Edukhabar
शनिबार, १५ मंसिर २०८१
विचार / विमर्श

एउटा विश्वविद्यालय : तालाबन्दी र अख्तियार देखि अवसरै अवसर सम्म

विहीबार, १० मंसिर २०७२

- विष्णुकुमार खड्का / राज्यले कत्तिको आवश्यक ठानेको थियो भन्ने कुरा समय सँगै पुष्टि होला तर मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको स्थापना संघर्ष र जनदबावबाटै भएको हो । विश्वविद्यालय स्थापनाका बेला यस क्षेत्रका शिक्षा सरोकारवाला मात्रै हैन आम नागरिकमा आशाको सञ्चार भएको थियो । मान्छेले आआफ्ना गच्छे अनुसार सपना र चाहना बुनेका थिए ।

विडम्बना विश्वविद्यालयको पहिलो चार बर्षे नेतृत्व भने हमेसा विवादित र तालाबन्दीको मार खेप्दै विदा भयो । सरोकारवालाहरुसँगको आपसी सहकार्य र समन्वयको अभावमा आन्तरिक र वाह्य रुपमा समस्याग्रस्त बन्दै गयो र अन्ततः स्थापनाकालिन नेतृत्व अख्तियारको आँगनमै पुग्यो । यसले विश्वविद्यालय स्थपनाका लागि गरेको संघर्ष र यस क्षेत्रका सरोकारवालाको सपनामा कुठाराघात भयो ।

त्यसपछि अन्तरिम कालको लागि नियुक्ति भएको स्थानीय नेतृत्वले विश्वविद्यालयको आन्तरिक प्रशासनिक र शैक्षिक प्राज्ञिक क्रियाकलापलाई व्यवस्थापन गर्न मै बेसी समय खर्चिनु पर्यो । उपकुलपति देखि डीन तहको विश्वविद्यालयको मूल नेतृत्व नै  अख्तियारको छानविनमा परेपछि विश्वविद्यालयको आन्तरिक र वाह्य साखमा आएको गिरावटलाई कसरी बचाउने ? यहि ध्यानमा केन्द्रित भयो ।

यो अन्तरिम कालखण्डमा विश्वविद्यालयको आन्तरिक जीवन व्यवस्थापनका अलवा अमेरिका स्थित चार वटा विश्वविद्यालयहरूसँग आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ जसले गर्दा विश्वविद्यालयको राष्ट्रिय अन्तर्र्रािष्ट्रय पहिचान र प्रतिष्ठामा वृद्धि गर्न केही हद सम्म सहयोग पुगेको छ ।

नयाँ नेतृत्व र चुनौती

देशभरका विश्वविद्यालयहरुमा उपकुलपति नियुक्त गर्ने क्रममा सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपतिमा प्रा.डा. उपेन्द्र कुमार कोइरालालाई नियुक्ति गर्यो । गत आश्विन ६ गते नियुक्ति भइ आश्विन १० गते पदभार ग्रहण भइसकेको छ ।

नेतृत्वको पदभार ग्रहण हुनु एउटा औपचारिक प्रकृया हो । मुख्य काम भनेको विश्वविद्यालयको आन्तरिक व्यवस्थापन, प्राज्ञिक स्तर बृद्धि साथै विश्वविद्यालयहरु बिचको प्रतिष्पर्धामा अब्बल बनाउनु नै हो ।
यसका लागि सबै भन्दा पहिला विश्वविद्यालयको अवस्था अध्ययन आवश्यक छ ।

विश्वविद्यालयको मूल नेतृत्व अहिले पनि अख्तियारबाट सफाइको प्रतिक्षामा छ । उपकुलपतिको नियुक्तिसँगै रजिष्ट्रार, डीनहरू र सेवा आयोगको पनि पदावधि सकिदैछ । यो अन्तरिम समयमा आन्तरिक व्यवस्थापनमा निकै चुनौती आउने सम्भावना छ जसको सन्तुलित र उचित व्यस्थापन नै नयाँ नेतृत्वकोलाई चुनौतिपूर्ण छ । योग्यता र दक्षता अनुरुपको जिम्मेवारी र भूमिका निर्वाह गर्न सक्ने योग्य र अनुभवी पदाधिकारीहरू नियुक्त गर्न नसकेमा फेरी अरु चार बर्ष कर्मकाण्डी मै बित्न सक्छ ।

यो संगै अर्को महत्वपूर्ण चुनौति भनेको स्थापनाकालदेखि कार्यरत अस्थायी शिक्षक कर्मचारीहरुको ब्यवस्थापन हो । तत्कालिन वीरेन्द्रनगर वहुमुखी र पव्लिक साइन्स क्याम्पसबाट समायोजन भइ आएका कार्यरत अस्थायी शिक्षक कर्मचारीहरुको पेसागत स्थायित्व, बृत्ति विकस, पदोन्नती लगायतका पक्षमा सेवा आयोग मार्फत व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी पनि छ । विश्वविद्यालयको सार भनेको अध्ययन, अध्यापन र अनुसन्धान नै हो । योग्य, दक्ष र पेसाप्रति वफादार जनशक्तिबिना यो असम्भव छ ।

