Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

उभ्याई छाडे साना साना विद्यार्थी !

शुक्रबार, ११ मंसिर २०७२

काठमाडौं - ग्याँस नभएकै कारण रोजीना गिरीलाई पछिल्लो समय स्कुल जाने बेलामा सँधै हतार हुन्छ । विजुलीको ठेगान छैन, दाउराको आगोमा पकाउँदा उनको परिवार हैरान भएको छ ।

चक्रपथमा उभिएपछि भात पकाउने ग्याँस सजिलै पाईन्छ भन्ने उपाय उनको दिमागमा घुसाईएको छ । त्यही आशाले बेम्स एकेडेकी नख्खुमा कक्षा सातमा अध्ययनरत गिरी मानव साङ्लोमा सहभागि भएको बताउँछिन् ।

चक्रपथको नख्खु क्षेत्रमा लाममा उभिएकी गिरीसँग कुरा गर्दा उनका अरु साथिहरु पनि विरोध गर्नुको फेरहिस्त दिदैं थिए – 'ग्याँस छैन, पेट्रोल छैन, पढ्न पाईएन ।'

लाममा उनका कक्षाका साथी मात्रै हैन अन्य विद्यालयका उनकै उमेरका विद्यार्थी पनि प्रसस्तै थिए । भैसेपाटीको त्रिलोचन एकेडेमीमा अध्ययनरत स्मृति अछामीले आफ्नो नाम त फ्याट्ट भनिन् तर कक्षा बताउने बेलामा नजिकै रहेका शिक्षकको अनुहारमा पुलुक्क हेर्दै सानो स्वरले भनिन् - 'कक्षा सात ।'

उनको स्वर मलिनो भएपछि नजिकैका शिक्षकले भने - 'हाम्रो विद्यालय प्राईमरी हो ठूला विद्यार्थी कहाँ बाट ल्याउनु ?' विद्यालयका संस्थापक समेत रहेका वसन्त अर्यालले नाकाबन्दी र तराई आन्दोलनका कारण परेको असरका बारेमा नयाँ पुस्तालाई पनि जानकारी दिन सहभागि गराएको तर्क गरे । 'सानोलाई पनि थाह दिनु पर्यो नी' उनले भने ।

यस्तै बेम्सका प्रीन्सिपल कन्हैया सिंह कुवँर संख्या देखाउन पनि साना विद्यार्थी सहभागि गराउनु परेको तर्क गर्दै थिए । 'रिङ्रोडबाट यति नजिक छ, एकैछिन विद्यार्थी सहभागि गराउँदा केही हुन्न' उनको तर्क थियो ।

शुक्रबार चक्रपथमा देखिएको यो प्रतिनिधि पात्र र घटना हो । कार्यक्रममा प्राथमिक तहमा पढने साना साना बालबालिकालाई पनि उभ्याईयो ।

तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण पठनपाठनमा समस्या भएको भन्दै निजी शैक्षिक संस्थाहरुको साझा संगठन अपिन र विद्यार्थी संगठनले विद्यार्थीलाई सडकमा उतारेसँगै उनीहरुले भोलिका दिनमा यस्तै प्रकृतिको कार्यक्रममा अरुले विद्यार्थी सहभागिता गराउँदा विरोध गर्ने नैतिक धरातल गुमाएका छन् । 

विरोधका लागि गरिएको प्रदर्शनले बालबालिकाको अधिकार संकुचित बनाएको मात्रै छैन आबेगले पार्ने दिर्घकालिन प्रभावका बारेमा नीजिका साहुजी र विद्यार्थी सँगठनका नेताहरु नराम्ररी चुकेका छन् । तराईमा जारी आन्दोलन निष्कर्षमा पुगेको छैन, बल्ल तल्ल खुलेका त्यहाँका विद्यार्थीलाई आन्दोलनरत दलले सडकमा उतारे भने के गर्ने ? यस तर्फ सोच्नु पर्दैन ?

प्रदर्शनमा बालबालिकाको उपस्थितीले उनीहरुको अधिकार कुण्ठित हुने भन्दै राष्ट्रिय बाल कल्याण समिति र महिला तथा बालबालिका मन्त्रालयले सरकारको ध्यानाकर्षण गराईसकेको अवस्थामा सडकमा बालबालिका उतारिएको छ ।

विद्यार्थीको पठन पाठन कुनै पनि बहानामा अबरुद्ध गर्न पाईदैंन । त्यसमाथि नाकाबन्दीका कारण पठन पाठनमा भएको समस्या अक्षम्य अपराध हो । अर्को डरलाग्दो कुरा त के हो भने, राजनीतिक मुद्धामा विद्यार्थीको प्रयोग गर्नु झन् खतरनाक हो । शुक्रबारको प्रदर्शनले राजनीतिक गतिविधिमा विद्यार्थीको प्रयोगलाई संस्थागत बनाउने गोरेटो खनेको छ ।

अकस्मात आन्दोलनका कारण पठन पाठन अबरुद्ध भएको हैन । एक सय भन्दा धेरै दिन सम्म तराईमा ठप्प भएको पठन पाठन सुरु गराउने बारेमा कुनै पहलकदमी नलिने निजीका साहुजी र विद्यार्थी सँगठनलाई सानासाना नानी चक्रपथमा उतार्न हतार हुनुको कारण के हो ? बहसको जरुरी छ ।

जिल्ला जिल्लामा आफ्ना शाखाहरु रहेका नीजि शिक्षण संस्थाका संगठनहरु तराईमा भएको अबरोधका बेला किन कानमा तेल हालेर बसे ?

उनीहरु यतिखेर काठमाडौंमा जाग्नुको भित्रि कारण के छ ? पढ्नुहोस् ।

विद्यार्थी उभ्याएर चक्रपथ घेराऊ शिक्षा कि स्वार्थ ?

नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका अध्यक्ष लक्ष्य बहादुर केसी कक्षा ८ भन्दा तलका विद्यार्थी सहभागि नगराउने भनेर कडाई गरेको बताउँदै कतै कतै साना विद्यार्थीको प्रयोग भएको भए गल्ति स्विकार्ने बताउँछन् । 'देशलाई असाध्यै समस्या पर्यो, हामी चुप लागेर बस्नै सकेनौं र प्रदर्शनमा उत्रिएका हौं' उनले भने, 'यस्तो बेलामा कही कतै नरम गरम हुनु सामान्य रुपमा लिईदिनु पर्छ ।'

आन्दोलनको घोषणा गरेपछि भए गरेका गल्ति स्विकार्नु नेतृत्वको सकारात्मक पक्ष होला । तर यही बहानाबाट शिक्षा क्षेत्रमा राजनीतिक गतिविधिले फैलिने बाटो पाउनु देशको शैक्षिक बाताबरणलाई खलबल्याउन काफि छ ।

प्रकाशित मिति २०७२ मंसिर ११ गते

प्रतिक्रिया