Edukhabar
विहीबार, १३ बैशाख २०८१
शिक्षामा यो साता

पुनर्निर्माण र विद्यालय बन्दमा केन्द्रित साता

सोमबार, २७ बैशाख २०७८

काठमाडौं - गत साता शिक्षा सम्बन्धी थोरै समाचारहरू मात्र प्रकाशन भए । अझै पनि सय भन्दा बढी विद्यालय पुनर्निर्माण गर्न बाँकी रहेको विषय सबैभन्दा धेरै सञ्चार माध्यममा समावेश भएको थियो । यसै गरी महामारीले शिक्षा प्रणालीको पुर्नसंरचनाका लागि अवसर उपलब्ध गराएको सम्बन्धी विचारमूलक आलेख पनि प्रकाशन भएको थियो । 

समाचार अनुसार भूकम्पबाट क्षति भएका मकवानपुरका एक सय ४० विद्यालय अझै पुनर्निर्माण भएका छैनन् । जग्गा सम्बन्धी विवाद, कम विद्यार्थी सङ्ख्या र बाटोको पहुँच नहुँदा विद्यालय निर्माण रोकिएको समाचारमा उल्लेख छ । 

अर्को एक समाचार अनुसार भूकम्पबाट क्षति भएका एक हजार पाँच सय १९ विद्यालय पुनर्निर्माण हुन बाँकी छन् । यी विद्यालयका बालबालिका अस्थायी संरचना तथा जोखिमपूर्ण भवनमा पढ्न बाध्य छन् । पाँच वर्ष भित्रमा विद्यालय पुनर्निर्माण सकाउने गरी स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजनका कार्यान्वयन एकाइ (शिक्षा) को समयावधि सकिएको छ । समाचार अनुसार बाँकी विद्यालयको पुनर्निर्माण शिक्षा मन्त्रालयबाटै हुनेछ । 

अर्को एक समाचारमा उल्लेख भए अनुसार निर्माण कम्पनीको सञ्चालक पक्राउ परेपछि धादिङ, मकवानपुर र काभ्रेका २३ विद्यालयको पुनर्निर्माण रोकिएको छ । 

एक विचारमूलक आलेखमा शिक्षकहरूमा अतिरिक्त ज्ञान हासिल गर्ने रुची कम हुदैँ गएको उल्लेख गरिएको  छ । शिक्षकहरूको अन्य पुस्तक पढ्ने बानी नभएको र यसले हाम्रो शिक्षा उत्पादनशील हुन नसक्ने र विद्यार्थीलाई वास्तविक जीवन र संसार सिकाउने जिम्मेवारी शिक्षकले पूरा गर्न नसक्ने उल्लेख छ । आलेखमा शिक्षालाई साच्चिकै उत्पादनशील बनाउन शिक्षकहरूले अन्य पुस्तक र अतिरिक्त समाचाहरू पढ्नु जरुरी हुन्छ भनिएको छ । लेखकले विद्यालय व्यवस्थापन समिति तथा प्रअले विद्यालयमा पढ्ने र छलफल गर्ने वातावरण सिर्जना गर्नु पर्छ भनेका छन् ।

यस्तै अर्को एक विचारमूलक आलेखमा विद्यार्थीको ज्ञान र सिपलाई बराबर प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । शिक्षण विधि र परीक्षा पद्धतिमा सुधार गर्नका लागि सिप सिकाइ पद्धतिमा पनि बराबर ध्यान दिनु जरुरी हुन्छ । आलेखमा विद्यमान शिक्षण सिकाइ, शिक्षकले पढाउनेमा केन्द्रित छ र यसमा सुधार ल्याउनका लागि सिकारूको सिकाइमा जोड दिनु आवश्यक छ भनिएको छ । यसले विविध ज्ञानको सिर्जना गर्न, अनुसन्धान गर्न र स्व–प्रयत्नमा आधारित सिकाइको खोजी गर्न सघाउने छ । आलेखमा कोभिड महामारीका कारण अवरुद्ध शिक्षण सिकाइ र शिक्षा प्रणाली सुधार गर्नुपर्नेमा जोड दिइएको छ । 

पाठक पत्रमा सरकारले निषेधाज्ञा लागू गरेसँगै त्रिभुवन विश्वविद्यालयले सेमेष्टर तथा वार्षिक परीक्षा सबै रोक्दा विद्यार्थीको शैक्षिक सत्र गुम्ने भएको छ भन्ने उल्लेख छ । कोरोनाका कारण शैक्षिक क्षेत्रमा परेको प्रभाव, यसले निम्ताएको अनिश्चितता र यसको क्षतिलाई कसरी न्यूनीकरण गर्ने विषयमा प्रश्न पनि गरिएको छ । 

अन्य समाचारहरूमा भारतको पोण्डिचेरी विश्वविद्यालयले कोभिडको कारण सबै विदेशी विद्यार्थीलाई छात्रावास छोड्न निर्देशन दिएको लगायतका रहेका छन् ।

‘शिक्षामा यो साता’ सञ्चार माध्यममा शिक्षाले पाउने स्थानलाई विश्लेषण गर्ने एउटा संयुक्त प्रयास हो । सञ्चार माध्यमले साता भर स्थान दिएका शैक्षिक विषय वस्तुको पहिचान र तिनको बृहत व्याख्या गर्दै, समाचारको पृष्ठभुमी व्याख्या गर्ने यो विश्लेषणको प्रमुख उद्देश्य हो । हामीलाई विश्वास छ यो प्रयासले नीति निर्माता र शिक्षासँग सम्बन्धित व्यक्तित्वहरुलाई यो क्षेत्रमा उठिरहेका सवाल र भइरहेका छलफलका विषयसँग साक्षात्कार गराउने छ । दैनिक पत्रिकाहरु कान्तिपुर र दी हिमालयन टाईम्समा गत १५ देखि २१ बैशाख सम्म प्रकाशित शिक्षा सम्बन्धि विषयवस्तुलाई आधार बनाई शिक्षा नीति तथा अभ्यास केन्द्रसंगको सहकार्यमा एडुखबरद्वारा यो विश्लेषण गरिएको हो – सम्पादक ।

यो विश्लेषणलाई अँग्रेजीमा पढ्नुहोस् : Media focus on reconstruction as pandemic shut down schools

प्रतिक्रिया