Edukhabar
बुधबार, १९ मंसिर २०८१
विचार / विमर्श

पढाउने चासो भन्दा बढी सरुवा मिलाउने ध्यान !

सोमबार, २६ मंसिर २०७९

मुस्ताङको थासाङ गाउँपालिकामा रहेका विद्यालयहरुमा विद्यार्थी संख्या कम छन् । हाम्रोमा अधिकांश विद्यालयहरुमा नेपाल सरकारले तोकेको विद्यार्थी संख्या कक्षाकोठामा छैनन् । त्यसकारण यहाँका विद्यालयहरुले बाहिरबाट विद्यार्थी ल्याइ रहेका छन् । जसकारण मुस्ताङी स्थानीय विद्यार्थीले पाउनुपर्ने सुविधा बाहिरका विद्यार्थीले पाइरहेको अवस्था छ । 

यहाँ रहने शिक्षकहरु पनि कुनै अस्पतालका डाक्टर भन्दा कम छैनन् । हाम्रोमा रहेका स्वास्थ्य चौकीहरुमा जसरी डाक्टर जान मान्दैनन्, यहाँका विद्यालयमा पनि शिक्षक आउन मान्दैनन् । ती ठाउँमा शिक्षक आउन नमान्नुको खास कारण कमाइ नै हो । शहर, बजार वा काठमाडौं जस्तो ठाउँमा कमाई प्रशस्तै हुन्छ । तर, यहाँ जागिर बाहेक अरु केही हुन्न । त्यो भएर शिक्षक पनि मुस्ताङमा आउन रुचाउँदैनन् । आईहाले पनि अन्त नपाउञ्जेल यहाँ बस्छन्, अनि यहाँ बसुन्जेल पनि सरुवामै बढी ध्यान लगाउँछन् । उनीहरुलाई पढाउने चासो र चिन्ता भन्दा बढी कहिले यो ठाउँबाट सरुवा मिलाउँ भन्ने ध्यान हुन्छ । त्यही ध्यानले कहिले के, कहिले के भन्दै विद्यालय नै जाँदैनन् । कतिपय शिक्षकहरु त राजनीतिक दलका नेताहरुलाई भेट्नमै समय बिताउँछन् ।

आफूलाई जसरी भए पनि त्यो ठाउँबाट सरुवा गर्न भन्छन् । अनि केही महिना बसेर सरुवा हुन्छन् । शिक्षाको गुणस्तर कम हुनुको कारण त प्रष्ट छ ः तीन महिना त विद्यालयनै बन्द हुन्छ । तीन तीन महिना विद्यालय बन्द कुन ठाउँमा हुन्छ ? संसारको कुनै पनि देशमा हुँदैन । हाम्रोमा मात्र हुन्छ ।

हिमाली भेगमा विद्यालयका भौतिक संरचनाहरु पनि त्यही अनुसारको बनाउनु पर्यो । नेपालभर सबै, एउटै खाले, एउटै प्रकृतिको बनाएर हुन्न । हिमाली भेगमा चिसोबाट बच्ने खालको संरचना बनाउनु पर्यो । त्यहाँ पनि बाह्रै महिना पठनपाठन गराउनका लागि सरकारले नीति ल्याउनु पर्यो । त्यो अनुसारको भौतिक सुविधाको बन्दोबस्त गरिदिनु पर्छ । जस्तो यो ठाउँका लागि चिसोबाट बच्न हिटरको बन्दोबस्त गर्ने कि वा अरु नै उपाय के हुन सक्छ ? त्यो उपाय लगाउनु पर्यो ।

हिमाली भेगमा पनि अत्याधुनिक शैक्षिक भवन बनाएर जाडोको समयमा पनि कुनै बाधा र व्यवधान विना पठनपाठन हुने वातावरणका लागि सरकारले सोच्नुपर्यो । अमेरिकाको अलास्का पनि त चिसो ठाउँ हो । त्यो ठाउँमा पनि त मान्छे बसिरहेकै छन्, विद्यार्थी पढिरहेकै छन् । उनीहरु बाह्रै महिना त्यहाँ बस्न सक्छन् भने हाम्रो मुस्ताङमा किन सक्तैनन् ? त्यसका लागि त त्यही किसिमको भौतिक संरचनाको डिजाइन गर्नुपर्यो । कक्षाकोठा तातो हुने, छात्रावास न्यानो हुने प्रविधि दिनुपर्यो । सरकारले शिक्षामा गरेको लगानीलाई हिमाली भेग सुहाउँदो गर्नुपर्यो ।

सरकारले हिमाली भेगका विद्यालयमा जाने शिक्षक तयार गर्नुपर्छ, गएका शिक्षकलाई टिकाई राख्ने नीति र वातावरण बनाउनुपर्छ । कम्तीमा पनि सरकारले प्रत्येक स्थायी शिक्षकको अनिवार्य सरुवा गर्ने नीति बनाएर, ती शिक्षकलाई आफ्नो शिक्षण जीवनको यति चाहिँ समय हिमाली क्षेत्रमा बिताउनै पर्छ भन्ने अनिवार्य गरेको भए, हिमाली भेगका विद्यालयहरु पनि अन्य ठाउँका जत्तिकै राम्रा हुने थिए । विडम्बना हाम्रा शिक्षकलाई कसले चलाउनू ? सुगममा मात्र बसेर अवकाश पाउने कयौं शिक्षकहरु छन् । जीवनभर सरुवाको स पनि नसुनी रिटायर्ड हुने शिक्षकहरु छन् । 

राम्रा शिक्षकलाई यहीँ बसाउनका लागि कतिपय अवस्थामा गाउँलेहरु आफैं मिलेर, आर्थिक संकलन गरेर पनि शिक्षकलाई टिकाएको अवस्था पनि छ । त्यसलाई नै गाउँपालिकाले पनि एउटा राम्रो अभ्यासको रुपमा लिएर शिक्षक टिकाउन सकिन्छ कि भनेर हामीले प्रारम्भिक छलफल गरेका छौं । संघीय सरकारबाट दिने पारिश्रमिक लिएर आएका राम्रा र टिक्ने शिक्षक आउने हो भने हामी गाउँपालिकाले पनि उसको पारिश्रमिक रकम थप गरी शिक्षक टिक्ने वातावरण बनाउन सक्छौं । त्यसका लागि पहिला त शिक्षक आफै पनि हिमाली क्षेत्रमा जान्छु, पढाउँछु, त्यहाँ टिक्छु भन्ने मानसिकताका हुनुपर्यो ।

मुख्य कुरा काठमाडौंलाई मात्र हेरेर सरकारले शिक्षा नीति बनाउनु भएन । सरकारको यही खोटको सिकारमा हामी परिरहेका छौं ।

मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष गौचनसँग गरिएको कुराकानीमा आधारित ।

प्रतिक्रिया