Edukhabar
मंगलबार, ११ मंसिर २०८१
विचार / विमर्श

शिक्षकले आफूलाई आफैले छानोस्

शुक्रबार, ०१ पुस २०७९

हामीसँग ३० हजार विद्यालय छन् । ती विद्यालय मध्ये १५ हजार विद्यालयमा त शिक्षक अभाव छँदैछैन । ७ हजार अरु विद्यालयहरुमा पचास भन्दा कम विद्यार्थी छन् । यदि त्यसो हो भने झण्डै ७/८ हजार विद्यालयहरुमा मात्र शिक्षक समस्या रहेछ । सामुदायिक विद्यालयमा शिक्षक अभावको विषयलाई हामी यसरी पनि हेर्न सक्छौं । 

दोस्रो विश्लेषण : शिक्षक बढी भएको तर विद्यार्थी कम भएको ठाउँमा शिक्षाको गुणस्तर छ कि छैन ? ती विद्यालयमा गुणस्तरीय शिक्षक समस्या हो कि ? त्यो हो भने गुणस्तरीय बनाउन पालिकासँग हामीले समन्वय गर्ने पाटो छ कि छैन ? केही शिक्षकहरु गर्न खोजिरहनु भएको छ । गर्न खोजेका शिक्षकलाई मेसो मिलेको छैन । मेसो मिलाउनका लागि वातावरण बनाउने कि ?

तेस्रो : दरबन्दी नपुगेको हो कि शिक्षक ? सरकारको भाषामा दरबन्दी स्वीकृत नभएको, शिक्षक नभएको त हैन नि ! विद्यालयमा शिक्षक रैछ, तर दरबन्दी रैनछ । दरबन्दी छैन भनेको चैं अनुमति प्राप्त विद्यालय बनाइयो, स्वीकृति नभए पछि दरबन्दी हुँदो रहेनछ । त्यो विषयमा पनि सोच्नुपर्ने भयो । दरबन्दीको अभाव हो कि, शिक्षकको अभाव हो कि अथवा अनुमति दिने तर त्यसलाई स्वीकृति दिने सरकारको चलन चल्तीको समस्या हो ?

चुनौति कहाँ छ भने विद्यार्थी अनुसार शिक्षक दिने कि कक्षाकोठा अनुसार शिक्षक दिने ? त्यो बारेमा पनि गम्भीरता पूर्वक सोचौं । किनभने अहिलेसम्मको शिक्षकको हिस्सा भनेको कक्षा अनुसारको हो । तर, यथार्थ के भयो भने विद्यार्थीको संख्या घट्दै जाने, पहाड तिर विद्यार्थीको संख्या घट्दै गयो, मधेशमा अलि अलि छ । 

अब विद्यार्थीको आधारमा शिक्षक दिने कि (नर्वेजियन देशमा विद्यार्थीको आधारमा दिन्छ), कक्षाकोठाको आधारमा दिनुपर्छ भन्ने माग चाहिँ शिक्षक महासंघको हो । यो दुईटामा कहाँनिर तालमेल मिलाउने ? सरकारको नीति दुई जना, तीन जना, यत्ति न्यूनत्तम भन्ने भाषा छ, यसलाई पनि गम्भीरतापूर्वक सोचौं ।

अर्को, ७१ वटा विद्यालयमा मात्र सबै विषयका दरबन्दी शिक्षक छन्, माध्यमिक तहमा । त्यसो हो भने अमेरिकीहरुले पनि एउटा तरिका के गरेका छन् भने विषय शिक्षक दिन सकिँदैन तर एउटै शिक्षकलाई दुईटा÷तीनवटा विषयमा विज्ञ बनाउन सकिन्छ कि सकिँदैन ? भनी अभियान चलाएको देखिन्छ । हामीले पनि त्यसो गर्ने हो कि ? सोचौं । त्यसलाई गम्भीरताका साथ लिउँ । म सामाजिक शिक्षक, सामाजिक शिक्षक मात्र पढाउँछु भन्ने शिक्षक अब काम छैन । त्यसरी पनि शिक्षक अभाव टार्न सकिन्छ ।

अर्को, प्रविधिको प्रयोगमा शिक्षक अभाव टार्न सकिन्छ । यसबारेमा त्यो सोचको अभाव कि शिक्षकको अभाव हो ? माथिल्लो कक्षाको विद्यार्थीले तल्लो तहको विद्यार्थीलाई पढाउने त हाम्रो चलनचल्ती हो । त्यसले त शिक्षक बनाउँदो रहेछ । प्राइभेट स्कुलले गर्ने पनि त्यही हो । उसले पास आउट भएका विद्यार्थीमध्ये राम्रो र आफूलाई मनपर्ने मान्छे समाएर ल्याउँछ । उनीहरु त्यसरी गर्दा रहेछन्, हामीलाई यो बुद्धि नै नआएको हो वा खाली शिक्षक भएन, भएन मात्र भनिरहने हो ?

