Edukhabar
शनिबार, ०६ पुस २०८१
खबर/फिचर

अरुकै भरमा परीक्षा, उत्तर लेख्दिने पाउन झन् मुस्किल

शुक्रबार, ०८ पुस २०७९

काठमाडौं - झट्ट हेर्दा उनका आँखा अन्य किशोरीहरुको जस्तै देखिन्छ । उनको आँखा हेरेपछि जोकोहीलाई पनि लाग्छ, ‘उनी देख्न सक्छिन् ।’ 

माथिको तस्बिरले पनि त्यही देखाउँछ ।

तर, वास्तविकता त्यो भन्दा निक्कै फरक छ । उनीसँग सुन्दर आँखा छन्, तर ती आँखामा कैद हुँदैनन्, तपाईं हामीले देखेजस्तै देख्ने दृष्यहरु !

उनी देख्न त देख्छिन् तर निक्कै मधुरो । आफूले देख्ने वस्तुलाई उनी यसरी प्रष्ट्याउँछिन्, ‘आँखा देख्ने मान्छे अघि कुनै प्लाष्टिक राखिदिँदा त्यो मान्छेले जस्तो दृष्य देख्छ म पनि शायद त्यत्ति चाहिँ देख्न सक्छु ।’

जन्मदै सुकेको आँखाको अप्टिक नर्भस् (दिमागले आँखालाई सिग्नल दिने) लिएर काठमाडौंको सिनामंगलमा जन्मिएकी सञ्जिया श्रेष्ठ त्रिभुवन विश्वविद्यालयमा सोसल वर्क (सामाजिक कार्य) मा स्नातकोत्तर तहकी विद्यार्थी हुन् । श्रेष्ठको परीक्षा शुक्रबार (पुस ८ देखि पुस १८ गते सम्म) बाट सुरु भएको छ । 

दोस्रो सेमेष्टरकि विद्यार्थी श्रेष्ठ भन्छिन् ‘म भिजुअलीइम्पायरर्ड हुँ, त्यसकारणले परीक्षामा मलाई एकजना सहयोगी चाहिन्छ । जसले मलाई प्रश्न भन्ने र मैले भनेको जवाफ कापीमा लेख्छ ।’

दृष्टिसम्बन्धी अपांगता भएकाहरुको मुख्य समस्या नै सहयोगी लेखक खोज्नुमा छ । जुन अहिले पनि उनी झेलिरहेकी छिन् । हत्तपत्त विश्वासिलो त्यस्ता मान्छे भेटिँदैनन् । त्यसैले यो क्षेत्रका विद्यार्थीलाई जस्तै सञ्जियालाई पनि त्यो भनाइ कण्ठ भइसकेको छ । 

‘आइ डन्ट ह्याब प्रब्लम, स्टे«स इन रिडिङ, मलाई पढ्नलाई स्टे«स छैन, मलाई राइटर खोज्नलाई धेरै स्ट्रेस छ ।’

स्कुलदेखि विश्वविद्यालय पढ्दासम्म पनि सोही समस्या भोगिरहेकी श्रेष्ठले प्लस टुमा पनि त्यही समस्या झेलेको बताइन् । एसएलसी पछि डिल्लीबजार स्थित एनआइसी कलेजमा प्लस टु र माइतीघर स्थित सेण्ट जेभियर्स कलेजमा स्नातक पढिन् । त्यहाँ उनले नेपाली विषय शिक्षक खेम प्रसाईं र देवेन्द्र पौडेलको सहयोग पाइन्, त्यो क्षण उनले बिर्सेकी छैनन् ।

‘उहाँहरुले प्लस टुकै विद्यार्थी, जो मनकारी हुन्छन्, सहयोगी हुन्छन्, उहाँहरुलाई मोटिभेट गरेर हाम्रो लागि भन्दिनु हुन्थ्यो, उहाँका अभिभावक सम्मलाई पनि भनि दिनुहुन्थ्यो’ उनले सम्झिईन् । तर अहिले पुनःत्यही समस्या दोहोरिँदा उनी दुःखी छन् ।

अरुलाई लेखाएर, अरुको भरमा लेखाएर विभिन्न परीक्षाहरु उत्तीर्ण गरेकी उनी भन्छिन्, ‘अरुलाई भनेर लेखाउँदा र आफैले लेख्दा त स्वभाविक रुपमा फरक हुन्छ नै । धित मर्ने गरी राम्रोसँग लेख्न त सक्दैन होला ।’ 

यसैले उनी सहयोगी लेखक विनै पनि परीक्षा दिन पाउने विकल्प दिनुपर्ने बताउँछिन् । 

नेपाल परिवार नियोजन संघ उपत्यका शाखामा अपांगता भएका व्यक्तिहरुको लागि काम गरिरहेकी उनलाई धित मर्ने गरी परीक्षामा लेख्ने धोको छ ।

‘कोहीले कम्प्युटरबाट परीक्षा दिन सक्छ, कम्प्युटरमा राम्रो दक्खल छ भने किन नहुने ?’ प्रश्न गर्दै उनी अघि भन्छिन्, ‘बरु कम्प्युटरै देओस्, प्रश्न पनि कम्प्युटरमै आओस् ।’

