अंग्रेजी भाषा प्रति मानिसहरूको मोह र अंग्रेजी सिक्दा विश्वव्यापी अवसर पाइने बुझाईले सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यमको प्रयोग बढ्दो छ । भाषा सिकाइका आधारभूत सैद्धान्तिक ज्ञान, प्रारम्भिक कक्षामा विद्यार्थीको भाषा सिकाइको शैक्षणिक पक्षलाई नजरन्दाज गरी अंग्रेजी भाषा प्रतिको आकर्षण बढ्नुका पछाडि, अहिलेको विश्वमा अंग्रेजीले पारेको प्रभाव र यसबाट आफ्ना सन्ततिको भविष्य उज्ज्वल हुने तृष्णामा अभिभावकहरू अभिप्रेरित हुनु र सामुदायिक विद्यालयका शिक्षकलाई पनि अंग्रेजी भाषामा विद्यालय सञ्चालन गर्दा आफ्नो प्रतिष्ठा वृद्धि हुने मनोभावना, प्रमुख कारण रहेको पाइन्छ ।
अंग्रेजीको विश्वव्यापीकरण र यसको व्यापक प्रयोगले प्रभाव पर्नु स्वभाविक भए पनि प्रारम्भिक कक्षाबाट नै अंग्रेजी माध्यममा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नु भाषाविदहरूको नजरमा चासोको विषय बनेको छ । यस आलेखमा अंग्रेजी भाषाको बढोत्तरीका पछडि भूमण्डलीकरणको प्रभाव र नेपालको सामुदायिक विद्यालयमा भएको अंग्रेजी माध्यमको प्रयोग, यसको समस्या र चुनौतिलाई केलाउने प्रयास गरिएको छ ।
भूमण्डलीकरण र अंग्रेजी भाषा
जतिबेला विश्वमा यातायातको विकास भएको थिएन, सञ्चारका प्रविधिले फड्को मारेका थिएनन्, त्यतिबेला मानिसहरू आफु जहाँ बसेको हो त्यही स्थानमा मात्र बस्न र काम गर्न बाध्य थिए । जब यातायातको विकास हुन थाल्यो, सञ्चार र प्रविधिले कोल्टे फेर्यो, भूगोलका सीमाहरू भत्किन थाले संसार एउटा घर जस्तो बन्न पुग्यो । विद्वान अर्जुन अप्पादुराइले संसारमा भइरहेको विकास र भूमण्डलीकरणको प्रभावका कारणहरूलाई पाँच वटा स्केप्सका आधारमा चर्चा गरेका छन् । उनका अनुसार इथ्नोस्केप अर्थात् मानिसहरूको चलायमानता, टेक्नोस्केप वा प्रविधिको दु्रत विकास र विस्तार, फाइनान्स स्केप अर्थात पैसाको विश्वव्यापी प्रयोग गर्ने प्रचलन, मिडिया स्केप वा संचारको क्षेत्रमा भएको असोचनीय विकास र प्रसार तथा आइडीयास्केप वा मानिसहरूको विचार र त्यसको प्रवाह हुने शक्तिमा भएको विकासले संसारलाई साँघुरो बनाइदियो र भूमण्डलीकरणको मान्यतालाई यथार्थमा परिवर्तन गरिदियो ।
भूमण्डलीकरणका धेरै आयामहरू मध्ये भाषा पनि एक हो । विश्वमा वर्चश्व राख्न सकिने ठानेर अंग्रेजी भाषाका प्रयोगकर्ता देशहरू बेलायत र अमेरिका यसको व्यापकतामा लागि परे । औपनिवेशिक रणनीति देखि विकासका अवयवहरू प्रयोग गरेर अंग्रेजी भाषालाई धेरैभन्दा धेरै मुलुकका पुर्याउन उनीहरू सफल भए । नेपाल कसैको उपनिवेश त भएन तर भाषा प्रयोगको दृष्टिकोणले नेपालमा अंग्रेजी भाषाको व्यापक प्रभाव परेको पाइन्छ । भूमण्डलीकरणको प्रमुख माध्यम भाषा भएकै कारण पनि संसारमा रोजगारीे वा अन्य प्रयोजनको लागि अंग्रेजी भाषा नै बढी प्रयोगमा आउने भएको कारण पनि नेपालमा मानिसहरू यसप्रति आकर्षित भएका हुन् । तर भाषा सिक्नु र भाषाप्रति आकर्षित हुनु स्वभाविक भए पनि हाल नेपालमा सामुदायिक विद्यालयमा अन्य भाषा प्रयोगमा निषेध गरी बालकक्षा देखि नै अंग्रेजी माध्यममा कक्षा सञ्चालन गरिने अभ्यास सुरु भएकाले भाषा सिकाइ प्रति रुची राख्नेहरूका लागि अध्ययनको विषय बन्न पुगेको छ ।
के हो अंग्रेजी माध्यम ?
