Edukhabar
आइतबार, ०६ असोज २०८१
विचार / विमर्श

कलमवीर

शनिबार, १२ मंसिर २०७२

- माधवप्रसाद घिमिरे / राष्ट्रकवि घिमिरे प्रकृति र मानवीय संवेदनाका भाव उतार्ने कवि हुन् । यी दुई विचको सम्बन्धलाई कविताका माध्यमबाट सरल ढंगले प्रस्तुत गर्ने उनको लेखन् क्षवि हो । यो साताको शिक्षा साहित्यमा उनकै कविता :

हौँ गोर्खाली प्रखर खुकुरी वीर हामी छँदैछौं,
तड्की फड्की, रिपुदल दली जंगमा गर्जदैंछौं
नेपाली हौं अब कलमको वीर बन्ने छ पालो,
बोलोस् हाम्रो हृदय सुरिलो एक सानो निगालो !

सालैज्यू ! को मधुर सुरमा झ्याउरे गीत गाऔँ
टाढा छायातलतिर बसी खेत, खोला जगाऔं,
नेपालीका सुख दुख सब जाति सम्झनामा सँगालौं
खोली बाहाँ विपुल दिलले विश्व सारा अँगालौं !

जो छन् अल्छी सकल तिनमा जोश मै बालिदिन्छु,
जो छन् हुस्सु सकल तिनमा होश मै हालिदिन्छु
जो छन् लाटा सकल तिनको ओठ मैं खोलिदिन्छु
नेपालीको सकल दिलको माँग मै बोलिदिन्छु !

नेपालीको दिल दिल नयाँ ज्योती सल्काइदिन्छु
नौलो आशा, नवरस, नयाँ चाख पल्काइदिन्छु
पेली थोत्रा नियम युगको चक्र पल्टाइदिन्छु
हाम्रो झण्डा अनी हिमचुलीमाथि झल्काइदिन्छु !

आओ नौला किरण मुरलीटाकुरामा बजाओ
आमा आफ्ना रगत जनका प्राण छोरा जगाओ
निस्की आओ हिमगिरि कुना कन्दराका तपस्वी !
आओ आओ तरुण युगका स्वप्नद्रष्टा महर्षि

आधुनिक नेपाली कविता संग्रहबाट

प्रकाशित मिति २०७२ मंसिर १२ गते

प्रतिक्रिया