त्यसैले सोचको अभाव हो । प्रविधि एउटा पाटो हो । शिक्षक नभएको बेलामा प्रविधि प्रयोग गर्न मिल्दैन र ? यो सोच किन आएन ? शिक्षक, शिक्षक मात्र भनेर के गर्ने ? म त बारम्बार भनीरहेको छु, शिक्षक पाले निहुँ खोज्छ, प्रविधि पाले निहुँ खोज्दैन । प्रविधिले अराएको काम गर्छ । त्यसैले अलिकति गम्भीरताका साथ सोचौं, अब प्रविधि भित्र्याउने हो कि शिक्षक भित्र्याउने हो ? किन भने अबको केटाकेटीले शिक्षकसँग पढ्दैनन्, शिक्षक भुत्ते छ, त्यो भुत्ते शिक्षकसँग पढ्दैनन्, दुईचार शिक्षक अब्बल होलान्, त्यो बेग्लै हो, नत्र भुत्ते शिक्षक, चर्को विद्यार्थी, बरु प्रविधि काम लाग्छ, शिक्षक काम लाग्दैन । यो स्थितिमा एकदमै गम्भीरताका साथ सोचौं, जसले गर्दा प्रविधिलाई सहायक पनि बनाउन सक्छौं, मालिक पनि बनाउन सक्छौं, कहिलेकाहिँ सिक्ने, सिकाउने काम पनि गर्न सक्छौं ।

शिक्षक तयारी साँच्चै समस्याको रुपमा रहेको छ । शिक्षक को आयो भन्ने प्रश्न रहेन अब, आएको शिक्षकलाई तयारी गर्ने हाम्रो नेटवर्क नै भएन । संघीय सरकारको थियो, टुट्यो, प्रदेश सरकारले जिम्मै लिएन, सक्यो, त्यसपछि स्थानीय सरकारले आफ्नो सुरमा कहिँ कहिँ गरिरहेको देखिन्छ ।

शिक्षक तयारी प्रविधि मार्फत जाने हो कि, फेस टु फेस मार्फत् जाने हो कि ? शिक्षक महासंघ मार्फत् जाने हो वा कुन तरिकाबाट जाने हो ? सोचौं । अब त्यतातिर जान सकेन भने शिक्षक तयार गर्न सकिन्न । शिक्षक हिजोको तरिकाले पढाइ रहेको छ, आजको विद्यार्थीलाई हिजोको तरिकाले कामै गर्दैन । त्यो शिक्षक, विद्यार्थी, अभिभावकले नि बुझेको छ । शिक्षकको तयारीका सन्दर्भमा मेसिन सहायक हुन सक्छ है,म मान्छे सहायक हुन्छ भन्ने पक्षमा छैन । 

वास्तवमा सबै शिक्षकलाई एउटै डालोमा हाल्न मिल्दैन । शिक्षकको ल्याकत कसो गर्ने भनेर सोचौं । टिका भट्टराईहरुले निर्वाचनको बेलामा तपाईं कसलाई भोट हाल्नुहुन्छ ? शिक्षालाई चासो दिनेलाई भोट हाल्नु हुन्छ कि हुन्न ? भनेर सेल्फ एसेस्ट गर्ने मटेरियल्स बनाउनु भयो । त्यो मटेरियलमा माथिबाट फाराम भर्दै भर्दै जान्छ, तल गएपछि म चाहिँ कसलाई भोट हाल्दो रहेछु, कुन खालेलाई भोट हाल्दो रहेछु भन्ने थाहा हुन्छ । त्यही प्रविधिलाई प्रयोग गरेर शिक्षकले आपूmलाई म चाहिँ अब्बल, दोयम, सिम, चाहार के हो ? भनेर आफैले छानोस् । हामीले छान्यो भने निहुँ खोज्छ । उसैले छान्यो भने कुरा बुझ्छ । अब्बल हो भने सम्मान पाउँछ, दोयम हो भने अब्बलसँग जोडा माग्छ, सिम हो भने प्रश्न माग्छ, चाहार हो भने जागिर छोडेर भाग्छ । यसलाई प्रष्टताका साथ गरौं । किनभने अब यो माया गरेर शिक्षकको तलब पुगेन, शिक्षकलाई यस्तो पुगेन भन्ने जस्ता थाङ्ना कुराकानी बन्द गरौं ।