विद्यालयमा पढाइ हुने नेपाली र अंग्रेजी बाहेकका विषयहरूलाई अंग्रेजीमा पढाउनु नै अंग्रेजी माध्यम हो किनकि नेपाली र अंग्रेजी विषय भाषा भएकोले यिनिहरू सम्बन्धित भाषामा नै पढाउने गरिन्छ । अंग्रेजी माध्यमलाई प्रष्ट पार्दै डियरडेन (२०१४) ले व्रिटिस काउन्सिले गरेको एक अध्ययनमा भनेकी छन् : “बहुसङ्ख्यक नागरिकको पहिलो भाषा अंगे्रजी नभएका मुलुक वा क्षेत्रमा शैक्षिक विषयहरू अंग्रेजी भाषा प्रयोग गरी पढाउनु नै अंग्रेजी माध्यम हो” ।
यस्तै एक अध्ययनमा कोसगन र हासिर्की (२०१७) ले “पाठ्यवस्तु लाई अंग्रेजी भाषाको प्रयोग गरी त्यससँग सम्बन्धित पाठ, क्रियाकलाप, मूल्याङकन समेत अंग्रेजीमै सञ्चालन गरिने पद्धतिलाई अंग्रेजी माध्यम भनिन्छ” भनेका छन् ।
के विद्वानहरूले भने झैँ नेपालमा अंग्रेजी माध्यममा सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूले नेपाली र अंग्रेजी बाहेकका विषय अंग्रेजी भाषको मात्रा प्रयोग गरी पठनपाठन गराएका छन् त ? यो गम्भीर अध्ययनको विषय बनेको छ ।
सामुदायिक विद्यालयको अभ्यास ?
यस पङक्तिकारले आफ्नो विद्यावारिधी अध्ययनका शिलशीलामा अंग्रेजी माध्यममा सञ्चालन भएका केही सामुदायिक विद्यालयको अवलोकन गर्दा यस्ता विद्यालयमा पाठ्यपुस्तक अंगे्रजी माध्यमको व्यवस्था गरिएको, विद्यार्थीले कक्षामा पढाइ हुदा अंग्रेजीमै लेख्ने गरेको, बोलीचालीमा आफुले जानेको भाषा बढी र अंग्रेजी भाषा निक्कै कम प्रयोग गरेको एवम् परीक्षामा अंग्रेजी भाषामा लेख्ने अभ्यास गरेको पाइयो भने शिक्षकले पढाउँदा अधिकांश समय नेपाली वा अन्य मातृभाषा प्रयोग गर्दैे शैक्षिक विषयलाई अंग्रेजीमा पढाउने गरेको देखियोे । सैद्धान्तिक रूपमा अंग्रेजी माध्यमका विद्यालयमा जुन तरिकाबाट पठनपाठन हुनुपर्ने हो त्यो तवरले भएको देखिँदैैन तथापि अंग्रेजी माध्यमको अभ्यासमा सामुदायिक विद्यालयहरू अभिपे्ररित भइरहेका छन् ।
किन चाहियो अंग्रेजी माध्यम ?
नवउदारवादको जगमा नेपालमा पनि संस्थागत विद्यालय स्थापना भई अंग्रेजी माध्यममा पठनपाठन सुरु गरे । शहरी भेगमा स्थापना भएका यस्ता विद्यालयहरू विस्तारैविस्तारै ग्रामीण क्षेत्रसम्म पुगे । गाँउमा खोलिएका निजी विद्यालयमा अभिभावकहरूले विद्यार्थी पढाउन थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी घट्न थाले, शिक्षकको मेहनत र इज्जतमा प्रश्न उठ्न थाल्यो, र यी समस्याबाट छुटकारा पाउन सकिने ठानेर सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यममा पठनपाठन सुरु गरियो । वैदेशिक रोजगारमा गएकाहरूले पनि अंग्रेजीको महत्व देखे, पत्रपत्रिका, औषधि देखि सूचना प्रविधिसम्मका सबै सामग्री र साधनमा अंग्रेजी भाषाको प्रयोग बढी भएको पाइए पछि अभिभावकहरूलाई अंग्रेजी सिक्नु भनेकै गुणस्तरीय शिक्षा प्राप्त गर्नु हो भन्ने लाग्यो र सामुदायिक विद्यालयहरू अंग्रेजी माध्यममा रूपान्तरण हुन थाले । हाल स्थानीय तह साधन स्रोतले सम्पन्न भएपछि अंग्रेजी माध्यमलाई सामुदायिक विद्यालय सञ्चालन गर्दा आफ्नो तहमा गुणस्तरीय शिक्षा प्रदान गरेको ठानिने देखेर पनि अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने गरेको पाइएको छ ।
अभ्यास उपयुक्त छ त ?
