Edukhabar
विहीबार, ०३ असोज २०८१
खबर/फिचर

साक्षरतामा अनियमितता

सोमबार, २५ जेठ २०७२

- मायामितु न्यौपाने / पर्सा २५ जेठ / जिल्लामा सञ्चालित सघन साक्षरता कार्यक्रममा व्यापक अनियमितता फेला परेको छ । कागजमा कक्षा सञ्चालन भईरहेको उल्लेख भए पनि अधिकाँश स्थानमा निरीक्षण गर्न जाँदा कक्षा नै नहुने क्रम  फेला परेको छ । कक्षा सञ्चालन नहुने तथा शैक्षिक सामाग्री खरिद देखिनै अनियमितता फेला परेपछि जिल्ला शिक्षा कार्यालयले कारबाही प्रक्रिया सुरु गरेको छ ।

आइतबार पहिलो दिन ३६ कक्षा बन्द गरिएको छ । वीरगंज उपमहानगरपालिका वडा नम्बर २९ अलौैमा सञ्चालित ३६ वटा कक्षा बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

निरीक्षणको जिम्मा पाएको द्धारदेवी माविको लिखित उजुरीको आधारमा राष्ट्रिय बालबालिका र महिला कल्याण संस्थामाथि कारबाईको लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरी पठाउने निर्णय समेत भएको छ । विभिन्न क्षेत्रमा साक्षरता कक्षा सञ्चालनमा व्यापक अनियमितता भएको गुनासो र उजुरी आउन थालेपछि निरीक्षण र कारवाही प्रक्रिया सुरु गरिएको सहायक जिल्ला शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । 

अनौपचारिक शिक्षा समितिका पदाधिकारी, सदस्य, अनौपचारिक शिक्षा केन्द्रका प्रतिनिधि समेतको टोलीले अनुगमन शुरु गरेको छ ।
कक्षा सञ्चालनको जिम्मा पाएका कतिपय संस्थाले पुस्तक पसलमा ८४ हजारको शैक्षिक सामग्री लिएर डेढ लाख रुपैंया सम्मको बिल बनाउन लगाएको पनि फेला परेको छ । संस्थाले दबाब दिएर बिल बनाउन लगाएको पसल सञ्चालकहरुले बताएका छन् । त्यसरी बढी बिल बनाउने पुस्तक पसललाई बन्द गर्ने सम्मको कारबाही गर्ने चेतावनी दिएको उनले बताए ।

जिल्लामा साक्षरताका लागि ४ करोड बजेट निर्धारण गरिएको छ । शैक्षिक सामाग्री खरीदमा निकासा भएको ९६ लाख रुपैंयामा यस्तै अनियमितता भएको कार्यालयको अनुमान छ ।

जिल्लामा ८० वटा सामाजिक संस्था मार्फत ३ हजार ५ सय २७ स्थानमा सघन साक्षरता कार्यक्रम सञ्चालन भइरहेको बताईए पनि कतिपय संस्थाको उपस्थिती कागजमा मात्रै देखिएको छ । यसले गर्दा जिल्लालाई साक्षर बनाउने योजना असफल हुने पक्का भएको छ ।

वैशाख २ गतेदेखि सञ्चालित सघन साक्षरता कार्यक्रम अन्तर्गत यस बर्ष ७८ हजार निरक्षरलाई साक्षर बनाउने अभियान चले पनि थुप्रै गाविसमा कक्षा सञ्चालन नभएको समेत फेला परेको छ । गाविसबाट यसबारे व्यापक उजुरी आइरहेको कार्यालयले जनाएको छ ।

सबैठवामा राष्ट्रिय बालबालिका र महिला कल्याण संस्थाद्धारा ११ स्थानमा सञ्चालित सघन साक्षरता कार्यक्रम पनि सञ्चालनमा नरहेको, यसैगरी ठोरीमा १६ वटा सघन साक्षरता कार्यक्रम सञ्चालन भएको तथ्याङक रहे पनि त्यहाँ ९ वटा कपषा सञ्चालन नभएको उजुरी परेको छ । यसैगरी गादीमा ११ वटा कक्षा, राष्ट्रिय बाल विकास र महिला कल्याण संस्थाले जिम्मा लिएकोमा सञ्चालन नभएको, सुगौली बिर्तामा मधेसी, अपाङग सङघले ४२ ठाउँमा सघन साक्षरता कार्यक्रम सञ्चालन गर्ने जिम्मा लिएकोमा ३ वटा बाहेक सञ्चालनमा नरहेको उजुरी परेको पोखरेलको भनाइ छ ।

गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष अजय कुशवाहाले कक्षा संञ्चालनका लागि सुरुमै संस्था छनौट गरेर दिएको भए सहज हुने बताए । कक्षा सञ्चालनका लागि निवेदन दिएका सबै संस्थालाई सञ्चालनका लागि स्वीकृति दिएको र कतिपय संस्था झोलामै सिमित भएकोले कक्षा सञ्चालन हुन नसकेको हो । संस्था छनौट गर्नु अघिनै संस्थाका बारेमा बुझ्नु पर्ने र अनुगमनलाई तिब्रता दिनु पर्नेमा त्यसो नहुँदा समस्या भएको उनको भनाई छ ।

प्रतिक्रिया