Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

राज्य उदासीन भएको प्रति आक्रोश व्यक्त गर्दै सत्याग्रह शुरु

सोमबार, २९ भदौ २०७७

जुम्ला - चिकित्सा शिक्षाका वेथिती विरुद्ध सत्याग्रह गर्दै आएका प्रा. डा. गोविन्द केसीले १९ औं सत्याग्रह शुरु गरेका छन् । यस अघिका सत्याग्रहका बेला आफूसँग भएका सहमती पालना प्रति राज्य उदासीन भएको भन्दै आक्रोशिस केसीले चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा सत्याग्रह शुरु गरेको घोषणा गरेका छन् । 

'निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा नेपालीको पहुँचको सुनिश्चितताका लागि आफूले सत्याग्रह गरेको' उनले बताए । विभिन्न ६ बुँदे माग सहित उनको सत्याग्रहका शुरु भएको हो । 

उनका माग यस प्रकार छन् : 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु सञ्चालन गरियोस् ।  गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पर्याएर पठनपाठन शुरू गरियोस् । प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस् । कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस् ।

हामीसँग  २०७५ साउन  १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस् ।

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरियोस् । विश्वविद्यालय, काउसिल र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस् ।

अछामको वयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिस्चित गरियोस् ।

राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरिद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गरियोस् । बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेता माथि छानविन र कारवाही चलाइयोस् । यी सबै प्रकरणका दोषीहरुलाई कारवाही नगरेर सत्ताको इशारामा उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरु माथि पनि कानुन बमोजिम छानविन र महाभियोग लगायतका कारवाही गरियोस् । अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरु माथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइयोस् ।

यस अघि प्रा.डा. केसी आफ्नै खर्चमा कर्णालकिा विभिन्न गाउँमा पुगेर स्वास्थ्य उपचार गर्दै आएका थिए । उनको स्वयंसेवा प्रति राज्यले प्रहरी प्रशासन प्रयोग गरेर धरपकड गर्दै आएको थियो ।

फाईल फोटो   

प्रतिक्रिया