Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

नाकाबन्दी विरुद्ध २७ किलोमिटर लामो मानव साङ्लोको तयारी

बुधबार, ०९ मंसिर २०७२

काठमाडौं - तराईमा जारी आन्दोलन तथा भारतको अघोषित नाकाबन्दीका कारण बालबालिकाको पढाईमा परेको असरलाई अन्तराष्ट्रियकरण गर्न काठमाण्डुको चक्रपथमा मानव साङ्लो प्रदर्शन गरिने भएको छ । नेपालका एकहत्तर लाख बालबालिकाको पढ्न पाउने अधिकार सुरक्षित एवं सुनिश्चित गर्न कार्यक्रम गर्न लागेको जनाईएको छ ।

कलेज र विद्यालय जानुपर्ने विद्यार्थीहरु सडकमा यत्रतत्र भौंतारिन बाध्य हुँदा उनीहरुको पढ्न पाउने अधिकार हनन भएको ठहर सहित बालबालिकाको हक र अधिकारको सुनिश्चितताका लागि सामूहिक आवाज उठाउन कार्यक्रम गर्न लागिएको हो । शिक्षण संस्थाहरुको छाता संगठन (अपीन) तथा संयुक्त विद्यार्थी संगठनले काठमाडौमा पत्रकार सम्मेलन गरेर कार्यक्रम घोषणा गरेका हुन् ।

बाँच्न र पढ्न पाउने विद्यार्थी एवं बालबालिकाको अधिकारको ग्यारेन्टीका लागि अपिन, संयुक्त विद्यार्थी संगठन, शिक्षक महासंघ एवं अभिभावक संघको अगुवाइ तथा आम नागरिकको समर्थनमा यही मंसिर ११ गते बिहान ११ बजे मानव साङ्लो प्रदर्शन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

कंलकी–सातदोबाटो–कोटेश्वर–चावहिल–महाराजगञ्ज चक्रपथ–बालाजु–स्वयम्भु हुँदै पुनः कलंकीसम्म कुल २७ किलोमिटर लामो मानव साङलोद्वारा चक्रपथ घेराउ गरिने छ । साङ्लो बनाउने कार्यमा नागरिक, पेशागत संघसंगठन लगायतले पायक पर्ने ठाउँमा, विद्यालयहरुले तोकिएको स्थानमा तथा विद्यार्थी संगठनहरुले चक्रपथ वरीपरी विभिन्न १५ बटा आर्कमा विभाजन गरी  कार्यक्रम गर्ने छन् ।

प्रर्दशनमा सहभागि हुँदा नेपालको राष्ट्रिय झण्डा र नाकाबन्दी तथा बालबालिकाहरुको हक अधिकार उल्लेख गरिएका प्ले कार्ड बाहेक अन्य कुनै पहिचान खुलाउने वा अन्य अर्थ लाग्ने सामाग्री प्रयोग नगर्ने जनाईएको छ । कक्षा आठभन्दा माथिका विद्यार्थीहरुलाई वातानुकुलित स्थानमा मात्र सहभागि गराइनेछ भने कार्यक्रममा सहभागि हुन कसैलाई पनि दबाब या करबल नगरिन जनाईएको छ ।

कार्यक्रममा कुनै कोणसभा या नाराबाजी नगर्ने र कुनै राजनीतिक दल बिशेषको बिरोध या समर्थनमा कार्यक्रम नहुने आयोजकले जनाएका छन् ।

राजनीतिक दलहरुले चार बर्षअघि आफैंले गरेको हस्ताक्षर बिर्सदै आन्दोलनका नाममा विद्यालयहरु संचालन हुन नदिँदा यसबाट विद्यालय शान्ति क्षेत्र घोषणामात्र खण्डित भएको मात्र छैन, बालबालिका सम्बन्धि संयुक्त राष्ट्रसंघीय घोषणापत्रले प्रत्याभूत गरेको अधिकार समेत हनन भएको छ, शिक्षण संस्थाहरुको छाता संगठन (अपीन) तथा संयुक्त विद्यार्थी संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, शान्ति, विकास र समृद्धिको संबाहक मानिएका बालबालिकालाई निर्वाध एवं भयरहित स्थितिमा शिक्षा आर्जन गर्न पाउने नैसर्गिक एवं विश्वव्यापी अधिकारबाट वञ्चित गराइ उनीहरुको भविष्य झन झन बढि अनिश्चित र अन्धकारतर्फ धकेलिइदै छ  ।

अझ सबैभन्दा दुःखद कुरा त विद्यालयको नाम सुन्दा सदैव हौसिने र हतारिने विद्यार्थी आजभोलि झर्किने र झन्झट मान्ने जस्तो विक्षिप्त अवस्थाबाट गुज्रिएका छन् । यस किसिमको जर्जर अवस्था र मानसिकताबाट बालबालिकालाई उकास्नका लागि अव राष्ट्रिय एवं अन्तराष्ट्रियरुपमा आवाज उठ्नैपर्छ, उठाउनैपर्छ । त्यसका लागि समस्त बालबालिका, विद्यार्थी, मानव अधिकार संघ संस्था, नागरिक समाज, बुद्धिजीवि लगायतले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नु अपरिहार्य भइसकेको छ, विज्ञप्तिमा भनिएको छ ।

कार्यक्रममा प्याब्सन, एन. प्याब्सा, हिसानलगायत अपिन संबद्ध संस्थाहरु, संयुक्त विद्यार्थी संगठन, शिक्षक महासंघ, अभिभावक संघ नेपाल, राष्ट्रिय अभिभावक संघ, एन.इष्टुको संयोजनमा हुने जनाईएको छ ।

फोटो : नेविसंघका प्रवक्ता यूपी लामिछानेबाट

प्रकाशित मिति २०७२ मंसिर ९ गते

प्रतिक्रिया