Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

कोभिड विरुद्धको खोपका लागि शिक्षकको प्राथमिकता अस्पष्ट

विहीबार, ०२ पुस २०७७

काठमाडौं - विश्वब्यापी महामारी कोरोना भाईरस (कोभिड - १९) का विरुद्ध लगाईने खोपमा शिक्षकलाई कुन प्राथमिकतामा राख्ने भन्ने विषय अझै सम्म अस्पष्ट छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको तीन चरणको प्राथमिकता निर्धारण सूचीमा शिक्षकलाई समावेश गरिएको छैन । विकसित देशहरुमा खोप लगाउने क्रम शुरु भईसकेको छ । तर, नेपालमा खोप ल्याउने र भण्डारण गर्ने तथा वितरण प्रणाली निर्धारण गर्ने बारेमा अहिले सम्म सरकारले स्पष्ट खाका सहितको कार्ययोजना नबनाएको भन्दै आलोचना शुरु भएको छ ।   

'शिक्षकलाई कुन प्राथमिकतामा राख्ने भन्ने सोच्ने फुर्सद कसैलाई छैन' उक्त श्रोतले भन्यो 'अहिले स्वास्थ्य मन्त्रालय र मातहतका निकायका अधिकारीहरुको ध्यान खोप ल्याउने र भण्डारण गर्ने विषयमा मात्रै केन्द्रित छ ।'

करिब ७२ प्रतिशत नेपालीलाई खोप लगाउने गरी स्वास्थ्य मन्त्रालयले योजना बनाएको छ । जस अन्र्तगत तीन चरणको प्राथमिकता निर्धारण गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप लगाईने योजना बनाईएको छ । स्वास्थ्य र सामाजिक समूहको यो वर्ग कुल जनसंख्याको ३ प्रतिशत हुने स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । दोस्रो चरणमा ५५ वर्ष भन्दा माथिका सबै ज्येष्ठ नागरिक, ४० देखि ५४ वर्षका प्रवासी कामदार सहितका दीर्घरोगीलाई लगाइने योजना बनाईएको छ । यो संख्या १७ प्रतिशत हुन्छ । तेस्रो चरणमा ४० देखि ५४ बर्षका बाँकी सबैलाई खोप दिईने छ । यो संख्या ९ दशमलब ५५ प्रतिशत हुन्छ र रहेका र १५ देखि ३९ वर्ष उमेर समूहका ५२ प्रतिशतलाई लगाउने सरकारले योजना बनाएको छ । १५ बर्ष भन्दा मुनिका बालबालिकाका लागि भने अहिले सम्म खोप तयार भएको छैन । 

स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको उक्त प्राथमिकतामा शिक्षकका लागि छुट्टै वर्ग निर्धारण गरिएको छैन । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी शिक्षक पनि अग्रमोर्चामा संलग्न भएकाले छुट्टै वर्ग निर्धारण गर्न जरुरी रहेको बताउँछन् । बालबालिकासँग सिधै सम्पर्क हुने वर्ग भएकाले शिक्षकका विषयमा राज्य गम्भिर हुनु पर्ने उनको तर्क छ । 

'स्वास्थ्य र सुरक्षाका क्षेत्रमा संलग्नहरुलाई प्राथमिकतामा राखिएको भन्ने सुनिएको छ, तर शिक्षक पनि प्राथमिकतामा राख्नु पर्छ' उनले भने, 'यस विषयमा महासंघले छिट्टै औपचारिक रुपमै सरकाको ध्यानाकर्षण गर्ने छ ।'

खोप उपलब्ध गराउने विषयमा मन्त्रालयहरु बिच अनौपचारिक छलफल भए पनि मन्त्रालयगत रुपमा संलग्न जनशक्तिलाई दिने प्राथमिकताका बारेमा औपचारिक निर्णय भईनसकेको शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताए । अहिले सम्मका अनौपचारिक छलफलमा शिक्षकहरु मध्ये पनि प्राथमिक तहका शिक्षकलाई पहिलो प्राथमिकता दिनु पर्ने विषय उठेको उनले बताए । १५ बर्ष भन्दा कम  उमेरका बालबालिकाका लागि खोप नै नबनेको अवस्थामा उनीहरुलाई हुने जोखिमलाई ध्यान दिदैं प्राथमिक तहका शिक्षकलाई प्राथमिकता दिनु पर्छ भन्ने अनौपचारिक छलफल भएको उनले बताए ।  

'शिक्षकलाई पनि खोपको प्राथमिकतामा राख्न जरुरी रहेको बारेमा म स्पष्ट छु' उनी भन्छन् 'अब औपचारिक छलफल पछि शिक्षक वर्ग पनि प्राथमिकतामा पर्नेमा म आशावादी छु ।' 

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक गौतम पहिलो चरणमा कोभिडको रोकथाम, नियन्त्रण र शव ब्यवस्थापन लगायतका यस सम्बन्धि व्यवस्थापनका क्षेत्रमा प्रत्यक्ष जोडिने वर्गलाई प्राथमिकतामा राखेर योजना निर्माण गरिएको बताउँछन् । राज्यका सबै नागरिकलाई प्राथमिकतामा राखेरै मन्त्रालयले योजना निर्माण गरिरहेको उनले बताए । 

'पेशागत रुपमा डाक्टर, सुरक्षाकर्मी र जोखिम उमेर समूहका व्यक्ति प्राथमिकतामा पर्नु स्वभाविक हो, शिक्षकका बारेमा छुट्टै वर्ग निर्धारण नगरिए पनि अहिले सम्म तोकिएका वर्ग भित्रै शिक्षक पनि त पर्छन्' उनले भने 'प्राथमिकताका आाधरमा हामी र्याङ्किङ गरिरहेका छौं, जोखिम वर्गको पहिचान गर्न नाम संकलन गर्ने काम जारी छ ।'

प्रतिक्रिया