Edukhabar
विहीबार, २७ मंसिर २०८१
विचार / विमर्श

प्रभावकारी शिक्षणमा कक्षाकोठाको सिकाइ व्यवस्थापन

आइतबार, २५ मंसिर २०७९

स्कुल पढ्ने बेला टिफिन समय सकिएपछि कक्षामा बसेर सरको भाषण सुन्दा कहिले चार बज्ला र हिँड्न पाइएला भन्ने लाग्थ्यो । अझ त्यसमाथी सानो सानो कुरामा पनि वास्तविकता बुझ्दै नबुझि सरले हप्काएको र डस्टरले हत्केलामा हिर्काएको पनि याद आउँछ । कक्षाकोठामा बस्दा पट्यारलाग्दा र आफूले प्रतिकुल महसुस गरेका यस्ता धेरै उदाहरणहरु छन् । विद्यार्थीकालका यी र यस्ता यादहरुलाई अहिले एउटा शिक्षकको भूमिकामा रहेर कति बुझ्न सकियो वा सकिएन, त्यो आफ्नै ठाउँमा छ । तैपनि थोरै भएपनि कक्षाकोठाको सिकाइ सहजीकरहणको वातावरणका सम्बन्धमा उचित ध्यान दिएर विद्यार्थीको दैनिकीलाई सहज बनाउन सकियो भने मात्रै सिकाइ सहजीकरण प्रभावकारी बन्न सक्छ भन्ने कुरामा भने विश्वास छ । 

असल शिक्षक बन्न चाहने मान्छेले कक्षाकोठामा शिक्षकको शासन कि सहजीकरण भन्ने विषयमा सजग हुन सकिएन भने सायद शिक्षकको भूमिकामा आफुलाई राख्नु व्यर्थ सम्झनुपर्छ । तसर्थ कक्षाकोठामा एउटा शिक्षकले उपयुक्त सिकाइ वातावरण निर्माण गर्न सकेको खण्डमा मात्र सिकाइ प्रभावकारी, गुणस्तरीय र दिगो बन्न सक्छ । 

सामान्यतया कक्षाकोठाको व्यवस्थापनदलाई यसको भौतिक सजावट र सामग्री व्यवस्थापनको विषयमा केन्द्रित हुने चलन छ । भौतिक वातावरणले मात्र कक्षाकोठाको वातावरण बालमैत्री बन्न सक्दैन । भौतिक वातावरण सिकाइ वातावरण निर्माण गर्ने आधार मात्र हो । विशेषगरी हाम्रो ध्यान कक्षाकोठामा सामग्री व्यवस्थापनमा केन्द्रित भइरहेको हुन्छ तर सिकाइ वातावरण कस्तो छ भन्नेतर्फ कमै ध्यान गएको देखिन्छ । कक्षाकोठामा विद्यार्थीले मनोवैज्ञानिक रुपमा सहज र आत्मसम्मान तथा उत्साहका साथ सिकाइमा सहभागि हुने वातावरण तयार गर्नु कक्षाकोठाको सिकाइ वातावरण निर्माण हो । शिक्षण एउटा कला हो, शिक्षक उक्त कलाको प्रस्तुत गर्ने कलाकार हो । त्यसैले शिक्षकले कक्षाकोठामा गर्ने व्यवहार, उसको प्रस्तुती र उसले छनोट गर्ने शिक्षण विधिले कक्षामा सिकाइ वातावरण निर्धारण गर्दछ ।   

सामान्यतया बालबालिकाहरु न्यूनतम ६ घण्टा विद्यालयमै रहने गर्छन् । अझ कतिपय बेला विद्यालयको अतिरिक्त कक्षा, क्रियाकलाप आदिका नाममा दैनिक दश घण्टासम्म बालबालिको समय विद्यालयमै बित्छ । सिकाइको लागि दिइने दबाब एकातिर छँदैछ अर्कोतिर पट्यालाग्दो दैनिकी उनीहरुको लागि असाध्यै कष्टकर बन्दछ । कक्षाकोठाको सिकाइलाई प्रभावकारी बनाउन कक्षा व्यवस्थापन आधारभुत विषय हो । कक्षाकोठाको व्यवस्थापन यसमा मात्र सीमित नरही सिकाइ व्यवस्थापनमा पनि उत्तिकै ध्यान जानु जरुरी छ । कक्षाकोठाको सिकाइ व्यवस्थापनका केही मुख्य पक्षहरु निम्नानु्सार छन् ।  