मैले थाङ्ना शब्द किन भनेँ भने अति भयो । तलब दिँदा पनि काम गरिरहेका छैनन् भने अब के चाहिँ गर्ने ? शिक्षकलाई गाली गर्यो भन्नु होला, गाली गर्नुपर्ने अवस्था नै पुगिसक्यो, किनभने हाम्रो सम्मान हामीले गरेको राम्रो कामबाट आउने हो ।
समस्या कहाँ छ ? नियुक्तिमा हो कि, तयारीमा हो कि ? शिक्षकको मानसिकतामा हो कि ? दलमा हो कि ? योबारेमा सोच्न जरुरी छ ।

अहिले आक्रामक रुपमा निजीको वकालत गर्ने जमात ठूलो हुँदै आएको छ । निजी यत्ति बलियो भएर आएको छ कि यो शिक्षा नीजि हो कि के हो ? यो शिक्षा बुर्जुवा हो कि के हो भनेर पूर्व प्रधानमन्त्री केपी ओलीसँग कुरा गर्दा उहाँले के जवाफ दिनु भयो भने, तपाईं प्राध्यापकहरुले के बुझ्नु भा छ ? शिक्षा भनेको बुर्जुवा पनि हुँदैन, के पनि हुँदैन । बुर्जुवाले पढाए पनि पढाउने त्यही पाइलट हो, सर्वहाराले पढाए पनि पाइलटै बन्छ । यो चिन्तन भएकोले प्राइभेटको मालिक हाम्रै सरकारका मान्छे हुन् । काँग्रेस पनि हो, एमाले पनि हो, माओवादी पनि हो, जनतावादी पनि हो, समाजवादी पनि हो । भएजति जम्मै हो । तिनै मालिकले आफ्नो स्वार्थ भन्दा पर जान दिएको छैन । अब हामीले मालिकसँग सहकार्य गर्ने कि मालिकको विरुद्धमा सार्वजनिक शिक्षाको वकालत गर्ने ? 

राम्रो गर्ने शिक्षकको बिजोग भएको छ । सम्मान पाइएन भनेर भनेको त नराम्रो गर्नेले भनेको होला । राम्रो गर्नेले सम्मान पाएकै छ । शिक्षक सरुवा हुँदा बच्चाहरु रुँदैरुँदै गरेको दृष्य सम्झौं त ! सम्मान त दिँदो रहेछ । कसले सम्मान दिने भन्ने प्रश्न हो नि । बच्चाले सम्मान दिएको सम्मान हैन ? भोलिको नागरिक त तिनै हुन् । नेताले दिएको सम्मान मात्र सम्मान हुन्छ ? यो पनि सोचौं, किनभने पेशालाई खोज्ने बच्चासँग, सम्मान खोज्ने नेतासँग, अनि कहाँबाट हुन्छ ? 

यदि त्यसो हो भने हामीसँग अर्को बाटो छ । त्यो बाटो भनेको राम्रो गर्ने मान्छेको डेटाबेस हामीले तयार पारौं । त्यो पालिकामा पनि छैन, प्रदेशमा पनि छैन, संघमा पनि छैन, शिक्षक महासंघमा पनि छैन, कोहीसँग पनि छैन । शिक्षा मन्त्रीसँग पनि छैन ।
राजनीतिमा दलीयता हाम्रो सम्पत्ती भइसक्यो । अब तपाईं दल हुँदैन भनी जे जे भन्नुस् भन्नुस्, तर दल नभइकन उपाय नै छैन । किन भने शिक्षक बन्न दलै चाहिने, शिक्षक नेता हुन्न दलै चाहिने, शिक्षक महासंघका लागि पनि दलै चाहिने, अब अन्तरदलीय चिन्तन बढाउन बल गरौं । 

शिक्षक अभाव भन्दा पनि सोचको अभाव हो, प्रविधिसँग जोड्ने समस्या हो, दरबन्दी स्थानान्तरणको समस्या हो । भएको शिक्षकलाई अरु विषयमा दख्खल नबनाउनु समस्या हो ।

शिक्षक मासिकको आयोजना र शिक्षा पत्रकार समूहको संयोजनमा बिहीबार काठमाडौंमा आयोजित ‘शिक्षक अभाव : कारण र परिणाम’ विषय कार्यक्रममा कोइरालाद्वारा व्यक्त विचारको सम्पादित अंश ।

उक्त कार्यक्रमसँग सम्बन्धित खबर पढ्नुहोस् : माथेमा सर आक्रोशित, बिग्रेको शिक्षा क्षेत्र ‘बयान’ गर्ने शब्दै भेटिएन !

प्रतिक्रिया