Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
गतिविधि

तलब नपाएका शिक्षकको मागमा सहमती

सोमबार, ३० चैत्र २०७७

ललितपुर - विद्यार्थीबाट साविककै शुल्क उठाएर पनि तलब नपाएको भन्दै आन्दोलनरत हात्तीवन स्थित आईजे पायोनियर स्कुलका शिक्षक र व्यवस्थापन पक्ष बिच नौ बुँदे सहमती भएको छ । कोरोनाको महामारीका बेलामा पनि नियमित शुल्क उठाएको तर शिक्षक कर्मचारीलाई भने गत बैशाख देखि नै पूर्ण तलब नदिएको गुनासो सहित उनीहरुले अभिभावकलाई पत्र पठाएका थिए । 

तलब नपाए पछि शिक्षकले लेखे अभिभावकलाई पत्र

तलब नदिने र उल्टै आफूहरुलाई नकारात्मक बनाउन दुष्प्रयास गरिएको भन्दै अभिभावकलाई पत्र पठाएका शिक्षकसँग व्यवस्थापनले सहमती गरेको हो । 

गत चैत २४ गते शिक्षकले अभिभावकलाइ पत्र पठाएका थिए । व्यवस्थापनले गत शुक्रबार शिक्षकसँग सहमती गरे पनि सहमती पत्रमा भने २५ गते बुधबारको मिति राखिएको छ । 

उक्त पत्र सँगै दवावमा परेको व्यवस्थापन, यही महिनाबाट शुरु गरी आगामी असोज भित्रमा बाँकी तलब भुक्तान गर्न सहमत भएको छ । उक्त अवधिमा ७७ दशमलब ५ प्रतिशत तलब दिन व्यवस्थापन राजी भएको हो । गत बैशाख देखि बाँकी रहेको गत पुस सम्मको छुट तलब ७७ दशमलब ५ प्रतिशतको आधारमा खाईपाई आएको तलबलाई अगाडीका महिनामा दिईएको तलब कटाएर दिन व्यवस्थापन सहमत भएको हो । बाँकी रहेको तलब दिदाँ बेसिक, ग्रेड र महंगी भत्तालाई आधार मानिने छ । सञ्चयकोषको रकम पठाउँदा ७७ दशमलब ५ प्रतिशत मानी सोको १० प्रतिशत विद्यालयले थप गरी गत बैशाख देखि पुस सम्म वा सत प्रतिशत पाएको महिना देखि पठाउने र नागरिक लगानी कोषको रकम व्यक्तिगत रकम भएका कारणले सम्बन्धित शिक्षक तथा कर्मचारीको कबुल गरिएको रकम व्यक्तिगत ईच्छाका आधारमा पठाउने सहमती भएको छ । 

सहमती पत्रमा विद्यालयका तर्फबाट सञ्चालक इन्दिरा श्रेष्ठ र प्रीन्सिपल रामु पाण्डे र शिक्षकहरुको तर्फबाट संस्थागत विद्यालय शिक्षक युनियनको एकाइ कमिटि अध्यक्ष विमला शाहा र सचिव केशब कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

 

प्रतिक्रिया