Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

विद्यार्थी उभ्याएर चक्रपथ घेराऊ शिक्षा कि स्वार्थ ?

विहीबार, १० मंसिर २०७२

- एडुखबर टिप्पणी / काठमाडौं भारतीय नाकाबन्दी विरुद्ध निजी शैक्षिक संस्थाहरुको साझा संगठन अपिनले शुक्रवार विद्यार्थी प्रयोग गरेर चक्रपथमा मानव साङ्लो बनाउने घोषणा गरेपछि यतिखेर प्रश्न उठेको छ, सहुजीहरुको यो व्यवहार शिक्षाका लागि हो कि व्यापारिक स्वार्थका लागि ?

नाकाबन्दीले विद्यार्थी पढ्न नपाएको र त्यसलाई अन्तराष्ट्रियकरण गर्न मानव साङ्लो आयोजना गरेको अपिनले पत्रकार सम्मेनल गरेर जनाएको छ । अपिनको यो अभियानमा सधैँ विपरित ध्रुवजस्ता लाग्ने राजनीतिक दलका विद्यार्थी भातृ संगठनहरु पनि काँध जोड्न आइपुगेका छन् । तराईमा विद्यालय ठप्प भएको १०४ दिन पछि काठमाडौंमा हुन लागेको यो विद्यार्थी सहभागिताको मानव साङ्लो तेल नपाएपछि एकाएक जागेको राष्ट्रियता त हैन ? प्रश्न गर्न सकिने ठाउँहरु धेरै छन् ।

प्रत्येक अभियान वा कार्यका क्रिया र प्रतिक्रिया हुन्छन् । प्रत्येक अभियान भित्र कारण पनि लुकेका हुन्छन् । अपिनको यो प्रतिक्रिया पक्कै पनि भारतीय नाकाबन्दीले जन्माएको हो । सतहमा यसको कारण विद्यार्थीले पढ्न नपाएको विषयको अन्तराष्ट्रियकरण जस्तो देखिए पनि अपिनले अन्तत आफ्नो र राजनीतिक स्वार्थ पूरा गर्न खोजेको देखिन्छ । अपिनले औपचारिक रुपमा विद्यार्थीलाई मानव साङ्लोेमा सहभागी गराउने घोषणापछि भोलिका दिनमा यस्तै प्रकृतिको कार्यक्रममा अरुले विद्यार्थी सहभागिता गराउँदा त्यसको विरोध गर्ने नैतिक आधार गुमाएको छ ।

यद्यपि यसअघि निजी विद्यालयले विद्यार्थीलाई आफ्नो स्वार्थमा प्रयोग नगरेका भने होइनन् । यसपल्ट संयोग कस्तो परेको छ भने सधै बाझा बाझ गरेर, राजनीतिक मुद्दामा विपरित ध्रुवमा रहेर र अझ राजनीतिक स्वार्थमा विद्यार्थी प्रयोग गरेको सबैभन्दा बढी आक्षेप लगाइएका विद्यार्थी संगठनसग नै मिलेर गर्न लागिएको कार्यक्रमले विषयलाई अन्तराष्ट्रियकरण त गर्ला तर निजी शिक्षालय प्रतिको दृष्टिकोणलाइ साँघुरो बनाइदिने पक्का छ ।

विद्यार्थी संगठनले हिजो पनि यस्तो काम गरेका थिए, आज पनि गरिरहेका छन् र भोलि पनि गर्नेछन् । तराईमा आन्दोलनरत दलहरुले बन्द विद्यालयका फुर्सदिला विद्यार्थीलाई हातमा राँको बोकाएर, ढुंगामुढा बोकाएर कुदाइरहेका छन् । शैक्षिक संस्थाहरुको पनि संस्था भनेर आफूलाई दावी गर्ने अपिनले पटक पटक यस्ता क्रियाकलापमा विद्यार्थीको प्रयोगको विरोध गरेको छ । आन्दोलनकारीले ढुंगा बोकाउनु र अपिनले काठमाडौंका चक्रपथमा केटाकेटीलाई ठड्याउनुमा कुनै तात्विक अन्तर छैन । यी दुवै स्वार्थका लागि हुन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धि महासन्धिका अनुसार १४ बर्षभन्दा मुनिका बालबालिकालाई कुनै पनि विरोध प्रदर्शन, जुलुस तथा नाराबाजीमा सहभागी गराईनु उनीहरुको बाल अधिकारको विरुद्ध हो ।
शुक्रवारको मानव साङ्लो घोषणा गर्नु अघि शैक्षिक क्षेत्रका अन्य गतिविधिको अवलोकन जरुरी छ । शैक्षिक सत्रको आठ महिनाको अवधीमा दुई महिना पनि राम्ररी पढाइ भएको छैन । तराई क्षेत्रमा त लगातार ३ महिनादेखि विद्यालय बन्द छन् । भारतीय नाकाबन्दी नहुँदा पनि विद्यालय  पटक पटक बन्द भएका थिए ।

