बिहानको ७ बज्दै थियो, मोबाईलको घण्टि बज्यो । परिचित नम्बर अर्थात मेरो भाइ पुस्ताको आत्मीय मित्र प्रकाश अधिकारीले फोन गरेका रहेछन् !
मकवानपुरको हेटौंडा चौकीटोल निवासी अधिकारी, हाल नेपाल सरकारको अधिकृत स्तरको कर्मचारी ! उनी सरकारी सेवा प्रवेश गर्नु अघि झण्डै आधा दशक हामी दुबै संस्थागत अथात् निजी विद्यालयमा शिक्षण गर्थ्यौं ।शिक्षण उनको रुचिको पेशा थियो । मेहनती, लगनशील र परिणाम मुखी शिक्षक थिए उनी । विद्यालयका शिक्षक कर्मचारीले भोगिरहेको दिर्घकालिन रोग पेशागत असुरक्षाले उनको मानसपटलमा पनि आक्रमण गर्यो । पेशागत असुरक्षा र अपर्याप्त सेवा सुविधाको यो आक्रमणबाट निजी विद्यालयमा कार्यरत प्रत्येक शिक्षक कमर्चारी आक्रान्त बन्छन् । तर पेशागत असुरक्षाको भन्दा पनि शिक्षा सेवा मोहले धेरैलाई यतै अड्काउने गर्छ । अर्को तर्फ जिब्रो नलुकाई भन्नु पर्दा निजामती सेवा प्रवेशको हुटहुटी भएर पनि सो सम्बन्धि तयारी नपुगेर वा असक्षम भएर यतैबाट गुनासो पूर्ण जीविका निर्वाह गर्ने जमात पनि ठुलै छ ।
यसो त पेशागत ईमान्दारिता र संस्थागत वफादारिताको धर्म भित्र रहेर पेशागत सुरक्षाको न्यायिक लडाई लड्दै शिक्षण पेशालाई निरन्तरता दिने मेरो छिमलका अन्य साथीहरु पनि छन् । हामीलाई आज सम्म निजामतीको गुरुत्वाकर्षणले तानेको छैन । तानेको भए सफल हुन्थ्यौं कि, न उता जान सक्ने न यता रमाउने गुनासे शिक्षक हुन्थ्यौं, त्यो परिक्षण बिहिन बिषय रह्यो ।
हामी यतै रमायौ र आउने नयाँ पिढी निर्धक्क रमाउन सक्ने वातावरण बनाउने अभियानमा छौँ । मेरो साथी प्रकाश भने निजामती गुरुत्वले आकर्षण गरेको मात्रै छ महिनाको अवधिमा निजामती सेवा प्रवेश गर्न सफल भए । पेशागत आन्दोलनको एउटा अभियानकर्मीको बाटा बदलियो । तर, आफ्नाको प्रगतिमा रमाउनेहरू हामीलाई उनी प्रति कुनै गुनासो रहेन । मात्रै सोच्यौं – यो खाले क्षतिको गम्भीरता संस्थागत विद्यालय सञ्चालकले कहिले मनन् गर्लान !
ओहो ! मेरो उद्देश्य पाठकलाई प्रकाश अधिकारी चिनाउनु थिएन !
फोन उठाँए, सामान्य भलाकुसारी पछी प्रकाश भित्रको छोरीको बाबाले कुरा गर्न थाले । कुरा पनि के भन्नु उही सर्वपक्षीय गुनासो : सन्तानको चिन्ता ।
शिक्षण पेशामा आवद्ध हुनुले आफु सम्बद्ध अभिभावकको यो खाले गुनासो आजकल दैनिक जसो सुनिरहनु पर्छ । सबैको प्रायः उही कुरो दोहोरिन्छ ।
जस्तो कि प्रकाशले एक सासमा सके - 'आफुले पढाउन छोडियो, फेरी व्यस्तता पनि उस्तै छ । अफिस जानै पर्यो । स्कुल बिदा छ, छोरी दिनभरी घरमा । मोबाइल र टिभीमा झुण्डिरहन्छे । गेम पनि के आका हुन फ्री फायर र पब्जी रे । लौन न केहि उपाय छ भने भनिदिनु पर्यो । छोरी बिग्रिने भई ।'
निरन्तर सुनिरहेका समस्या हुनाले यसमा मेरो खासै गम्भीरता रहेन । सामान्य किसिमले भने एक दुई महिनामा स्कुल खुली हाल्छ, अहिले खेल्न देउन । स्कुल लागे पछि कहिले खेल्न पाउँछन र !
यस्तै गन्थन गरेर हामीले फोन सम्वाद सक्यौं ।
प्रकाशको समस्या उनको मात्रै थिएन मेरो पनि थियो । पटक पटक बोलाए पछी झर्किएको जस्तो आवाज भान्सा कोठाबाट आयो ।
‘होइन कति पटक बोलाउनु ? खाजा चिसो भैसक्यो ।'
मैले हेरेँ, ठुलो बाबु ओछ्यान मै मोबाइल चलाउदैँ छ । बेला बेलामा हान, हान, उ उता छ, फायर फायर भन्छ, शायद पब्जी खेल्दै होला !
