Edukhabar
विहीबार, १३ बैशाख २०८१
गतिविधि

शिक्षा ऐन संशोधन भएको चार बर्ष पछि बल्ल कार्यान्वयन !

शुक्रबार, २७ चैत्र २०७७

काठमाडौं - चार बर्ष अघि संशोधन भएको शिक्षा ऐनको व्यवस्था कार्यान्वयन गर्दै सरकारले विदेशमा नेपाली पाठ्यक्रम अनुसार कक्षा १२ सम्म पठन पाठन गराउन सक्ने निर्णय गरेको छ । गत शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकको उक्त निर्णय सँगै ऐनले गरेको कक्षा १२ सम्मको विद्यालय तहको संरचना अनुसार कक्षा १२ सम्म पठन पाठनको व्यवस्था गर्ने बाटो खुलेको हो । 

'विदेशमा बस्ने नेपाली समुदायले वा ती समुदायका लागि काम गरिरहेका संस्थाले वा नेपाली पाठ्यक्रममा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न चाहनेले सम्बन्धित देशको कानून अनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालयमा माध्यमिक तहसम्मको पठन पाठन सञ्चालन गर्न माग भई आएमा त्यस्ता विद्यालयलाई नेपाली पाठ्यक्रम अनुसार पठनपाठन सञ्चालन गर्न सर्त तोकि अनुमति दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्विकृती दिने' मन्त्रीपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले सार्वजनिक गरेका छन् । 

२०७३ असार १५ गते भएको शिक्षा ऐनको आठौं संशोधनले संरचना परिवर्तन गर्दै कक्षा १२ सम्मलाई विद्यालय तहका रुपमा हुने व्यवस्था गरेको थियो । उक्त व्यवस्था भए पनि विदेशमा भने अहिले सम्म कक्षा १० सम्म मात्रै पठन पाठन गराउन पाइने व्यवस्था विद्यमान थियो । नेपाली पाठ्यक्रम पठन पाठन हुने त्यस्ता विद्यालयको निरीक्षण सम्बन्धित देशमा रहेका दूतावासले गर्ने व्यवस्था छ । 

प्रतिक्रिया