नाकाबन्दी कुनै पनि हालतमा स्वीकार्य छैन । कम्तीमा अपिन र दलका भातृ संगठन विद्यार्थी संघ संस्थाले त्यसको विरोध गरे । यो स्वागत योग्य कुरा हो । त्यसलाई अन्तराष्ट्रियकरण गर्ने नाममा विद्यार्थी प्रयोग कति उचित हो ? सार्क मुलुकको संयोजक रहेको राज्यले त्यसका बारेमा केही नबोलेको, संयुक्त राष्ट्र संघको वैठकमा विषयको उठान पछि राष्ट्रसंघका महासचिव वान कि मुनले त्यसको सम्बोधन सहित विज्ञप्ति जारी गरिसकको अवस्थामा विद्यार्थी प्रयोग गरेर गर्न खोजिएको अन्तराष्ट्रियकरण भनेको के हो ? विद्यार्थी प्रयोग विना निजी संस्थाका सञ्चालकले मात्र विरोधको आगुवाइ गरेर आम नागरिकको सहभागितामा मानव साङ्लो संभव थिएन ?

यसमा राजनीतिक र व्यापारिक स्वार्थ जोडिएर आएको छ । नाकाबन्दी पछि तेल अभावमा सबैभन्दा ठूलो प्रभाव निजीलाई राजधानीमा परेको छ । देशभर रहेका निजी मध्ये सबैभन्दा बढी काठमाडौंमा छन् । मेडिकल कलेज हुन् वा निजी विद्यलाय, प्लस टु हुन् या इन्जिनियरिंगका कलेज सबै काठमाडौं केन्द्रीत छन् । जब नाकाबन्दीले तेल आएन र निजीका सवारी थन्किएर तीन महिनापछि उनीहरुलाई राष्ट्रियताको होस् आयो र विषयलाई अन्तराष्ट्रियकरण गर्ने सुद्दि फिरेको मात्रै हो ।

नाकाबन्दीलाई अन्तराष्ट्रिय करण गरेसँगै निजी शिक्षालयले पढाइ नभएको यस अवधिको यातायात शुल्क र मासिक शुल्क नलिने घोषणा गर्न सक्छन् ? किन भने यस अघिको भूकम्पका बेला पनि शुल्कका विषयमा विवाद बढेको थियो । निजील ेप्रष्टसित आफूहरु शुल्कमा तल माथि नहुने प्रष्ट्याएका थिए । त्यसले के प्रमाणित गर्छ भने निजी शिक्षालय यतिखेर आफ्नै व्यापारिक स्वार्थमा छ र राजनीतिक स्वार्थका लागि सघाइ रहेको मात्रै छ । राजनीतिक स्वार्थमा सघाउनु ठीक वा वेठीक तर्क गर्न सकिएला तर आफ्नो शैक्षिक व्यापारका लागि बालबालिकाको प्रयोग चाहिँ कुनै हालतमा स्वीकार्य हुदैन ।

अपिनले बुझ्नु पर्छ नाकाबन्दी क्षणिक हो । रानीतिक चासो विना कुनै अपिन वा विद्यार्थी संगठनको विरोधले न यसको अन्तराष्ट्रियकरण हुन्छ न समाधान । ढिलो चाँडो राजनीतिक सुझबुझमानै यसको समाधान जरुरी छ ।
यत्रो समय विद्यलाय बन्द हुदाँ, आन्दोलनमा बालबालिकाको प्रयोग हुदाँ अपिन र विद्यार्थी संगठनलाई किन चासो भएन ? किन भने उनीहरुको राजधानीको व्यापार राम्ररी चलेको थियो । तराई हेर्ने फुर्सद उनीहरुलाई थिएन । चक्रपथमा विद्यार्थीलाई उभ्याउनुको साटो तराईका विद्यालय सञ्चालन, त्यहाँका विद्यार्थीको सिकाइका वैकल्पिक उपायहरुमा यस्ता शिक्षालयले चासो दिएको खोइ ? किनभने तराईमा उनीहरुका निजी शिक्षालय छैनन् । ठूलो आम्दानीको स्रोत भएका शिक्षालय राजधानीमै छन् र अधिकारको स्वार्थ राजधानीमै केन्द्रीत छ ।

शुक्रवार जसरी निजी शिक्षालयले विद्यार्थी उभ्याएर अन्तराष्ट्रियकरण गर्ने बहाना गर्छन् भोलि मधेस केन्द्रीत दलहरुले आन्दोलनको समर्थनमा विद्यार्थी उभ्याए भने त्यसमा अपिनको धारणा के हुनेछ ? अपिनले त्यसको जवाफ दिनु पर्छ ।

यहाँ फेरि पनि दोहोर्याइन्छ, अपिनको नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गर्ने आन्दोलन संस्थागत होला तर अपिनको स्वार्थमा विद्यार्थीको प्रयोग चाहि कुनै हालतमा मान्य हुदैन । आन्दोलनमा ढुंगा बोकेर हिंड्नु र अपिनको अभियानमा उभिनु केटाकेटीका लागि उस्तै हो ।

राजनीतिक स्वार्थ

अपिनले उठान गरेको विषय आफैमा राजनीतिक स्वार्थ केन्द्रीत छ ।

यसमा कुनै द्विधा छैन कि सत्ताको मुख्य घटक नेकपा एमालेको निर्देशनमा सरकारलाई सघाउन अपिनले यो काम गर्न लागेको हो । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसी एमाले समर्थित हुन् । मधेस केन्द्रित दलहरुको आन्दोलन मत्थर पार्न र भारतलाई दवाव दिन एमालेको निर्देशनमा यस्तो निर्णय भएको प्याब्सनका कही दाधिकारी बताउँछन् ।

त्यसो त कार्यक्रम घोषणाको पत्रकार सम्मेलनमा काँग्रेसका सांसद तथा नेविसंघका अध्यक्ष रञ्जित कर्ण र काँग्रेसबाट मनोनित सांसद उमेश श्रेष्ठ पनि सहभागि थिए । एमाले मात्रै अघि बढ्यो भने विद्यार्थी एवं शिक्षाका सरोकारवालाहरु विचमा आफ्नो उपस्थिती कमजोर हुने ठानेर काँग्रेसले हतार हतार उनीहरुलाई सहभागि गराएको श्रोतको दावी छ ।

झट्ट हेर्दा शैक्षिक अभियान देखिए पनि यो नित्तान्त राजनितिक कार्य भएको भन्दै बीहिबार दिनभरी जसो यसको चर्चा परिचर्चा चल्यो ।

प्याब्सनका महासचिव डिके ढूंगाना भने चक्रपथमा विद्यार्थीकै मानव साङ्लो बनाएर नाकाबन्दी खोल्न भारत माथी दबाब सिर्जना गर्न लागिएको दावि गर्छन् । 'शुक्रबार बिहान विद्यार्थी हातमा प्ले कार्डसहित रिङ रोड गई १ घण्टा मानव साङ्लो बनाई प्रदर्शन गर्नेछन्’ कार्यक्रम ढाँचा बताउँदै उनले भने ‘यसले राष्ट्रिय अन्तराष्ट्रिय नाकाबन्दीले उत्पन्न गरेको मानवीय संकटका बारेमा आवाज उठाउन सघाउने छ ।’

