Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

विश्वका विभिन्न विश्वविद्यालयका एकिकृत सुचना एकै ठाउँमा

विहीबार, २७ कार्तिक २०७७

काठमाडौं - पढ्नका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई लक्षित गर्दै, विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययन हुने विषय, भर्ना प्रकृया, विश्वविद्यालयहरुको तुलनात्मक अध्ययन लगायत अन्य आवश्यक कुरा एकै ठाउँमा राखिएको एकीकृत सुचनामुलक पोर्टल सार्वजनिक गरिएको छ । स्टडी इन्फो सेण्टर डट कमको त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं शिक्षाविद् केदारभक्त माथेमाले बिहीबार भर्चुअल रुपमा उद्घाटन गरे । अष्ट्रेलियामा रहेका नेपाली युवाहरुको एक समूहले निर्माण गरेको उक्त पोर्टलमा विद्यार्थीले उच्च शिक्षा हासिल गर्न चाहेको देशका प्रवेशाज्ञा नीति, उक्त देशमा हुने अध्ययन तथा बसोवास खर्च र विद्यार्थीका लागि रोजगारीका अवसर लगायतका जानकारी समावेश गरिएको छ । 

पोर्टल सार्वजनिक गर्दै माथेमाले एउटै कलेज, विश्वविद्यालय वा एकै स्थानमा भन्दा विभिन्न स्थानमा गरिने अध्ययनले मान्छेलाई थप सक्षम बनाउने बताउँदै यो पोर्टलले विदेशमा जान चाहने विद्यार्थीलाई सजिलो बनाउने अपेक्षा व्यक्त गरे । यसमा नेपालका विषय र विश्वविद्यालयका बारेमा पनि सूचना राख्न उनको सुझाव छ । जसले गर्दा विदेशीहरु पनि नेपालका विश्वविद्यालय वा कलेजमा पढ्न आउन सक्ने उनले बताए । 

पोर्टलमा विश्वका विभिन्न ९ देशका २ सय १२ विश्वविद्यालयमा अध्ययन हुने १६ हजार धेरै विषयका आवश्यक सूचना राखिएको छ । पोर्टलमा नेपालका सबै विश्वविद्यालयका छ सय विषय समेत समावेश गरिएको जनाईएको छ । 

कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. कमलकृष्ण जोशी र तीर्थ खनियाले पनि शुभकामना व्यक्त गरेका थिए । अष्ट्रेलिया र नेपालमा रहेका विभिन्न कलेजका सञ्चालक, सञ्चारकर्मी लगायतले पोर्टलमा राखिने एकिकृत सूचनाले विद्यार्थीलाई उचित सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । 

पोर्टल निर्माण संस्थाका तर्फबाट टीएन अर्यालले एक बर्ष सम्म २० जनाको समूहले गरेको कामको नतिजा सार्वजनिक गरिएको बताए । पोर्टलले विद्यार्थी मात्रै नभएर अभिभावकले पनि आफ्ना सन्तान पढ्न जान चाहेको देश, विश्वविद्यालय र त्यहाँ पढे पछि पाईने अवसरका बारेमा घरै बसेर जानकारी लिन सक्ने दावि गरे । 

 

प्रतिक्रिया