उपयुक्त शिक्षण विधिको छनोट 

शिक्षण बिधि शिक्षणलाई उद्देश्यमूलक बनाउने मुख्य तरिका हो । सिकाइको विषयवस्तु, विद्यार्थीको स्तर, उपलब्ध भौतिक सुबिधा, विद्यार्थीको मनोविज्ञान आदिलाई विश्लेषण गरी कक्षाकोठामा शिक्षकले सिकाइ सहजीकणको उपयुक्त विधिको छनोट गर्नुपर्दछ । कुन शिक्षण विधि उपयुक्त हुन्छ भन्ने कुरा कक्षाकोठाको वातावरणमा भर पर्दछ । कक्षाकोठाको भौतिक र मनोवैज्ञानिक वातारवणसँग अनुकुल शिक्षण विधि छनोट गर्ने कला शिक्षकसँग हुनु पर्छ अनिमात्र सिकाइ व्यवस्थापन प्रभावकारी बन्न सक्छ ।

कक्षाकोठाको बसाइ 

कक्षाकोठामा बसाइको व्यवस्थापनले सिकाइ वाताबरणमा निकै प्रभाव पारेको हुन्छ । दैनिक रुपमा एकै किसिमको बसाइले विद्यार्थीमा दिक्दारीपन बढाउँछ । यसको लागि फर्निचरहरु समयसमयमा फरक फरक तरिकाले राख्ने, समूहहरु फेरबदल गरिरहने र जिम्मेवारीहरु पनि अदलबदल गरिरहने हुनुपर्दछ । सकेसम्म कक्षाकोठा पनि समयसमयमा साटफेर गराउने गरियो भने विद्यार्थीको बसाईमा नयाँपन भइ सिकाइप्रति उत्साह बढाउन मद्दत गर्दछ । 

विद्यार्थीप्रति शिक्षकको व्यवहार 

शिक्षकले प्रदर्शन गर्ने व्यवहार विद्यार्थीका निम्ति जीवन दृष्टान्त हो । शिक्षकका हरेक व्यवहारलाई उनीहरुले नजिकबाट नियलिरहेका हुन्छन् र उक्त व्यवहारका आधारमा शिक्षकप्रतिको दृष्टिकोण निर्धारण गर्दछन् । विद्यार्थीले सबै शिक्षकलाई सकारात्मक रुपमा स्वीकार नगर्नुको एउटा कारण यही नै हो । जब विद्यार्थीले शिक्षकलाई सकारात्मक र आत्मीय रुपमा स्वीकार गर्दैन त्यसबाट उसको सिकाइप्रति विश्वास र जागरण पैदा हुँदैन । त्यसैले शिक्षक र विद्यार्थीबीच कक्षाकोठामा आत्मीयता कायम हुनु पर्दछ । त्यसका लागि सधै सकारात्मक प्रतिक्रिया दिइ हौैसला प्रदान गर्ने, व्यक्तिगत समस्यालाई बुझ्ने, मिठो बोलीबचन, नामबाट सम्बोधन, शिष्टाचार सूचक शब्दहरुको प्रयोग र सम्मानजनक व्यवहार देखाउने जस्ता कुराहरु महत्वपूर्ण हुन्छन् । जसले कक्षाकोठामा अनुकुल सिकाइ वातावरण तयार गर्न मद्दत गर्दछ । 

सबैलाई सहज र समान अवसर 

विद्यार्थीसँग आ–आफ्नै किसिमका अन्तरवैयक्तिक सीपहरु हुन्छन् । त्यसको उचित विकास हुने अवसर शिक्षकले दिनु पर्दछ । कक्षामा समान र स्वतन्त्र सहभागिताको अवसरको अनुभुति सबै विद्यार्थीले गर्नुपर्दछ । सीमित विद्यार्थी र सीमित प्रतिभाहरुलाई मात्र अवसर दिँदा विभेदको अनुभुति बढ्न गइ सिकाइ वातावरणमा नकारात्मक प्रभाव पर्न जान्छ । त्यसैले विद्यार्थीको विविधताको बारेमा शिक्षकले राम्रोसँग अध्ययन गरेको हुनुपर्दछ । 

