समसामयिक राजनीति एवं विदेश नीति सम्बन्धमा कलम चलाउने पूर्व शिक्षकले केही अगाडि सामाजिक सञ्जालमा यस्तो स्टाटस लेख्छन् : “मेरा लेख पढी पूर्व परराष्ट्रमन्त्री, राजदूत सचिवले मलाई फोन गर्नुहुन्छ, तर उहाँहरुलाई कुनै प्राध्यापक वा कुनै प्रमुख दलको विदेश विभाग प्रमुखलाई फोन गरे जस्तो लाग्दो रहेछ । जब मैले आफू विद्यालयको शिक्षक भएको बताउँछु, तब उहाँहरु निराश हुनुभएको जस्तो बुझिन्छ ।”
यही स्टाटसले पनि शिक्षकको पेशागत पहिचानको एउटा पाटोलाई छर्लङ्ग पार्छ । नेपालमा शिक्षकको पेशागत पहिचान (टिचर प्रोफेसनल आइडेन्टीटी) को विमर्श भर्खर सुरु भएसँगै यसैमा आधारित भई अध्ययन अनुसन्धान पनि हुन थालेका छन् । यसै सन्दर्भमा प्रस्तुत लेख विद्यालय शिक्षकको पेशागत पहिचानको सङ्क्षिप्त विमर्शमा केन्द्रित रहेको छ ।
लेखकलाई विद्यालय र विश्वविद्यालयमा शिक्षकका रूपमा गरेको कार्यनुभवले प्रस्तुत लेख लेख्न प्रेरित गरेको हो । शिक्षकको पेशागत पहिचानको बहस नेपालमा नयाँ भए तापनि, पश्चिमा जगतमा भने यो निकै पुरानो विषयवस्तु हो । शिक्षकको पेशागत पहिचान सम्बन्धमा विभिन्न सिद्धान्तहरू विकास भएका छन् । जसमा, जेम्स जी (सन् २०००), र निकोल मोकर (सन् २०११) का सिद्धान्तहरु प्रमुख रूपमा रहेका छन् । जस अनुसार शिक्षक आफैले आफूलाई कसरी हेर्छन् र उनीहरू प्रति अन्य व्यक्तिहरुको बुझाइ वा हेराइ कस्तो छ भन्ने कुराको साङ्गोपाङ्गो रूपलाई नै शिक्षकको पेशागत पहिचान भनिन्छ ।
जी (सन् २०००) ले विकास गरेको सिद्धान्तले, शिक्षकको पहिचानलाई हेर्ने चार वटा आयामहरु प्रस्तुत गरेका छ । जसमा शिक्षकको पहिचान विकासमा प्रकृति, विमर्श (डिस्कोर्स), संस्था र अनुभव एवं आत्मीय समूह पर्छन् । शिक्षकको पेशागत पहिचानले केवल उसको सिकाइ प्रक्रिया, शिक्षण, उत्पादकत्व र पेशागत जीवनलाई मात्रै प्रभाव पारेको हुँदैन बरु यसको प्रत्यक्ष सम्बन्ध विद्यार्थीको सिकाइसँग रहेको हुन्छ । विद्यालय सञ्चालन, पाठ्यक्रमको निर्माण एवं कार्यान्वयन र मूल्याङ्कन प्रणालीलाई पनि गहिरो प्रभाव पारेको हुन्छ । अन्ततः विद्यालयको शिक्षक तयारी र उनीहरुको पेशागत विकासका योजना र कार्यक्रमहरु तय गर्ने शिक्षक पेशागत पहिचानको पक्ष अति महत्त्वपूर्ण हुन्छ । यसरी शिक्षकको पेशागत पहिचानलाई ध्यान दिई नीति निर्माण र त्यसको कार्यान्वयन गर्दा मात्रै अपेक्षित प्रतिफल प्राप्त गर्न सकिन्छ ।
विद्यालयीय शिक्षाको सन्दर्भ
