक्षिक सत्र समाप्त भएको देखाएको हो ।  नेदरल्यान्ड फण्डको सहयोगमा इकफन नामक संस्थाले १६ कोठे भवन २०५३ सालमा बनाएको भए पनि अहिले उक्त भवन जीर्ण अवस्थामा रहेको टोली नेता बुढ्थापाले बताए ।  

सो भवनमा न त खानेपानीको व्यवस्था छ न त चर्पीको नै । नेपाल सरकारले अहिले एकजना विद्यार्थी बराबर रु तीन हजार छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।   यो रकम खानामा मात्र पुग्ने गरेको विद्यालयका प्रधानाध्यापक दलबहादुर खत्रीले बताए । उनका अनुसार दृष्टिविहीनका लागि खाजाको पनि कुनै व्यवस्था छैन । 

(रासस)

 

प्रतिक्रिया