Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

शिक्षक हत्याको चौतर्फी विरोध, क्रुर र कायरताको संज्ञा

बुधबार, २४ मंसिर २०७७

काठमाडौं - मोरङ्को मिक्लाजुङ गाउँपालिका १, स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठको हत्याको चौतर्फी विरोध भएको छ । विभिन्न संस्था र व्यक्तिहरुले व्यक्ति हत्याको घोर निन्दा गर्दै आ-आफ्ना वक्तव्य सार्वजनिक गरेका छन् । 

राज्य विरुद्ध विद्रोह गरेको दावी गर्दै आएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मंगलबार श्रेष्ठको घाँटी रेटेर हत्या गरेका थिए । घरबाटै अपहरण गरेर लगिएका श्रेष्ठको शव घरबाट केही सय मिटर पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको थियो । शिक्षक श्रेष्ठलाई जंगलमा लगेपछि हात बाँधेर घाँटी रेटेको पाइएको प्रहरीले जनाएको छ । 

घटना पछि अधिकाँश व्यक्तिले माओवादी शसस्त्र द्वन्द्वका बेला लम्जुङ्का शिक्षक मुक्तिनाथ अधिकारीको हत्याको घटनालाई स्मरण गरेका छन् । अधिकारीलाई तत्कालिन माओवादीले घर नजिकै रुखमा झुण्ड्याएर घाँटि रेटि आततायी तरिकाले हत्या गरेका थिए । त्यही दल अहिले सत्तामा भएका बेला उतिखेर त्यही पार्टिका मुख्य नेता विप्लवले उक्त समूहको नेतृत्व गरिरहेका छन् । 

श्रेष्ठको हत्याको विरोध गर्दै शिक्षकहरुको छाता संस्था नेपाल शिक्षक महासंघले घटनालाई क्रुर र कायरताको संज्ञा दिएको छ । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै घटनाको घोर निन्दा र भत्र्सना सहित हत्याराको पहिचान गरी कारवाहीको माग गरेका छन् । 

शिक्षण जस्तो पवित्र पेशामा निष्ठापूर्वक कार्यरत व्यक्तिको यस प्रकारको क्रुर र कायरतापूर्ण हत्याको नेपा शिक्षक महासँघ राष्ट्रिय समिति घोर निन्दा तथा भत्र्सना गर्दछ, विज्ञप्तिमा भनिएको छ, हामी हत्याराहरुको अविलम्ब पहिचान गरी कानूनको कठघरामा उभ्याएर कडाभन्दा कडा कारवाही गर्न, पीडित परिवारलाई उचित क्षतीपूर्ति प्रदान गर्न तथा देशभरका सबै शिक्षकहरुको सुरक्षााके लागि यथोचित प्रवन्ध गर्न सरकार समक्ष माग गर्दर्छौ ।  

यसैगरी नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङ्ले पनि विज्ञप्ति निकालेर घटनाको भत्र्सना गरेको छ । समितिका अध्यक्ष प्रेमप्रसाद भट्टराई र सचिव महेशकुमार गौतमले विज्ञप्ति निकालेर जघन्य अपराधमा संलग्न हत्यारालाई कारवाही गर्न माग गरेका छन् । 

उक्त हत्याको जिम्मेवारी विप्लव समूहले लिएको छ । मंगलबार साँझ मेची–कोशी ब्युरोका इञ्चार्ज प्रतापको नामबाट जारी विज्ञप्तिमा  समूहविरुद्ध सुराकी गरेकाले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको दावी गरिएको छ । 

पाँचथर, इलाम धनकुटा र मोरङको सीमावर्ती मिक्लाजुङ क्षेत्र विप्लव समूहको सैन्य अभ्यास गर्ने क्षेत्र भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया