Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

सबै हैन, जहाँ संक्रमण हुन्छ त्यही विद्यालय मात्रै बन्द गर्ने निर्णय

शुक्रबार, ०३ बैशाख २०७८

काठमाडौं - जुन विद्यालयमा संक्रमण देखिन्छ त्यही मात्रै बन्द गर्ने र अन्यमा स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाले निर्णय गरेको छ । कोरोना भाईरस कोभिड १९ को नयाँ भेरियण्ट संक्रमण उकालो लागेसँगै विद्यालय बन्द गर्ने नगर्ने चर्चा जारी रहेका बेला महानगरले यस्तो निर्णय गरेको हो । 

कुनै विद्यालयका शिक्षक विद्यार्थी वा कर्मचारमिा कोरोना संक्रमण भएको पाईएमा उक्त विद्यालय अर्को  सूचना नभए सम्म कम्तिमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न महानगरले भनेको छ । त्यस्तो अवस्था नभएका विद्यालयले सामाजिक दुरी कायम गर्ने मास्क अनिवार्य प्रयोग गर्ने, तथा सावुन पानीले राम्रोसंग हात धुने, सेनिटाईजरको प्रयोग गर्ने लगायतका मापदण्ड पालना कडाईका साथ लागू गर्न महानगरले भनेको छ । यसरी विद्यालय सञ्चालन गर्दा अभिभावकका सहमती लिनु पर्ने महानगरको निर्णय छ । 

बिहीबार स्वास्थ्य मन्त्रालय अन्तर्गत  स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) ले संक्रमण जोखिमलाई ध्यान दिदैं काठमाडौं सहित विभिन्न १४ जिल्लाका विद्यालयहरु बन्द गर्न सार्वजनिक अपिल गरेको थियो । आठ बुँदे अपिलमा सहभागी नहुन आग्रह गरिएको क्षेत्रमा विद्यालयलाई पनि राखिएको हो ।

मन्त्रालयले काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर सहित कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई केन्द्रले अति प्रभावित जिल्लाका रुपमा राखेको छ । 

 

प्रतिक्रिया