राष्ट्रिय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल बालबालिकालाई कुनै पनि प्रदर्शनमा सहभागी गराईनु बाल अधिकार विरुद्ध भएको भन्दै बालबालिकालाई प्रयोग गर्न नहुने बताउँछन् ।
‘मानव साङलोका नाममा प्रदर्शन गर्दा बालबालिकाको प्रयोग गर्न लागिएको छ’ एडुखबरसंग कुरा गर्दै उनले भने ‘यो उल्टै बालबालिकाको भएको अधिकार पनि हनन् हो ।’ बालबालिकाको शिक्षा प्राप्तीका लागी अरुलाई देखाउनैका लागी विरोध प्रदर्शन गर्नुले राम्रो सन्देश नजाने उनले बताए ।

समिति, महिला तथा बालबालिका मन्त्रालयसंग सयुक्त रुपमा विज्ञप्ती जारी गरेर सरकारको ध्यानाकर्षण गर्ने तयारीमा छ ।

तर ढुङ्गानाले कक्षा ८ भन्दा माथीका विद्यार्थीलाई मात्र प्रदर्शनमा आउन भनिएको र त्यसभन्दा मुनिका कक्षाका विद्यार्थीलाई प्रदर्शनमा नआउन भनिएको स्पष्ट पारे ।

‘हामीले दबाब दिने हो, बालबालिकाले पढ्न पाएनन् भनेर त्यस माथी झन् बालबालिका लिइयो भने राम्रो सन्देश जादैन भन्ने कुरा हामीलाई राम्ररी थाहा छ । हामी त्यसो गर्दैनौँ ।’ उनले भने ।
प्रदर्शन प्याब्सन, एनप्याब्सन, हिसान, अपिन, अभिभावक संघ, विद्यार्थी संघ संगठन लगायत संघ संस्थाको अगुवाईमा हुन लागेको बताए पनि नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी बालबालिकालाई सहभागी गराउने कुरामा सहमति नभएको बताउँछन् ।

उनले आफुहरुले यो मुद्धा शुरुमै उठाएको र प्याब्सन लगायत सबै संस्थाहरुले ८ कक्षा भन्दा माथीका विद्यार्थीलाई मात्र सहभागी गराउने भनेपछि आफुहरुले त्यसलाई समर्थन गरेको उनको तर्क छ । 
‘मैले पहिले नै प्याब्सन, एनप्याब्सन लगायत सबैलाई भनेको छु, बालबालिका लिइयो भने गम्भिर परिणाम भोग्नुपर्छ भनेर त्यसैले आशा गरौँ त्यसो नहोला ।’ उनले भने ।
यस्तै शिक्षा मन्त्रालयले आन्दोलन वा कुनै पनि प्रदर्शनमा बालबालिका सहभागी गराउन नहुनेमा जोड दिएको छ ।

‘बालबालिकालाई आन्दोलनमा प्रयोग गर्दा त्यसको सन्देश के ? अनि तल माथी केही भईहाल्यो भने जिम्मेवार को ?‘ मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलले प्रश्न गरिन् ।  बालकालिकालाई आन्दोलनमा सहभागी गराइसके पछि त्यो बालअधिकार हनन् हुने मन्त्रालयको धारणा रहेको उनले बताईन् ।

नेविसंघका प्रवक्ता युपी लामिछाने ५ लाख विद्यार्थीलाई सकडमा उतारेर २७ किलोमिटर शान्तिपूर्ण प्रदर्शन गर्ने दावी गर्छन् ।  उनले भने ‘यसमा प्रष्ट छ बालबालिका जादैनन् तर गए भने सम्हाल्नुपर्छ । सकभर बालबालिका लिने कुरा कसैको पनि भएको छैन ।’

सुरक्षाका दृष्टिकोणले पनि बालबालिकाको प्रयोग चुनौतिपूर्ण छ ।

बालअधिकारकर्मी धिताल समस्या एकातिर छ, उपचार अर्कै तिर खोजिदैं गरेको टिप्पणी गर्छन् । उपयुक्त ठाउँमा दवाव र प्रदर्शन गर्नुको साटो बालबालिकालाई सडकमा लिएर अरुलाई हामीले यो गर्योैै भन्नु जायज नभएको उनको निष्कर्ष छ ।

प्रकाशित मिति २०७२ मंसिर १० गते

प्रतिक्रिया