Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

हेपेको भन्दै शिक्षक महासँघद्धारा कार्यक्रम बहिस्कार

आइतबार, १३ मंसिर २०७२

काठमाडौ - शिक्षकलाई वेवास्ता गरेको भन्दै शिक्षक महासंघले काठमाडौंमा शुरु सार्वजनिक शिक्षा सुदृढिकरणका लागि आयोजित दुई दिने सम्मेलन बहिस्कार गरेको छ ।

सम्मेलनको उद्घाटनमा आफूहरुलाई वेवास्ता गरिएको भन्दै वहिस्कार गरेको महासंघका अध्यक्ष केशव निरौलाले बताए । 'कार्यक्रममा बोलाईयो तर हामीलाई हेपेको महशुस भएपछि हामी सम्मेलनमा सहभागि भएनौं' उनले भने, 'आफ्नो हैसियतलाई नै स्विकार नगरे पछि हामी त्यहाँ हुनुको केही अर्थ देखेनौं ।'

सार्वजनिक शिक्षा सुदृढिकरणको मुद्धा आफ्नो हुँदा हुँदै पनि आयोजकले कुनै वास्ता नगरे पछि कार्यक्रममा बस्नु र नबस्नुको औचित्य नभएको भन्दै बहिस्कार गरेको एक जना शिक्षकले बताए । 'विपद्का बेला काम गर्ने हामी अहिले उक्त मुद्धा एनजीओको मात्रै हो जस्तो गरी ब्याख्या भएपछि हामीलाई दु:ख लाग्यो' उनले भने, 'कार्यक्रममै विरोध गर्ने सल्लाह भएको थियो तर हामीले आफ्ना असहमती आयोजकलाई राखेर बाहिरियौं ।'

एक्सन एडको सहयोगमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) ले गरेको सम्मेलनको उद्घाटन गदै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक शिक्षा सुधारका लागि धेरै समस्या रहेको बताउँदै शिक्षामा नयाँ नीतिको आवश्यकता महशुस गरेरै आफूले अवधारणा पत्र सार्वजनिक गरेको उल्लेख गरे । उक्त कार्य योजनालाई ४५ दिनभित्र कार्य योजनामा लैजाने उनले बताए ।

मुलुकमा भइरहेको बन्द,हडतालका कारण शैक्षिक सत्रमा निकै असर परेकाले कक्षामा मात्र सीमित नरही अब दूर शिक्षा प्रणाली अन्तर्गत पढाइ पूरा गर्नु पर्ने उनले बताए । यसका लागि चालु शैक्षिक पद्धति बदल्नुपर्ने र अब एफएम रेडियो, टिभी तथा मोबाइलबाट कक्षा दिइने बताए । 

२ सय २० दिन विद्यालय खुल्नु पर्ने र १ सय ९० दिन पढाउनु पर्ने नियम भए अहिलेको असामान्य अवस्थालाई मध्यनजर गरेर परिवर्तन गर्नुपरेको मन्त्री पोखरेलले बताए ।
मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीले भूकम्पले क्षति पुगेका विद्यालयको पुनःनिर्माण गर्न दातासँग सम्झौता भएको बताउँदै पाँच वर्ष भित्र काम सक्ने योजना रहेको बताए ।

कार्यक्रममा शिक्षाकर्मी धनञ्जय अधिकारी, एनसिइका अध्यक्ष राजकुमार गन्धर्व, एक्सन एडका देशीय निर्देशक विमलकुमार फुयाँल, दिदीबहिनी संस्थाका अध्यक्ष सलोनी सिंह लगायतले सार्वजनिक शिक्षाको विकासका बारेमा धारणा ब्यक्त गरेका थिए । सम्मेलनमा सार्वजनिक शिक्षाका विषयमा विभिन्न विज्ञको कार्यपत्र प्रस्तुती गर्ने तथा उक्त प्रस्तुतीमा विषयविज्ञद्धारा टिप्पणी गरी घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ ।

तस्विर : एनसीईका महासचिव प्रकास सिलवालको फेसबुकबाट

प्रकाशित मिति २०७२ मंसिर १३ गते

प्रतिक्रिया