कान्छोले टेलिभिजनमा कार्टुन हेर्दै थियो ।
यी दृष्य देख्नासाथ मानस पटलमा एउटा झट्का महशुस भयो । कतै केहि गुमाएको जस्तो । केहि नगरिएको जस्तो । लापरवाह गरिएको जस्तो । नगर्नु गरेको जस्तो । अनौठो छटपटी भयो । लाग्यो ति अभिभावकले मलाइ आफ्नो समस्या बताएका होइनन्, मेरै समस्या सुनाएका हुन् । प्रकाशले उसको कुरो गरेकै होइन, मेरै घरको कुरो गरेको हो जस्तो लाग्यो ।
झण्डै ५ मिनेटको अन्तरालमा मैले प्रकाशलाई फोन गरे ।
- प्रकाश बाबु ! तिम्रो घरमा चेस छ ?
- छैन
- क्यारिम बोर्ड छ ?
- छैन
- यसो कहिलेकाँही खेल्नलाई ब्याडमिन्टन त होलानी ?
- छैन दाइ ,कहिले खेल्नु फुर्सदै हुँदैन
- लुडो त छ होला है ?
- छैन हो दाजु, कस्तो लोक सेवाको जस्तो अन्तर्वार्ता लिएको !
- यसो छतमा वा आँगन तिर टिटी बोर्ड बानाएका छौ ?
- छैन दाई, अफिसको चौरमा छ, कहिले काँही उतै खेल्ने गर्छू
- घरमा कथा, कविता, उपन्यासका किताबहरु त होलान् नि ?
- खासै छैनन्,अलि अलि भाका परार एउटा पुस्तकालय लाई उपहार दिएँ, बढुवाको तयारी गर्दै छु, यसैले साहित्यिक किताब पढ्ने फुर्सदै हुदैन ।
- झर्को न मान है ,मेरा केहि प्रश्न अझै बाँकी छन्
- भन्नु न दाइ
- तिमि त गीत संगीतमा रुची भएको मान्छे, घरमा गितार, मादल, हार्मोनियम त छ होलानी ?
- त्यस्तो होइन, कहिले काँही गुनगुनाउने गर्छु, मोबाईलमा म्युजिक बजायो, गायो, आजकालको जमानामा कसले किनोस म्युजिक सामान !
यति प्रश्न गरिसके पछी मैले प्रकाशलाई भनेः 'साथी तिमि अपराधी हौ । तिमि प्राकृतिक रुपमा बा भयौ तर ब्यवहारिक रुपमा हुन सकेनौ । तिमीले तिम्रो छोरीको हातमा मोबाइल र रिमोट मात्रै थमाई दिए पछी बिचरा त्यो अवोध नानी के गरोस् ? के खेलोस् ? बच्चालाई कोठामा थुनेर मोबाईल र टेलिभिजन संग मित लाईदिने अनि उसैलाई बिग्रेको भन्दै गाली गर्ने अपराधी !'
उनले चुपचाप सुनिरहे । मैले गालि गरिरहेँ । लामो समय सम्म गालि गरिरहें । म मा आक्रोश थियो किनकि मैले मलाई नै गालि गरिरहेको थिए । प्रकाश मात्रै माध्यम थियो । झण्डै पाँच मिनेट सम्मको एकोहोरो गाली सम्वाद चिर्दै उनी बोले :
- एसके दाइ ! मलाइ तिम्रो यहि बानि मन पर्छ, गाली पनि कति मिठो गरि गर्छौ ।
- मेरो भाइ, तेरो फोनले आज मलाई पनि झस्कायो यार ।
- तपाइँसंग विद्यार्थी पुस्तक पसलको पुस्कल दाइको नम्बर छ ?
- किन ?
- पसल कति बेला खुल्छ सोध्नु पर्यो । आज छोरीलाई चेस,लुडो, क्यारिम बोर्ड, ब्याडमिन्टन र केहि थान बाल कथा र कविताको किताब किनी दिन्छु ।
- पुस्कललाई फोन गरेपछि मलाई पनि खबर गर है । तिमीलाई जति सोधे ति सबै मेरोमा पनि छैनन्, संगै किनौला ।
- हाहाहाहा , सामाजिक दुरी चाँहि कायम राख्नु पर्छ दाइ, मास्क लगाएर आउनु होला ।
- हाहाहा ओके छ त !
छोराहरु खाजा खाएर पूर्ववत प्रक्रियामा फर्किएका थिए । फरक मात्र यति थियो अहिले जेठोको हातमा टेलिभिजनको रिमोट र कान्छोको हातमा मोबाईल पुगेको थियो । प्रकाशको फोन आउनु अघि मलाई केहि गर्ने ईच्छा जाग्यो । चारवटा सलाईको काँटी झिके, मकैको दाना खोजेँ, मार्करले चार्ट पेपरमा बागचाल बनाएँ र अलि ठुलो स्वरमा भने
- कान्छो ! आऊ बाघ चाल खेलौ ।
बढो जिज्ञासु हुदै उ आयो 'बाघ चाल ,कसरी खेल्ने बाबा !'
टिभी बन्द गरेर जेठो छोरोले भन्यो 'बाबा ! मलाइ आउँछ ,भाइ र म एक टिम है ।'
मकवानपुरको हेटौंडा स्थित एक निजी विद्यालयमा सहायक प्रधानाध्यापक तथा जनसम्पर्क अधिकृतका रुपमा कार्यरत लेखक समस्या समाधान तथा संवाद समिति, इष्टु मकवानपुरको संयोजक पनि हुन् ।
प्रतिक्रिया