नेपालको शिक्षा प्रणाली र त्यसमा पनि विद्यालयीय शिक्षासँग सम्बन्धित, सिकाइ प्रक्रिया, विद्यार्थीको सिकाइ उपलब्धि, शैक्षिक उत्पादकत्वसँगै शिक्षकको पेशागत विकासका अवसर एवं शिक्षक स्वयमको आत्मसम्मान एवं सन्तुष्टि जस्ता विषयहरुमा प्रश्नहरु उठिरहेका छन् । यी मुद्दाहरुको निरुपण एवं सार्वजनिक विद्यालयीय शिक्षा सुधारको पूर्वशर्त र प्रमुख पक्ष भनेकै शिक्षकको पेशागत पहिचानको अध्ययनका आधारमा प्रणालीगत सुधार गर्नु हो । विद्यालय शिक्षाको गुणस्तरको ह्रास हुनुमा शिक्षकलाई मात्र जिम्मेवार ठहर्र्याइ उनीहरुलाई गाली मात्र गरेर हाम्रो शिक्षामा सुधार हुन सक्दैन । बरु शिक्षकको पेशागत पहिचान निर्माणका आयाम र जटिलताहरुको निरुपण गरी उपर्युक्त तबरले शिक्षकको आत्मसम्मान एवं स्वाभिमान वृद्धि गर्दा शिक्षामा अपेक्षित सुधार हुन सक्छ । यसले शिक्षकमा उत्प्रेरणा, आत्मविश्वास, तथा जवाफदेहिताको भावना विकास हुन गई शिक्षामा अभूतपूर्व परिवर्तन आउन सक्छ र विद्यालयीय शिक्षामा आम मानिसको विश्वास बढ्न जान्छ ।
नेपालमा वि.सं. २०११ मा नेपाल राष्ट्रिय शिक्षा योजना आयोगको कार्यान्वयन भएदेखि वर्तमानको विद्यालय क्षेत्र विकास योजना लागू भए सँगै यहाँ थुप्रै शैक्षिक योजना कार्यान्वयन हुँदा सम्म शिक्षामा आशातीत प्रगति नहुनुले नेपालको समग्र शिक्षा प्रणालीमा प्रश्नहरु उठिरहेका छन् । तसर्थ शिक्षालाई बहुआयामिक रूपमा बुझी समाजसँग यसलाई जबसम्म समुचित रूपमा जोडिँदैन तबसम्म विद्यमान शिक्षा परिणाम मुखी बन्न सक्दैन ।
शिक्षण र शिक्षकको पेशागत पहिचान
विद्यालयीय शिक्षामा अपेक्षित प्रतिफल नआउनुमा यससँग सरोकार राख्ने पक्षहरुको आआफ्नै धारणा देखिन्छ । जस्तो कि प्राज्ञिक जगतले शिक्षा नीति एवं प्रणालीमा दोष देख्छ । शिक्षा मन्त्रालयले विद्यालय एवं शिक्षकको कमजोरी ठान्छ । अभिभावकहरु पनि शिक्षक कै दोष देख्छन् । उता शिक्षकहरु भने आफ्नो केही भूमिका भए पनि यसमा शिक्षा मन्त्रालय, शिक्षाका नीति नियम, शिक्षा, प्रशासन, पाठ्यक्रम, भौतिक सुविधा र अभिभावकलाई जिम्मेवार ठान्छन् ।
समाज चाहिँ शिक्षाको विषय आफूसँग नजोडिएकाले शिक्षा योजना, पाठ्यक्रम र यसको कार्यान्वयन एवम् विद्यार्थी मूल्याङ्कनमा समस्या देख्छ । यो दोषारोपणको विचित्रको दुष्चक्रमा फसेको शिक्षा व्यवस्थाको सुधार र रुपान्तरणमा शिक्षकको पहिचान निर्माण भइरहेको हुन्छ । यसले शिक्षा प्रणालीका आयामहरुको अन्तरसम्बन्ध बुझ्न सहयोग पु¥याउँछ । फलस्वरूप समस्याको सही निरुपण भई, शिक्षा व्यवस्थाको समग्र रुपान्तरण सम्भव हुन्छ ।