कक्षाकोठालाई प्रयोगशालाको रुपमा विकास

कक्षाकोठामा विविध शैक्षिक सामग्री निर्माण र प्रयोग हुन्छन् । परियोजना कार्य अन्तर्गत विभिन्न सामग्री निर्माण स्वयं विद्यार्थीले गर्दछन् । त्यस्ता सामग्रीहरुलाई कक्षाकोठाभित्र सजाएर राख्ने प्रबन्ध मिलाएको खण्डमा कक्षाकोठा आकर्षक बन्दछ । नियमित त्यस्ता सामग्रीले भरिँदै जाँदा कक्षाकोठा सिकाइ मैत्री बन्न पुग्दछ । 

विद्यार्थीको सिर्जनाहरुको प्रदर्शन गर्ने सुबिधा 

विद्यार्थीका आ आफ्नै सीप र सिर्जनात्मक प्रतिभाहरु हुन्छन् । उनीहरुको त्यस्ता सिर्जनाहरुलाई प्रदर्शन गर्ने वा प्रकाशन गर्ने सुबिधा कक्षाकोठामा हुनुपर्दछ । आफ्ना सिर्जनाहरु सबैका सामुमा प्रदर्शन हुन पाएमा उनीहरु खुशी हुन्छन् र त्यस्ता कार्यहरुलाई निन्तरता दिन तयार हुन्छन् । यसको लागि शिक्षकले त्यस्ता कुराहरु प्रस्तुत गर्ने स्थल तोकिदिनु वा समय मिलाउन सक्नुपर्दछ । यसबाट उनीहरुलाई नयाँ नयाँ काम गर्ने प्रेरणा बढ्न गइ कक्षाकोठाको बसाई पट्यारलाग्दो नहुने वातावरण तयार हुन्छ । 

स्वस्थ प्रतिष्पर्धाको वातावरण 

बालबालिका प्रायः इष्र्यालु स्वभावका हुन्छ । उनीहरुमा रहेको त्यो इष्र्यालाई स्वस्थ प्रतिष्पर्धामा रुपान्तरण गर्नु शिक्षकको दायित्व हो । अरुलाई तल पार्ने, निरुत्साहित गर्ने खालका व्यवहारबाट टाढा राख्दै आफूलाई सक्रिय र सिर्जनशील बनाउने बानीको विकास गराउन शिक्षकको निर्देशन र सहजजिकरण केन्द्रित हुनुपर्दछ । यसले उनीहरुमा स्वस्थ प्रतिश्पर्धा बढाई सिकाइ क्षमता वृद्धि गर्न र कक्षाको सिकाइ वातावरण राम्रो बनाउन मद्दत गर्दछ ।  

स्पष्ट निर्देशन र सहजिकरण 

कक्षाकोठामा शिक्षकले दिने निर्देशन सबै प्रकारका सिकाइ क्षमता भएका विद्यार्थीका लागि उपयुक्त हुने किसिमको हुनुपर्दछ । कक्षाकार्यका निम्ति दिइने निर्देशन सीमित विद्यर्थीले मात्र बुझ्न र ग्रहण गर्न सक्ने खालको भयो भने त्यसले कक्षाकोठाको सिकाइ वातावरण प्रभावकारी बन्न दिदैन । सँगसँगै शिक्षकको सहजीकरणको तरिका पनि सबै स्तरका विद्यार्थीको निम्ति उपयुक्त किसिमको हुनुपर्दछ । हरेक सुचनालाई सहज र प्रभावकारी रुपमा प्रवाह गर्ने सीप शिक्षकमा हुनुपर्दछ । 

