Edukhabar
सोमबार, १० मंसिर २०८१
खबर/फिचर

भूकम्प प्रभावित विद्यार्थीले विद्यालय परिवर्तन गर्न पाउने, परिचयपत्र वितरणमा प्रधानाध्यापक

शुक्रबार, २२ जेठ २०७२

मन्त्री परिषद् निर्णयबारे सामान्य प्रशासन मन्त्रीसंग कुराकानी

काठमाडौं २२ जेठ / भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीले कक्षा १० मा पनि विद्यालय परिवर्तन गर्न पाउने भएका छन् । कक्षा नौसम्म मात्रै विद्यालय स्थानान्तरण गर्ने व्यवस्था भएपनि भूकम्प प्रभावित विद्यार्थीलाई यस्तो सुविधा दिइएको हो ।

भूकम्पको डरले एउटा जिल्लाका विद्यार्थी अन्यत्र भर्ना हुन खोज्दा विद्यालयले नमानेपछि एसएलसी बोर्ड बैठकले अन्य विद्यालयमा पनि भर्ना हुन पाउने निर्णय गरेको थियो । यही निर्णयको आधारमा शिक्षा मन्त्रालयले मन्त्री परिषद्को निर्णयका लागि पठाएको थियो । शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले बोर्डको निर्णयलाई सदर गरेको हो ।

यसअघि नौ कक्षामा जुन विद्यालयमा पढेको हो, त्यही विद्यालयमा कक्षा १० पढनु पर्ने बाध्यता थियो । यो वर्ष भूकम्प प्रभावित जिल्लाका विद्यार्थी नौ कक्षा जुन विद्यालयमा पढेको भएपनि कक्षा १० अर्को विद्यालयमा पढ्न पाउने व्यवस्था गरेको हो । यसअघि बसाई सरेका, सरकारी कर्मचारी सरुवा भएर अन्यत्र गएमा र बिवाह भएमा मात्रै एउटा विद्यालयमा पढेका विद्यार्थीलाई अर्को विद्यालयमा पढ्न पाउने व्यवस्था थियो ।

परिचयपत्र वितरणमा प्रधानाध्यापक

भूकम्प प्रभावितको परिचयपत्र वितरणमा सम्बन्धित गाविसमा रहेका विद्यालयका प्रधानाध्यापकहरुलाई परिचालन गर्ने निर्णय गरेको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बताए । शिक्षा सम्बन्धि के निर्णय भयो ? कसरी कार्यान्वयन हुन्छ ? मन्त्री पण्डितसंग एडुखबरले गरेको कुराकानीको सार संक्षेप :

१० कक्षामा भर्ना सबै जिल्लामा खुला गरिएको हो ?

–    भूकम्प प्रभावित जिल्लाका विद्यार्थी मात्रै एउटा विद्यालयबाट अर्को विद्यँलय र एउटा जिल्लाबाट अर्को जिल्लामा भर्ना हुन पाउने व्यवस्था गरिएको हो ।

यो व्यवस्था किन गरिएको हो ?

–    भुकम्पको त्रासले सुरक्षित हुन अर्को ठाउँमा परिवार नै सरेका छन् । यो निर्णय नगर्दा उनीहरुले त्रासमा पढ्नु पर्ने बाध्यता थियो । यो व्यवस्थाले सर्वसाधरणले राहत महसुस गर्नेछन् ।

त्यसो भए अब सँधै यो निर्णय लागू हुन्छ ?

– यो वर्षको लागि मात्रै हो ।

गाबिस सचिव हुँदा हुँदै राहत वितरणमा प्रधानाध्यापक परिचालन किन गर्नु पर्यो ?

–    यसअघि राहत र उद्धारमा निजामती कर्मचारी र सुरक्षाकर्मी खटिएका थिए । अब परिचयपत्र वितरण, राहत रकम वितरणमा सचिव एक्लैले सक्दैनन् । त्यसैले प्रधानाध्यापक पनि परिचालन गर्न लागिएको हो ।

गाबिस सचिव प्रायः खरदार र नासु हुन्छन । विद्यालयका प्रधानाध्यापक त खरदार देखि उपसचिव तहसम्मका हुन्छन् ।उच्च तहका शिक्षकले तल्लो तहका सचिवसंग समन्वय गरेर काम गर्लान् त ?