यो विश्वविद्यालयमा सबैभन्दा जटिल समस्या र सबैको चासोको केन्द्र पनि जनशक्ति व्यवस्थापन नै हो । अघिल्लो कार्यकालमा नियुक्ति गरिएका करार र ज्यालादारी जनशक्तिको उचित व्यवस्थापनका साथै योग्य र दक्ष जनशक्ति विश्वविद्यालयमा भित्र्र्याउने अवसर सिर्जना गर्नु निकै चुनौतीपूर्ण छ । जो काम संगै स्थापना भएका अन्य विश्वविद्यालयहरू सुदुरपश्चिम  र कृषि तथा बन विज्ञानमा सहज रुपमा सम्पन्न भैसकेको छ ।

यसका लागि नयाँ आउने उपकुलपतिले सबैभन्दा पहिला विश्वविद्यालयमा कार्यरत मौजुदा जनशक्ति  र विश्वविद्यालयमा हाल कायम रहेका पदपूर्ति गर्न बाँकी संख्या र सम्बन्धित क्षेत्र र बिषयमा आवश्यक पर्न सक्ने जनशक्तिको इस्टिमेट गर्न कार्ययोजना बनाउनुपर्ने छ । यसका साथै विश्वविद्यालयमा प्राध्यापाक, सह प्राध्यापक, उप प्राध्यापक तहको र कर्मचारी तर्फको तहगत  जनशक्ति आवश्यक संख्यामा व्यवस्थापन गर्नु पर्ने हुन्छ ।

विश्वविद्यालयमा अनुसन्धान केन्द्रहरु स्थापना गरी अनुसन्धानकर्ताहरू समेत व्यवस्थापन गर्न अब ढिलाई गर्न हुदैन । नयाँ नेतृत्वले ऐन र नियमावलीमा व्यवस्था भएको अनुसन्धान केन्द्रको स्थापना गरी त्यसको निर्देशक समेत नियुक्ति गर्नुछ र पूर्ण संरचना निर्माण गरि यस क्षेत्रको मौलिक भाषा, साहित्य संस्कृति, जडिबुटी, जलस्रोत लगायतका बिभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान प्रारम्भ गर्नुछ । यसका साथै विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध विस्तार गर्न र अन्य विश्वविद्यालयहरुसँगको  थप सम्बन्ध विस्तार गर्न अझै बाँकी नै छ ।

शिक्षक, विद्यार्थी, विशेषज्ञहरुको तहमा राष्ट्रिय अन्तरराष्ट्रिय स्तरको एक्सपोजर र अनुभवहरू आदनप्रदानको अवसर सिर्जना गर्नुपर्ने र सुरुवात भएका विश्व विद्यालयहरूसँगको सम्बन्धलाई थप प्रगाढ बनाउनु पर्नेछ । त्यसै गरी विश्वविद्यालयमा लागू भएका पाठ्यक्रमहरुलाई समसामयिक रुपमा विकास गर्न र नयाँ पाठ्यक्रमहरू लागू गर्न नयाँ पाठ्यक्रमहरू निर्माण गर्नुका साथै पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक र पाठ्यसामग्रीहरु विकास गर्न पनि पाठ्यक्रम विकास केन्द्रको स्थापना गरी निर्देशक नियुक्त गर्न र कामकारवाहीहरू अगाडी बढाउनुपर्ने जिम्मेवारी पनि छँदैछ । यसका अलवा आफ्नो कार्यकाल भरी थुप्रै पदीय जिम्मेवारीका साथै आन्तरिक र वाह्य व्यवस्थापन गर्नुपर्ने चुनौती र अवसर नयाँ नेतृत्व सामु छन् जो सबैले अपनत्व र स्वामित्व अनुभूति हुने बैधानिक र सन्तुलित कार्यविधि र कार्ययोजना बिना असम्भव प्रायः नै हुन्छ ।

विश्वविद्यालयको साख र शान भनेको सारमा विद्यार्थी नै हुन् । उनिहरु शैक्षिक प्राज्ञिक रूपमा प्रखर, कुशल अनुसन्धानकर्ता, विज्ञताको बजारमा अब्बल र उपयोगी, उपलब्ध स्रोत साधनलाई प्रयोग र परिचालन गरी विकासको साधक र सहयोगी जनशक्तिको रुपमा  उत्पादन गर्न सक्नु पर्छ । अन्यथा  विश्वविद्यालयको पहिचान भनेको परम्परागत रुपमा खेप्दै आएको शैक्षिक बेरोजगार उत्पादन कारखानाको निरन्तरता मात्रै हुनेछ । त्यसकारण विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सेमेस्टर सिस्टममा अपेक्षा गरिए बमोजिमको उपलब्धि हासिल गर्न सक्ने बनाउन सूचना प्रविधिमैत्री आधुनिक कक्षाकोठाहरू भएको शैक्षणिक भवन निर्माण गर्नु छ ।

