Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

कक्षा १० र १२ को परीक्षा स्थगित

सोमबार, २७ बैशाख २०७८

काठमाडौं - कोरोना भाईरस (कोभिड - १९) को नयाँ भेरियण्ट जोखिमका कारण कक्षा १० को अन्तिममा लिईने एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । सोमबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले आगामी जेठ १३ गते देखि सञ्चालन गर्ने तय भएको कक्षा १० र २६ गते देखि गर्ने १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । महामारिको संकट बढ्दो क्रममा रहेकाले तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । 

'संकट गहिरिदों छ, त्यसैले तत्कालका लागि परीक्षा हुन सक्ने अवस्था नदेखिएकाले स्थगितको निर्णय गरेका हौं' उनले भने, 'परीक्षाका विकल्पका बारेमा बोर्डले अध्ययन गरी मन्त्रालयलाई सुझाव दिने छौं  ।'

परीक्षाको विकल्पका बारेमा सुझाव दिन बोर्ड सदस्य समेत रहेका शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपाने, बोर्डका सदस्य सचिव दुर्गा अर्याल, बोर्डका सदस्य दयामान कर्माचार्य र रविना महर्जन सहितको उक्त समितिले १५ दिन भित्र परीक्षाको विकल्प सहितको प्रतिवेदन बुझाउने छ । 

करिब ५ लाख १७ हजार विद्यार्थीले यो बर्ष कक्षा १० को परीक्षाका लागि फारम भरेका थिए । उक्त परीक्षाका लागि प्रश्नपत्र छपाइको काम सकिएको छ । अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको कक्षा १२ मा भने करिब ४ लाख परीक्षार्थी छन् ।

गत बर्ष परीक्षा हुन १२ घण्टा अघि स्थगित गरेर विद्यालयको मूल्याँकनका आधारमा कक्षा १० को नतिजा सार्वजनिक गरिएको थियो भने १२ मा कक्षा ११ को आधारमा आन्तरिक मूल्याँकन र पूर्णाङ्क घटाएर परीक्षा गरिएको थियो । 

प्रतिक्रिया