–    यस्तो नहोस् भनेर हामीले निर्णय गर्नु परेको हो । त्यस्तो हो भने भूकम्प भएपछि उद्धारको कार्य तिब्रता दिन हामीले प्रभावित जिल्लामा सचिव र सहसचिवलाई खटाएका थियौँ । कतिपय जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी थिए । सहसचिव र सचिवले उपसचिवसंग समन्वय गरेर काम गरे । मन्त्री जिल्ला जाँदा पनि प्रमुख जिल्ला अधिकारीसंग समन्वय गर्नु पर्ने हुन्छ । यस्तो विपतको बेला को सिनियर को जुनियर भन्ने हुदैन । जसले जे पनि गर्नु पर्ने हुन्छ । बिपतमा नखटाए पनि गर्नु पर्ने हुन्छ ।

त्यसो भए गाविस भरी रहेका विद्यालयका प्रधानाध्यापक परिचालन गर्ने हो ?

–    सबै पनि हुन सक्छ । गाउँमा जति आवश्यक पर्छ, त्यति मात्रै परिचलन गर्न पनि सकिन्छ ।

प्रधानाध्यापक नै किन तोक्नु भएको त ? जोशिला शिक्षक जो पनि आउँथे होला नि त ?

–    शिक्षक भन्दा सबै पर्न सक्छन् । जो पनि बस्न चाहला । को जाने भन्ने विवाद हुने भएकोले प्रधानाध्यापक त सिनियर शिक्षकबाट छानिएका व्यक्ति हुने भएकोले तोकिएको हो ।

छानिएका प्रधानाध्यापकको काम चाहि के हुन्छ ?

–    अब पुनस्थापना गर्न गाँउ स्तरमा तथ्याङ्क भेरिफाई गर्नु पर्ने हुन्छ । परिचय पत्र वितरण गर्न पर्नु हुन्छ । भत्किएको घर निर्माण गर्न रकम दिनु पर्ने हुन्छ । सचिव एक्लैले केही गर्न सक्दैनन् । गाँउको वास्तविकता के हो ? स्कूलका प्रधानाध्यापकलाई थाहा हुन्छ ।  गाबिस सचिवलाई सहयोग गर्न खटाउन लागिएको हो ।

भूकम्पको धक्काले ६ हजार भन्दा बढी विद्यालयको भवन भत्किएको छ । यि विद्यालयमा अस्थायी टहरा निर्माण गर्न जस्ता सहजै पाउन सकिएको छैन । योे बिषयमा चाँहि केही निर्णय भएन ?

–    भूकम्पले क्षति पुगेको सार्वजनिक निकायको छाना छाउन जस्ता खरिद गर्न साल्ट टे«डिङ र नेशनल ट्रेडिङलाई जिम्मेवारी दिने निर्णय भएको छ । सार्वजनिक निकायमा  विद्यालय पनि पर्छ । यो निर्णय अनुसार विद्यालयले पनि साल्ट टे«डिङ र नेशनल ट्रडिङबाटै खरिद गर्नु पर्ने हुन्छ । यसले महंगोमा खरिद गर्यो भन्ने पनि हँुदैन । यि दुबै निकायलाई जस्ता खरिद गर्न अधिकार दिने प्रधानमन्त्रीज्यूले ठाडो प्रस्ताव ल्याउनु भएको हो ।

यस्तो विपद्को बेलामा पनि शिक्षा मन्त्री विदेश भ्रमणमा गएको बिषयमा बैठकमा कुरा उठेन ?

–    केही मन्त्रीज्यूहरुले आपसी कुरा गरिराख्नु भएको थियो । उहाँ किन कसरी जानु भयो ? भन्ने बिषयमा चाँहि प्रधानमन्त्री ज्यूलाई मात्रै थाहा होला । हामीले चासो दिने कुरा पनि भएन । यस्तो विपतमा कोही पनि बाहिर नजाने भनिएको थियो । उहा“ कसरी जानु भयो ? थाहा भएन ।

प्रतिक्रिया