सकारात्मक अभिव्यक्ति र सामूहिक भावना

कक्षाकोठामा शिक्षकले प्रस्तुत गर्ने हरेक निर्देशन, दृष्टान्त र अभिव्यक्तिहरु सकारात्मक चिन्तन स्वभावमा आधारित हुनुर्पछ । सकारात्मक पक्षहरुको उजागर गदै नकारात्मक पक्षहरु स्वतः कम गर्ने उद्देश्य सहित विद्यार्थीमा सामुहिक तथा सहकार्यमा आधारित क्रियालकपामा जोड दिनु आवश्यक हुन्छ । यसले सबै प्रकारका सिकाइ क्षमता भएका विद्यार्थीलाई सहज सिकाइ वातावरण तयार गर्न मद्दत गर्दछ । कक्षामा निराशाजनक प्रतिक्रिया शिक्षकले कहिलेपनि दिनु हुँदैन । 

सामुहिक निर्णय र कार्यान्वयन 

कक्षाकोठाको लागि आचार सहिंता निर्माण, कार्यविभाजन र तिनको कार्यान्वयन, प्रगति समिक्षा जस्ता कुराहरुमा स्वयं विद्यार्थीको सहभागितामा कक्षागत बैठक गरी सिकाइ समस्याका बारेमा छलफल गराउने, प्रगति समिक्षा गर्ने गर्नुपर्दछ । यसले सबै प्रकारका निर्णयमा विद्यार्थीको अवनत्व सिर्जना भइ त्यसको कार्यान्वयन प्रभावकारी बन्छ र कक्षामा सिकाइको उपयुक्त वातावरण तयार हुन्छ । 

फरक क्षमता भएकाहरुको लागि उपयुक्त अवसर 

शारीरिक, मानिसक र सवेगात्मक अवस्था र व्यवहार व्यक्तिपिच्चे फरक हुन्छ । कक्षाकोठामा एउटा शिक्षकले ति सबै खालका विद्यार्थीको लागि उत्तिकै सिकाइ अवसर सिर्जना गर्नुपर्ने हुन्छ । विद्यार्थीको वैयक्तिक स्थितिलाई ख्याल गरी शिक्षण गर्ने र सान्दर्भिक क्रियाकलाप छनोट गर्नुपर्ने हुन्छ । सकेसम्म एकै प्रकारको क्रियाकलाप सबैका लागि भन्दा उनीहरुको शारीरिक, मानसिक तथा संवेगात्मक अवस्था अनुसार कक्षाको बिबिधता सुहाउँदो विभिन्न विकल्पहरुमा स्वतन्त्र हुने गरी क्रियाकलाप निर्धारण गर्नुपर्दछ । यसले गर्दा फरक अवस्था भएका विदार्थीका लागि सिकाइ वातावरण सहज र प्रभावकारी बन्न पुग्दछ । 

विद्यालयको भौतिक वातारण, अभिभावकको सामाजिक सांस्कृतिक स्थिति, घरयसी वातावरण जस्ता विद्यार्थीको मानसिक र संवेगात्मक पक्षलाई प्रभावित गर्ने कुराहरु ठाउँ अनुसार फरक फरक हुन्छन् । त्यस अनुसार सिकाइको वातावरण निर्माणमा दिने प्राथमिकता भिन्न हुन सक्छ । यसमा शिक्षकको अध्ययन, विश्लेषण र उपयुक्त निश्कर्ष सहित उपरोक्त कार्यहरूको प्रभावकारी व्यवस्थापन गरी कक्षा शिक्षणलाई सहज परिमाणमुखी वा गुणस्तरीय बनाउने गरी गरिने कक्षा भित्रको मानवीय, शैक्षिक, प्राज्ञिक तथा भौतिक पक्षको व्यवस्थापन नै वास्तविक अर्थमा कक्षाकोकोठाको सिकाइ व्यवस्थापन हो ।

सिन्धुपाल्चोकको मेलम्चीमा रहेको तेर्से माध्यमिक विद्यालयमा लामो समय प्रधानाध्यापकका रुपमा कृयाशिल ढुंगाना हालै मात्र जिम्मेवारी हस्तान्तरण गरि सोही विद्यालयमा शिक्षकका रुपमा कार्यरत छन् । 

प्रतिक्रिया