नेपालको वर्तमान विद्यालय र उच्च शिक्षा नीति दुबैप्रति गम्भीर प्रश्नहरु उठिरहेका छन् । हालै एक दैनिक पत्रिकामा प्रकाशित लेखक अच्युत वाग्लेको आलेखमा नेपालकोे समग्र शिक्षा नीति नै अनुत्पादक भइसकेको तर्क छ । तर हामीकहाँ शिक्षा नीति निर्माणमा त्यसबाट लाभान्वित हुने वर्गको पहुँच र संलग्नता भने छैन ।
शिक्षकको पेशागत पहिचाानको निर्माण
व्यक्तिको शिक्षणमा प्रवेशसँगै शिक्षकको पेशागत पहिचानको निर्माण हुन्छ तर शिक्षणमा प्रवेश गर्नु अगाडि नै शिक्षा सङ्कायको विद्यार्थीको रूपमा ‘पेडागोजिक कोर्स’ को अध्ययनबाट पहिचान निर्माणको सुरुवात हुने कुरा अनुसन्धानले उल्लेख गरेका छन् (कासिला र साथीहरु, सन् २०२१) । यसरी निर्माण हुने ‘इम्याजिनड् आइडेन्टीटी’ ले गर्दा विद्यार्थीले आफूलाई भावी शिक्षकको रूपमा अनुभूत (इनभिजन) गर्छन् । तर शिक्षकको पहिचान निर्माण सरल रेखीय बाटोमा हिँड्दैन, न त यो सधैँ एउटै रहन्छ । बरु यो बहुआयामिक, परिवर्तनशील र जटिल हुन्छ ।
लास्की (सन् २००५) का अनुसार समयक्रम र सामाजिक सांस्कृतिक सन्दर्भले शिक्षकको पेशागत पहिचान निर्माणलाई असर गर्छ र शिक्षकप्रतिको धारणा पनि निर्माण हुन्छ । शिक्षक प्रतिको सकारात्मक धारणाले उसको शिक्षण क्रियाकलापमा सकारात्मक प्रभाव पार्छ फलस्वरूप शिक्षकको उत्पादकत्व बृद्धि हुन्छ । यसबाट शिक्षा प्रणालीमा तत्कालीन र दीर्घकालीन सकारात्मक परिवर्तनमा योगदान पुग्दछ ।
शिक्षामा स्तरीयता र विद्यार्थीको सिकाइलाई सुधार गर्न शिक्षक बाहेक देशको राजनीतिक अवस्था, शिक्षा नीति र कार्यक्रमहरु तथा पाठ्यक्रमले प्रभाव पारेका हुन्छन् । निकोल मोकर (सन २०११) को सिद्धान्त अनुसार बाह्य राजनीतिक वातावरण, पेशागत सन्दर्भ र शिक्षकको व्यक्तिगत अनुभव गरी तीन तत्त्वहरुले शिक्षकको पेशागत पहिचानको निर्माण गर्छन् । जसको प्रत्यक्ष प्रभाव केवल शिक्षकको व्यक्तित्व, चिन्तन र व्यवहारमा मात्रै पर्दैन बरु उसको सिकाउने शैली, कार्य क्षमता र लगनशीलतामा पनि पर्छ । फलस्वरूप विद्यार्थीको सिकाइ सबल भई उनीहरुको ज्ञान, सिप र अभिवृद्धिको विकास हुन्छ । अन्ततः समाज रुपान्तरणको प्रक्रियामा शिक्षा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा बन्न पुग्छ । हामीले खोजेको शिक्षण प्रक्रिया सुगा रटाइ हुँदै होइन । यस्तो प्रक्रियाले जीवन र जगतलाई जोड्न पनि सक्दैन । जति राम्रोसँग शिक्षा र समाजको सम्बन्ध स्थापना गर्न सकियो शिक्षा त्यति नै उपयोगी हुन्छ र विद्यार्थीलाई भावी जीवनको तयारीमा सहयोग पुग्छ । सँगसँगै शिक्षा प्रति समाजको अपनत्व बढ्छ । समाजले जबसम्म शिक्षाको स्वामित्व लिँदैन वा शिक्षा उपयोगी ठान्दैन तबसम्म शिक्षामा जति सुधार गरे पनि अर्थहीन हुनपुग्छ । सम्भवतः नेपाली शिक्षाको समस्याको चूरो कुरो पनि यही नै हो । शिक्षाले राष्ट्रिय आवश्यकता त पूरा गर्नु पर्छ नै, सँगसँगै समसामयिक विश्वको प्रविधि र ज्ञानको विकास पनि आत्मसात गर्नुपर्छ । जब वर्तमानमै असान्दर्भिक ज्ञान प्रदान गरिन्छ भने विद्यार्थीेका भावी जीवनका चुनौतीहरु सामना गर्न शिक्षाले कसरी सहयोग पु¥याउँला ।