माध्यम भाषाका सन्र्दभमा हाम्रा नीतिगत दस्तावेजहरूमा प्रारम्भिक कक्षाहरू मातृभाषा वा विद्यार्थीले जानेको भाषामा सञ्चालन गर्नुपर्छ भनिएको छ । यसलाइ हेर्दा नेपालमा बालकक्षाबाट नै अंग्रेजी माध्यममा सञ्चालन गर्ने अभ्यास नीतिगत रूपमा उपयुक्त देखिदैन ।
नवउदारवादको नाफामुखी नीतिका आधारमा खोलिएका निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने नाममा आफ्नो भौतिक तथा जनशक्ति पूर्वधार विना नै सामुदायिक विद्यालयहरूलाई अंग्रेजी माध्यममा सञ्चालन गर्नु तर्कसङ्गत हुन सक्तैन । आवश्यक पर्ने भौतिक पूर्वधार निर्माण तथा पर्याप्त र गुणस्तरयुक्त जनशक्ति तयारी विना सुरु गरिएको अंग्रेजी माध्यमबाट उत्पादित जनशक्ति कस्तो होला ? यो प्रश्न पनि मननीय छ ।
बालउमेर भनेकै धेरै भन्दा धेरै भाषा सिक्ने उर्वर उमेर हो भनेर भाषाविदहरूले भनिरहेको सन्र्दभमा त्यही उमेरमा मातृभाषा सिक्न निषेध गरी अंग्रेजी भाषा मात्र बोल्न बाध्य गरी सिकाइ क्रियाकलापल सञ्चालन गर्दा बालबालिकाको सिकाइमा नकारात्मक असर परी उनीहरूको जुन मात्रामा भाषगत विकास हुनु पर्ने हो सो नहुने पो हो की, यो चिन्ताको विषय छ ।
निकास के ?
अंग्रेजी सिक्नै हुन्न वा सिकाउनै हुँदैन भन्ने होइन । अहिलेको विश्वव्यापीकरणको युगमा फैलिरहेको अंग्रेजी भाषा सिक्नु आवश्यक छ । अंग्रेजी सिक्नु र अंग्रेजीलाई माध्यम भाषाको रूपमा पठनपाठनमा प्रयोग गर्नु फरक कुरा हो । अंग्रेजीलाई माध्यम भाषको रूपमा प्रयोग नगरी पनि अंग्रेजी सिक्न सकिने तथ्य हाम्रा अगाडि प्रमाणित भइसकेको छ । यसर्थ अंग्रेजी सिक्नकै लागि भाषा सिकाइकोे आधारशिला उमेरमा रहेका बालबालिकाहरुलाई अंग्रेजी माध्यममा पढाउनु भन्दा पनि उनीहरूले घरमा सिकेको भाषाको ज्ञानलाई प्रयोग गर्र्दै कुनै एउटा मात्रा नभएर बालबालिकाहरूले जानेका सबै भाषाहरूलाई कक्षाकोठामा प्रयोग गर्ने परीवेश सिर्जना गर्देै शिक्षकहरूले सहजीकरण गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरेमा बालबालिकाहरूलाई भाषा सिकाइमा सहज हुन्छ । भाषासँग सम्बद्ध विद्वानहरूले अंग्रेजी भाषा सिकाउनका लागि पनि बालबालिकाहरूले घरमै सिकेको भाषालाई स्रोत भाषाको रूपमा प्रयोग गर्न सकिन्छ भनेको सन्र्दभमा उनीहरूले जानेको भाषा प्रयोग गर्दै अँग्रेजी सिकाउने बहुभाषिक शिक्षण सिकाइ क्रियाकलापमा जोड दिदा उपयुक्त हुने देखिन्छ ।
अंग्रेजी भाषामा भन्दा बाहेक अन्य भाषा बोल्नै नदिने भनेर निषेध गरेमा मात्र अंग्रेजी सिकिन्छ भन्ने भ्रमबाट मुक्त हुनु पहिलो आवश्यकता छ, किनकि जान्दैे नजानेको भाषा बालबालिकाहरूले कसरी प्रयोग गर्न सक्छन् ? उल्टै केही नबोली शान्त भएर बस्छन् । जसका कारण उनीहरूमा भाषागत विकास हुँदैन । विद्यालयको कक्षाकोठा उनीहरूका लागि दण्ड दिन तयार गरिएको स्थान जस्तो हुन्छ । यसर्थ कक्षा कोठामा एक भाषा नीति अपनाउने भन्दा पनि उनीहरूले जानेको भाषाको प्रयोग गर्दै अंग्रेजी सिकाउने बहुभाषिक शिक्षण सिकाइ क्रियाकलाप अपनाएर सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकाहरूमा अंग्रेजी भाषाको विकास गराउन सकिन्छ । यस्तो वातावरण बनाउन सबैले ध्यान दिनु आजको आवश्यकता हो ।
- सिद्धज्योति शिक्षा क्याम्पस सिन्धुलीको उप–प्राध्यापक घिमिरे त्रिभुवन विश्वविद्यालयबाट अंगे्रजी शिक्षामा विद्याावारिधि शोध गर्दै छन् ।
प्रतिक्रिया