उनका बुबा (गंगाराम) व्यवसायी हुन् भने आमा (बिणा) अन्तर्राष्ट्रिय फिफा रेफ्री । उनले कक्षा ३ देखि कीर्तिपुरको ल्याबरोटरी स्कुलमा पढिन् र सोही स्कुलबाट एसएलसी पनि उत्तीर्ण गरिन् । कम दृष्टिका विद्यार्थीका लागि सरकारले ब्रेल माध्यमबाट पठनपाठन गराउने प्रबन्ध गरे पनि सानै बेला देखि उनको ध्यान त्यता तिर खासै गएन । उनी सानो बेलादेखि नै सुनेर पढ्ने गर्थिन् । उनले कक्षा शिक्षकहरुको कक्षा टुटाइनन् । सुनेर पढ्ने बानी पारिसकेकी उनलाई ब्रेलमा भन्दा सुनेरै बुझ्नेमा बढी रुचि भयो । पछि बुझिन् पनि, ‘ब्रेलमा धेरै कुराहरु छैनन् ।’

अहिलेसम्म उनले तीन तरिकाले परीक्षा दिएकी छन्, सहयोगीको भरमा, भनेरै (ओरल्ली) र ल्यापटप मार्फत् । 

‘बोर्ड इक्ज्याममा चाहिँ, डिअर इज नो अदर अप्सन द्यान ह्याबिङ अ राइटर, अर्को ओरल्ली दिएको छु । सरलाई नै तपाईं प्रश्न सोध्नुस्, म एन्सर दिन्छु भन्छु, त्यसको बेसमा मूल्यांकन गर्नुस् भन्ने गरेकी छु, अर्को म ल्यापटपमा इक्ज्याम दिन्छु, पेनड्राइभमा राख्दिन्छु, त्यो हेरेर मूल्यांकन गर्नुस् भन्ने हो’ उनी भन्छिन् ।

परीक्षाको समयमा मात्र हैन, पढिरहँदा पनि थुप्रो समस्यासँग जुध्न बाध्य छन्, दृष्टिविहीनहरु । विभिन्न अनलाइनहरुमा रहेका सामग्रीहरु सो खाले फरक क्षमता भएकाहरुको पहुँच बाहिर रहेको उनको अनुभव छ । 

‘हामीलाई सजिलो हुने भनेको डेजीबुक्सहरु हुन्, सबै कुराहरु डेजी फरम्याटमा हुँदैनन् ।’

त्यसका लागि उनले पढाउँदा नै शिक्षकले बढी मिहिनेत गर्नुपर्ने र कक्षामा आफूजस्ता व्यक्ति पनि विद्यार्थी छन् भन्ने बुझेर पठनपाठन गराउनु पर्ने बताइन् । 

‘पढाउँदा नै अलि बढी अडियो डिष्क्रिप्सन गर्ने, प्रिजेन्टेशनहरु रिड आउट गरिदिने गर्दा सपोर्ट हुन्छ ।’

जन्मदै सुकेको नर्भस्को उपचार अहिलेसम्म पाइएको छैन । तर पनि उनले हरेश खाएकी छैनन् । 

परीक्षाको संघारमा उनी प्रायः पिरलोमा पर्छिन् । प्राय ः परीक्षाहरु (प्लस टु, ब्याचलर, माष्टर) पनि जुध्छन् । त्यसले गर्दा प्लस टुलाई स्कुल पढेको सहयोगी लेखक पाउन गाह्रो । स्नातकलाई प्लस टुको र माष्टर्सलाई ब्याचलरको पाउन गाह्रो । यही गाह्रोको मारमा दृष्टिविहीनहरु पर्ने गरेको उनको अनुभव छ ।

लेखन सहयोगी राखी परीक्षा दिँदा सहयोगीले विश्वविद्यालय वा सम्बन्धित निकायबाट स्वीकृत गराउनुपर्ने अर्को बाध्यता छ । सो प्रक्रिया स्पस्ट नहुँदाको झण्झट भनी साध्य छैन ।

दृष्टिविहीन परीक्षार्थीले लेखन सहयोगी बन्दोबस्त गरी परीक्षा दिँदा थप समय त पाउँछन्, त्यसका लागि ‘झगडा’ गर्नुपर्ने स्थिति छ । उनी भन्छिन्, ‘दिँदै आएको थप समय पाउन पनि निकै गाह्रो छ, अनुरोध गरी गरी बुझाउँदा पनि कहिलेकाहिँ दूव्र्यवहार खेप्नुपरेको छ ।’

दृष्टिविहीन परीक्षार्थीको समस्यालाई अक्सर सबै तह, निकाय र व्यक्तिहरुले साधारण रुपमा लिँदा परीक्षा भर मानसिक पीडामा रहन बाध्य रहेको उनीहरुको साझा समस्या हो ।
अन्तिममा उनको फेरि जोड छ ः ‘सबैले हामी जस्ता पनि छौं है भन्ने भित्रै देखि बुझिदिए पनि धेरै राहत महशुस गथ्र्यौं ।’

प्रतिक्रिया