अबको बाटो
शिक्षकको पेशागत पहिचान भनेको शिक्षक आफैले आफूलाई बुझ्नु हो । यस्तो बुझाइभित्र पेशागत क्षमता र चिन्तन पर्दछ । जबसम्म शिक्षकमा आफ्नो पेशाप्रति अपनत्वको विकास हुँदैन तबसम्म अन्य व्यक्तिमा शिक्षकलाइ हेर्ने दृष्टिकोण र व्यवहारमा परिवर्तन आउन सक्दैन । यसको पूर्वशर्तका रुपमा शिक्षकको पेशागत पहिचान निर्माणलाई लिन सकिन्छ ।
यसका मार्गहरु निम्न हुन सक्छन् :
पहिलो, पेशागत पहिचानको विकास शिक्षा संकायमा विद्यार्थीको प्रवेशसँगै जोडिने हुँदा सर्वप्रथम यस सङ्कायको प्रवेशमै छनोट गरौँ । यसै कुरालाई मध्यनजर गरी शिक्षा शास्त्र संकायले यस वर्षबाट केही प्रयत्न गर्न थालेको छ । जी (सन् २०००) र मोकर (सन् २०११) का सिद्धान्तले भने जस्तो व्यक्तिको अनुभव र संस्थागत सन्दर्भले शिक्षकको पेशागत पहिचानको निर्धारण गर्छ भन्ने कुरा ख्याल गर्दै एउटै कार्यक्रम, रणनीति र ढाँचा सबै ठाउँमा एकै रूपमा लागू हुन सक्दैन भन्ने आत्मसात् गरी समाजलाई जोड्ने र शिक्षकको अनुभवसँग मेल खाने कार्यक्रम लागू गरौँ ।
दोस्रो, शिक्षा सुधारको काम माथिबाट नभइकन तलबाट सुरु गरौँ । सरोकारवाला सँगै बसी ‘राम्रा विद्यार्थी गुणस्तरीय सिकाइ’ भन्ने मान्यता अनुरूप शिक्षा सङ्कायमा अध्ययन गर्ने विद्यार्थीलाई प्रवेशकै चरणमा छनौट गरौं । वर्तमानका राम्रा कुरा र सुधारका क्षेत्र पहिचान गरौँ । यसले शिक्षालाई समाजसँग जोड्छ । शिक्षकलाई पेशा बाहेकका अन्य भारी नबोकाऔँ, बोक्न नदिऔँ, नबोकौँ ।
तेस्रो, आयातीत चिन्तन, विचार, योजना तथा कार्यशैली नै शिक्षा र समाज बीचको सम्बन्ध स्थापनाको बाधक भएकाले केन्द्रबाटै सबै कुरा निर्धारण गरी शैक्षिक समस्याको समाधान दिने सोच र व्यवहारमा परिवर्तन गरी स्थानीय स्तरका ज्ञान, सिप, चिन्तन र समाधानहरुको प्रवद्र्धन गरौँ ।
अन्त्यमा, शिक्षकको पेशागत पहिचानले केवल शिक्षकको व्यक्तिगत र पेशागत जीवनलाई मात्रै प्रभाव पार्दैन बरु शिक्षण पेशाकै मर्यादा कायम गर्दै अहिले उठिरहेका शिक्षाका अनेकौँ बहसहरूको निरुपण हुन्छ ।
‘शिक्षकको पेशागत पहिचान’ विषयमा विद्यावारिधि गर्दै गरेका सुवेदी पृथ्वीनारायण क्याम्पस, पोखराका उपप्राध्यापक हुन् ।
प्रतिक्रिया