Edukhabar
शनिबार, ०६ पुस २०८१
खबर/फिचर

ऋण गरी गरी विद्यार्थीलाई खाजा !

विहीबार, १५ मंसिर २०७९

काठमाडौं - देशकै राजधानी रहेको काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरुले ऋण गरेर विद्यार्थीलाई खाजा खुवाउन बाध्य भएका छन् । महानगरपालिकाले चालू आर्थिक वर्षमा प्रतिविद्यार्थी खाजाका लागि १० रुपैयाँ थप गरे पनि अझ पनि अधिकांश विद्यालयले ऋण गरी विद्यार्थीलाई खाजा खुवाइरहेका हुन् । 

महानगरपालिकाले विद्यार्थीलाई खुवाएको खाजाको रकम समयमै भुक्तानी गर्न नसक्दा अहिले काठमाडौंका धेरै सामुदायिक विद्यालयको बाध्यता भएको छ ः ऋणमा खाजा खुवाउनु ।
नक्साल स्थित कमल आधारभूत विद्यालयका प्रधानाध्यापक मनबहादुर खड्काले चालू आर्थिक वर्षको साउन र भदौको खाजाको पैसा आएको तर गएको आर्थिक वर्ष २०७८÷७९ को फागुनदेखि असारसम्मको खाजाको रकम नआएको बताए । 

‘पहिलाकै ऋण बाँकी छ, कसरी खाजा खुवाउने भन्ने चिन्ता लाग्न थालिसक्यो, हाम्रो कुरा कसले सुन्छ ?’, प्रतिप्रश्न गर्दै खड्का भन्छन्, ‘शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा गयो, हामीले हैन, महानगर नै जानू भन्छन्, महानगरमा हाम्रो कुरा कसले सुन्न े?’

उनले गत वर्षकै खाजाको पैसा नआउँदा खाजा खुवाउने कि नखुवाउने अन्योल रहेको बताए । प्रधानाध्यापक खड्काले विद्यालयको आफ्नै स्रोत नहुँदा खाजा खुवाउन समस्या भएको बताउँदै हालसम्म ऋण गरेर खाजा खुवाइरहेको जानकारी दिए । 

‘हाम्रै तलबबाट कटाएर पनि खुवाइ रहेका छौं, त्यतिले पनि पुगेको छैन, स्कुल नजिकैको पसलबाट उधारोमा खानेकुरा ल्याइ दिने गरेका छौं,’ उनको भनाइ छ ।

उनले हालसम्म करिब ३ लाख रुपैयाँको खाजा खुवाइ सकेको तर त्यसको भुक्तानी नभएको बताए ।

सो समस्या उनको विद्यालयको मात्र नभएर काठमाडौं महानगरपालिका भित्रका अधिकांश सामुदायिक विद्यालयको समस्या भएको छ । यो समस्या विशेष गरी अर्थको लागि अरु स्रोत र विकल्प नभएका विद्यालयले भोगिरहेका छन् ।

बानेश्वरको रुद्रमति आधारभूत विद्यालयकी प्रधानाध्यापक मञ्जु श्रेष्ठ र झोछें स्थित बालसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपकप्रसाद दाहालले पनि खुवाएको दिवा खाजाको रकम भुक्तानी नुहँदा विद्यालय समस्यामा पर्दै गएको बताए ।

‘गत फागुनदेखि खाजाको पैसा पाएका छैनौं, खाजाको कुरै नगर्नुस्, हामीलाई अर्कै तनाव हुन्छ’, दाहालले भने, ‘खाजाको कुरा गर्ने बित्तिकै अहिले त हाम्रो बाजा बज्ने अवस्था छ ।’

उनले खाजा खुवाएको पैसा आउँछ भन्ने विश्वासले ऋण गरेर र उधोरो गरी खाजा खुवाएको तर त्यसको भुक्तानी दिन नसक्दा अर्कै समस्या भोग्न बाध्य भएको बताए ।

उनले खुवाइरहेको खाजा एकैपटक रोक्न नहुने भन्दै कहिले कुन शिक्षकले त कहिले कुन शिक्षकले पैसा राख्ने गरेको बताए । रुद्रमति आधारभूत विद्यालयकी प्रधानाध्यापक श्रेष्ठले पनि शिक्षकहरुले पालैपालो खर्च व्यहोर्नु परेको बाध्यता सुनाइन् ।

उनले महानगरपालिकाले सो बारे सम्बोधन नगरे खाजा खुवाउन समेत मुश्किल हुने बताए । ‘यस्तै अवस्था हो भने हामी खाजा खुवाउन सक्तैनौं, कतिपय स्कुलले त खाजा खुवाउनै छोडिसेकेका छन्,’ उनको भनाइ छ ।

महानगरपालिकाको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले गत वर्षकै खाजाको भुक्तानी रोकिँदा प्रअहरुमा अन्योल अवस्था सिर्जना भएको स्वीकारे ।

‘यो चालू आर्थिक वर्षको भदौ र असोजसम्मको दिइसकेका छौं, तर गत आर्थिक वर्षको दिन बाँकी छ, त्यसैका लागि नगरपालिकाको लेखा शाखा धाउने, मन्त्रालय पुग्ने काम गरिरहेको छु’, प्रमुख सुवेदीले भने ।

उनले पहिला शिक्षक र प्रधानाध्यापकहरुले आन्तरिक स्रोतबाट खाजा खुवाएको रकम उपलब्ध गराउनका लागि आफू पनि तोकतामा रहेको सुनाए । 

‘गत सालमा भुक्तानी दिने बेलामा कार्यकारी प्रमुखले चेकमा सही गर्ने दिन बिदामा बस्नु भयो, उहाँ पनि महानगरमा नयाँ पदाधिकारीहरुको स्वागतमा लाग्नु भयो, व्यस्तता हुँदा विद्यार्थीले खाएको खाजाको भुक्तानीका लागि समय लागेको छ, हामीले शिक्षा मन्त्रालयमा ताकेता गरिरहेका छौं, मन्त्रालयले आदेश दिएलगत्तै भुक्तानी हुन्छ’ उनले भने । 

महानगरमा अहिले ८९ वटा सामुदायिक विद्यालय रहेका छन् ।

प्रतिक्रिया