अहिलेसम्म विश्वविद्यालयको केन्द्रीय पुस्तकालय भवन बन्न सकेको छैन । आधुनिक सूचना प्रविधिले सम्पन्न ई लाइब्रेरी सहितको प्रयाप्त संख्यामा पठनीय पाठ्य सामग्री भएको सुबिधा सम्पन्न केन्द्रीय पुस्तकालय बनाउन अबिलम्ब कार्य प्रारम्भ गर्नु पर्ने भएको छ । उनिहरुको अध्ययन अनुसन्धानको दायरा फराकिलो बनाउन विद्यार्थीको नियमित रुपमा पठनपाठन र बिभिन्न कार्यशाला गोष्ठीहरू, सेमिनार, परियोजना कार्यहरू  आदिलाई नियमित गर्न मातहतका अख्तियारावालाहरुलाई जिम्मेवार र कामकाजी बनाउनु पर्नेछ । विश्वविद्यालयको परिक्षा प्रणालीलाई व्यवस्थित र विश्वसनीय बनाउन परिक्षा अभिलेख कार्यालय मार्फत ट्रान्सक्रिप्ट लगायतका डकुमेन्टहरू  तयारीको कामको प्रारम्भ भएको भए पनि त्यसको गोपनियता लगायतका कामहरुलाई थप जिम्मेवार र चुस्त दुरुस्त राख्न पूर्ण संरचना निर्माण गर्नु आवश्यक छ ।

अहिलेसम्म विश्वविद्यालयको आफनै केन्द्रीय कार्यालयको भवन निर्माण भइसकेको छैन । अहिले पनि केन्द्रीय कार्यालय, डीन कार्यालय, परिक्षा अभिलेख कार्यालय लगाएतका प्रशासनिक निकायहरू भाडाको भवनबाट संचालित छन् । यो अवस्थाबाट लामो समय विश्वविद्यालयको दैनिकी संचालित हुन सक्दैन र अव नयाँ नेतृत्वले अविलम्ब सँस्थाको स्थायित्व र  सँस्थागत विकासका लागी आफ्नो प्रशासनिक भवन निर्माणको कार्य थालनी गर्नु अनिवार्य छ ।

यसका अलवा इन्जिनियरिङको भवन निर्माणको कोटेशन भइसकेको अवस्थामा उक्त भवन निर्माण प्रक्रियालाई प्रारम्भ गर्ने र निर्माणाधीन विज्ञान तथा प्रविधि संकायको भवन निर्माण प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्न जरुरी  छ । त्यसै गरी विश्वविद्यालयको ऐनमा उल्लेखित त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको सुर्खेत क्याम्पस (शिक्षा) समायोजनको प्रक्रियालाई पनि अबिलम्ब टुङ्गोमा पुरयाउने तर्फ पनि कदम चाल्न जरुरी छ । सुर्खेत क्याम्पस (शिक्षा) समायोजन भएको खण्डमा भौतिक पूर्वाधार र जनशक्तिको समस्या समाधान भएर विश्वविद्यालयको पूर्ण स्वरूप धारण गर्नेछ ।

अवसरै अवसर 

छैटौं प्रदेशमा रहेको एक मात्र उच्च शिक्षाको केन्द्र मध्यपश्चिमाञ्चल विश्वविद्यालय हो । यो प्रदेशको उच्च शिक्षाको योजना मात्रै हैन यस क्षेत्रमा रहेका सम्भावना र आवश्यकताको पहिचान गर्ने मुख्य कडि बन्ने भूमिका निर्वाह गर्ने अवसर छ विश्वविद्यालयलाई । चिकित्सा विज्ञान, कृषि, कानुन, हर्बल तथा हाइड्रो जस्ता संकायहरु थप गरि यस प्रदेशमा आवश्यक जनशक्ति उत्पादन गरी  स्रोत साधनको उचित प्रयोग र परिचालनको नेतृत्व लिने विश्वविद्यालयलाई अबसर छ । 

यो प्रदेशमा कुन क्षेत्रको कति संख्यामा कुन स्तरको जनशक्ति आवश्यक छ सो को बेस लाइन सर्वे गर्दै स्तरीय जनशक्ति उत्पादन गर्ने कारखानाको रुपमा विश्वविद्यालय स्थापित गर्ने अबसर पाउनु चानचुने कुरा हैन । राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यापारी, पेसा व्यवसायी कर्मी , शिक्षक, विद्यार्थी लगायतका क्षेत्र र सरोकारवालाहरूको साथ विश्वविद्यालय स्थापनामा कुन हद सम्मको थियो भन्ने बुझ्न जरुरी छ । विश्वविद्यालय स्थापनाको क्रममा जुटेको संघर्ष र लगानीलाई भावनात्मक रुपमा सम्बोधन गर्ने हो भने स्थानीय स्तरबाट बेजोड समर्थन प्राप्त हुनेमा शंका छैन ।

(लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप प्राध्यापक हुन् )

प्रकाशित मिति २०७२ मंसिर १० गते

प्रतिक्रिया